सिमकोटका सबै विद्यालयमा पठनपाठन सुरु

सिमकोट  । हुम्लाको सदरमुकाम सिमकोट आसपासका सबै विद्यालयमा पठनपाठन सुरु भएको छ । अन्य तीन वटा गाउँपालिकाभन्दा केही ढिलो गरि पठनपाठन सुरु गरे पनि बिहीबार सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाका सबै सरकारी तथा निजी विद्यालयमा पठनपाठन सुचारु भएको हो । 

एकपछि अर्को गर्दै हुम्लाका विद्यालयमा धमाधम पढाइ सुरु हुन थालेका छन् । कोरोना सङ्क्रमणको त्रासका कारण जनस्वास्थ्यको सुरक्षा विधि अपनाउन दुई सिफ्टमा पढाइ सुरु गर्दै पढाइलाई रफ्तार दिएका हुन् । 

चार महिनाभन्दा बढी समय विद्यालय बन्द हुँदा पनि जिल्लामा कोरोना सङ्क्रमण नदेखिदा गाउँपालिकाहरुले पढाइ सुचारु गर्ने निर्णय गरेअनुसार पठनपाठन सुरु भएको हो । सिमकोट गाउँपालिकाको बाल मन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाका अनुसार गाउँपालिकाका २३ वटा सामुदायिक तथा पाँच वटा निजी गरि २८ वटा विद्यालयमा बिहीबारबाट एकसाथ पठनपाठन सुरु भएको छ । 

पठनपाठन सुरु भएका विद्यालयहरुमा जनस्वास्थ्यका सुरक्षा मापदण्ड र अन्य सुरुका विधि अपनाएर पठनपाठन सुरु गरिएको छ । विद्यालयमा पठनपाठन सुरु गर्न गाउँपालिकाले निर्णय गरेको थियो । प्रधानाध्यापक रोकायाले विद्यालयमा बिहान र दिउँसो गरि दुई सिफ्टमा पठनपाठन सुरु भएको बताए । पढाइ सञ्चालन भएको पहिलो दिनमै विद्यार्थीको उपस्थिति उल्लेखनीय रहेको छ । पठनपाठनका बेला विद्यार्थीलाई एउटा बेन्चमा दुई जना बस्ने र शिक्षक तथा विद्यार्थीले अनिवार्य माक्स प्रयोग गर्नेपर्ने गरिएको छ । 

पाँच सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा यसअघि क्वारेन्टिन रहँदै आएका कारण सेनिटाइजिङ् गरिएको थियो । विद्यार्थीको चाप हेरेर विद्यालयहरुले सिफ्टको व्यवस्था गरेका छन् । 

हुम्लामा कुल १४२ सरकारी र निजी विद्यालयहरु रहेका छन् । त्यसमध्ये खार्पुनाथका १७, नाम्खाका १६ र ताँजाकोट गाउँपालिकाका १८ वटा विद्यालयमा यसअघि नै पठनपाठन सुरु भई सकेको छ । अब हुम्लाका चार वटा गाउँपालिकाका ७९ विद्यालयमा पठनपाठन सुरु भएपछि ५५ प्रतिशत विद्यालयमा पठनपाठन सुरु भएको छ । 

ताँजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालका अनुसार पठनपाठन सुरु भएका सबै विद्यालयमा सुरक्षाका विधि र सामाजिक दूरी कायम गरि पठनपाठन गरिएको छ । त्यसै गरि केही विद्यालयले साबुन पानीले हात धुने व्यवस्था पनि गरेका छन् । अब हुम्लाका सर्केगार्ड, चङ्खेली र अदानचुली गाउँपालिकाका गरि ७३ वटा विद्यालयमा पठनपाठन हुन बाँकी रहेको छ । अहिले पठनपाठन भएका विद्यालयबाट आठ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । 

 

Thuprai - Books and E-books