आगामी चैत ५ गते स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएको छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आज त्रिवि कार्यकारी परिषद्लाई स्ववियु निर्वाचनका लागि मिति सिफारिस गरेको हो ।

परिषद्का सदस्यसचिव पशुपति अधिकारीले सो मिति सिफारिस गरिएको जानकारी दिए ।

यसअघि त्रिविले विद्यार्थी सङ्गठनहरुसँग स्ववियु निर्वाचनका लागि छलफल गरेको थियो । विद्यार्थी नेताहरु निर्वाचनका लागि सहमत छन् । सोही आधारमा निर्वाचन मिति तय गरिएको हो । यसलाई परिषद्ले निर्णय गर्नेछ । निर्वाचनका लागि अनुगमन तथा समन्वय समिति गठन गरिनेछ र त्यसलाई निर्वाचन सम्पन्न गर्न जिम्मा लगाइनेछ ।

त्रिवि स्ववियु निर्वाचन २०६५ सालमा भएको थियो । त्रिवि क्यालेन्डरमा हरेक दुई वर्षमा स्ववियु निर्वाचन गर्ने उल्लेख छ । त्यो बेलादेखि यता उपत्यकाभित्रका १३ र मोफसलका २३ क्याम्पसमा निर्वाचन हुन सकेको छैन । २०७३ सालमा उपत्यकाका नौ र बाहिरका १७ क्याम्पसमा निर्वाचन गरिएको थियो ।

त्रिविले हाल स्ववियु निर्वाचनका लागि २८ वर्षको उमेर हद तोकेको छ । निर्वाचनमा मिश्रित प्रणाली पनि कायम गरिएको छ । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चलन हुने व्यवस्था छ ।

Thuprai - Books and E-books