After SEE Portal

लकडाउनको अवधि सदुपयोग गर्दै शिक्षकहरु

Bridge Course

विद्यालयलाई ‘पेपरलेस’ बनाउने अभियानमा लागेका शिक्षकहरु लकडाउनको अवधिमा सूचना प्रविधिसम्बन्धी प्रशिक्षणमा सहभागी बनेका छन् । प्रविधिमैत्री शिक्षक समाजले सञ्चालन गरेको प्रशिक्षणमा देशका प्रायः सबै जसो जिल्लाका सामुदायिक विद्यालयका शिक्षक सहभागी छन् । 

समाजका अध्यक्ष भूपति बस्यालले भने, “लकडाउनमा सामाजिक सञ्जालमा व्यस्त रहेर वा टेलिभिजन हेरेर समय खर्च गर्नुभन्दा सूचना प्रविधिसम्बन्धी नयाँ कुरा सिक्दा समयको सदुपयोग हुन्छ भनेर प्रशिक्षण थालेका हौँ ।”

समाजअन्तर्गतको प्राविधिक समितिले प्रशिक्षणको जिम्मा लिएको छ । इच्छुक शिक्षकहरुलाई आवद्ध गरी ‘भिडियो कन्फ्रेन्स’का माध्यमबाट निःशुल्करुपमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

प्रशिक्षणका लागि १५ दिनको प्याकेज तयार गरिएको छ । समाजका सूचना प्रविधिका विज्ञ शिक्षकहरुले तयार पारेको पाठ्यक्रममा विभिन्न ११ विषयलाई समावेश गरिएको छ । वेवपेज डिजाइन, हार्डवेयर मर्मत, कम्प्युटर नेटवर्किङ, शैक्षिक सफ्टवेयर, शिक्षणका लागि मोबाइल फोन, अडियो भिडियो सम्पादन, डिजिटल सिकाइ, साइबर अपराध लगायतका विषय समावेश छ ।

उनले प्रशिक्षणबाट शिक्षकहरुले निकै लाभ हासिल गरिरहेको उल्लेख गर्दै भने, “अब विद्यालय खुल्दा शिक्षकहरुले आफूले सिकेको सूचना प्रविधिसम्बन्धी ज्ञानलाई कक्षाकोठाभित्र प्रवेश गराउनेछन् । यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा समेत सहयोग मिल्ने अपेक्षा गरेका छौँ ।”

प्राविधिक समितिका संयोजक घनश्याम अधिकारीले हरेक दिन अपरान्ह चार घण्टा प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी दिए । प्रशिक्षणका लागि ‘जुम एप्स’ प्रयोग गरिएको छ । शनिबार प्रशिक्षणको नवौँ  दिन हो र शनिबार पनि प्रशिक्षण सञ्चालन हुनेछ । प्रशिक्षणमा एक जिल्लाबाट कम्तीमा एक जना र बढीमा दुई जना शिक्षक सहभागी छन् ।

समाजका केन्द्रीय सदस्य देव पण्डितले प्रशिक्षणपछि शिक्षकहरुले विद्यार्थीलाई महत्वपूर्ण जानकारी कसरी गुगलबाट सर्च गर्न सकिन्छ भन्ने सिकाउनसक्ने, विद्यालयको ब्लग बनाउने तरिका जान्ने र विद्यालयका बारेमा विभिन्न जानकारीलाई युट्युबमा अपलोड गर्नसक्ने बताए । 

प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयका सूचना प्रविधिविज्ञका रुपमा कार्यरत समाजको प्रदेश नम्बर १ का अध्यक्ष बालकुमार रेग्मीले शिक्षकहरु अझै पनि प्रविधिमा निकै पछाडि रहेको बताउँदै भने, “कक्षाकोठाभित्र विद्यार्थीले सूचना प्रविधिका माध्यमबाट पठनपाठन चाहेका छन् । शिक्षण सिकाइ सुधार हुन सकेन भन्ने आरोप छ । अब कक्षाकोठाभित्रको सिकाइ सुधार गर्न सूचना प्रविधि अनिवार्य भइसकेको छ ।”

 

A Levels MA
Thuprai - Books and E-books