After SEE Portal

अनलाइनबाट शिक्षक तालिम सुरु

Bridge Course

कोभिड–१९ का कारण तालिम केन्द्रसम्म जान नसक्ने भएपछि आजबाट बागमती प्रदेशका शिक्षकहरुलाई अनलाइनका माध्यमबाट तालिम सुरु गरिएको छ । शिक्षकहरुले घरमै बसेर औपचारिक तालिम लिने अवसर पाएका छन् ।

शिक्षक तालिम केन्द्र धुलिखेलले अनलाइनमा आधारित शिक्षक पेशागत तालिम (टिपिडी) सञ्चालन गरेको हो । तालिममा बागमती प्रदेशका १४० शिक्षक सहभागी छन् ।

माध्यमिक तहको अङ्ग्रेजी, गणित र प्रधानाध्यापक तथा कक्षा ६–८ को नेपाली, अङ्ग्रेजी र सामाजिक विषयका शिक्षकहरु तालिममा सहभागी छन् । १० दिनसम्म सञ्चालन हुने तालिममा ११ समूह तय गरिएको छ ।

तालिमको औपचारिक थालनी गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्लेले शिक्षक भनेको सिकाइ हस्तान्तरण गर्ने माध्यम भएकोले पहिले शिक्षकहरु सिकाइमा अब्बल हुनुपर्दछ भने ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले हाल विद्यार्थीका लागि सञ्चालन हुँदै आएको भर्च्युअल तथा अनलाइन शिक्षामा अभिभावकलाई पनि जोड्नुपर्ने बताए । “पूर्वाधारको पहुँच हुन नसक्दा विद्यार्थीको सहभागिता कम हुनसक्दछ” उनले भने, “यसलाई सफल बनाउन शिक्षकको दक्षता महत्वपूर्ण हुन्छ ।” उनले कोरोनाका कारण शिक्षकहरुको तालिम विधि पनि अनलाइन नै हुने अवस्था सिर्जना हुनसक्ने बताए ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशक चन्द्रप्रसाद लुइँटेलले विद्यालयहरुलाई क्वारेन्टिन बनाइएको तर त्यसका लागि शिक्षा निकायसँग नसोधिएकोमा गुनासो गर्दै अब त्यहाँ पुनः पठनपाठनलाई नियमित बनाउन के कस्ता उपाय अवलम्बन गर्नुपर्ने हो भन्ने सोच्नु जरुरी भएको बताए ।

शिक्षक तालिम केन्द्रका प्रमुख डा. तोयनाथ खनालले यसअघि पुनर्ताजगी तालिम प्रदान गरिएको जानकारी दिँदै अनलाइनमा सहभागी हुन नसक्नेलाई ‘फेस टु फेस’ मोडमा तालिम दिने योजना बनाइएको बताए ।

 

 

 

A Levels MA
Thuprai - Books and E-books