स्ववियु निर्वाचनः चार क्याम्पसमा विद्युतीय मतदान

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् ।

त्रिवि केन्द्रीय क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिए ।

ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिए । उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२-१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ ।

त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् ।

त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन् ।

स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन् । रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताउ । उनका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन् । बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

विराटनगरका दुई क्याम्पसमा ताला

विराटनगरका दुई क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ भने नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नर्सिङ कलेजमा  विद्यार्थीलाई कलेज प्रशासनले धम्की दिएको भन्दै तालाबन्दी गरेको हो ।

नेविसंघले शुक्रबार बेलुका नर्सिङ कलेजमा र अनेरास्ववियुले शनिबार बिहान महेन्द्र मोरङमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियुले महेन्द्र मोरङमा मतदाता नामावली छानबिन गर्नुपर्ने, क्याम्पस प्रशासनले विद्यार्थीलाई निश्चित उम्मेदवारलाई भोट मागेको विषयमा अनुसन्धान गर्न माग गरेको छ ।

निर्वाचनको सबै तयारी भइसेको अवस्थामा तालाबन्दी भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले बताए । ‘बुथ बनाइसकेका छौं, मतपत्र छापिसकिएको छ, निर्वाचनको सबै तयारी भइसकेको छ’, उनले भने, ‘आज तालाबन्दी भयो, बार्ताबाट सहमति भयो भने चुनाव हुन्छ ।’

महेन्द्र बहुमुखी क्याम्पसको  स्थगित स्ववियु निर्वाचन चैत ८ गते

त्यस्तै, दाङको महेन्द्र बहुमुखी क्याम्पसको  स्थगित स्ववियु निर्वाचन चैत ८ गते हुने भएको छ ।

विप्लवको अखिल क्रान्तिकारी र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार भएको सहमति अनुसार स्यववियु निर्वाचन चैत ८  हुने भएको हो ।

विप्लवको अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनले  अनाधिकृत रुपमा रुपमा परिचयपत्र बनाउँदै गरेको भेटिएको भन्दै मंगलबार क्याम्पसमा ताला लगाएको थियो ।