A Levels MA

शिक्षक ऋषि सापकोटा नगदसहित सम्मानित

साँखु, (काठमाडौँ), ४ फागुन (रासस) : एपेक्स लाइफ स्कूलका दुई दशकदेखि विद्यार्थीको पठनपाठनमा उत्कृष्ट योगदान गर्नुभएका शिक्षक ऋषि सापकोटालाई रु ५० हजार ५०१ नगदसहित सम्मान गरिएको छ । 

एपेक्स लाइफ स्कूलले आज स्कूल परिसर सरस्वतीनगर चावहिलमा आयोजना गरेको ‘बृहत् सांस्कृतिक अनुभव आदानप्रदान’ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बरालले उहाँलाई सम्मान गर्नुभयो । सचिव बरालले विद्यालयले दिने शिक्षा जीवनपद्धतिसँग मिल्ने उच्च आदर्शयुक्त, व्यावहारिक र नेपाली संस्कारसँग मिल्ने खालको हुनुपर्ने बताउनुभयो । 

अभिभावक सङ्घका अध्यक्ष केशव पुरीले विद्यालयले गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने र यसलाई नाफामुखीभन्दा सेवामूलक बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावक मिलेर नै हाम्रो शिक्षा प्रणालीलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनुभयो । 

विद्यालयका अध्यक्ष टीकाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा एपेक्स लाइफ स्कूलका कार्यकारी निर्देशक सुवास न्यौपानेले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने र विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो । विद्यार्थी सिमरन घिमिरेलाई एकेडेमीक एक्सलेन्स र दिपीका विष्टलाई उत्कृष्ट अतिरिक्त क्रियाकलापअन्तर्गत वर्षको छात्रवृत्ति प्रदान गरिएको थियो । 

विद्यार्थीले सन्देशमूलक गीत र नाटक पनि प्रस्तुत गरेका थिए । विसं २०४० मा स्थापना भएको यस विद्यालय शुरुमा शिशु निकेतन, त्यसपछि सेरेन भ्याली हुँदै एपेक्स लाइफ स्कूल नामकरण भएको विद्यालयमा १ देखि १० कक्षासम्म हाल करीब ४५० विद्यार्थी अध्ययनरत छन् । 

Thuprai - Books and E-books