परिवारा ऽऽ कृतेभिन्नाः, विश्वभाषा द्विधा मतः ।
द्विधा चा ऽऽ कृतिमूलास्ताः,योगऽयोग–प्रभेदतः ।।
अयोग भेद एकस्तु,त्रिधा योगात्मको मतः ।
श्लिष्टाऽश्लिष्ट–प्रश्लिष्टाश्च,प्रकृति–प्रत्ययात्मकाः ।।
त्रिभुवन विश्वविद्यालयको घण्टाघर छेउको खुला चउरमा भेटिएकी एक छात्रा संस्कृत भाषा विज्ञानको ‘भाषाको वर्गीकरण’ का श्लोक उच्चारण गर्न सिक्दै थिइन् । उनी वरिपरिका कोही कसैको प्रवाह नगरी आफ्नै सुरमा भाषाको वर्गीकरण भन्न पाठ पढ्दै छिन् । उनलाई कोरोना संक्रमणका कारण दोस्रो सेमेष्टरको परीक्षा नभएर आफ्नो सही मूल्याङ्कन नहोला कि भन्ने चिन्ता छ तर पनि उनी आफ्नो क्षमता अवृद्धि गर्न भन्दै ससाना बालबालिकाहरूले सस्वर वाचन गरे जस्तै पढिरहेकी छिन् ।
व्यवस्थापनमा स्नातक तह पुरा गरेकी बालाजुकी बनिता पाठक योग दर्शनमा अनुसन्धान गर्नका लागि आफूले विषय परिवर्तन गरेर संस्कृत पढ्न थालेको बताउँछिन् । ‘संस्कृतले मानिसलाई नयाँ पद्धतिमा जीउन सिकाउँछ ।’ उनी भन्छिन्, ‘संस्कृत ज्ञान र अनुशासनको विशाल विज्ञान हो । प्राचीन साहित्य तथा अधिकांश भाषाको जननी संस्कृत हो ।’
संस्कृत, विश्वको सबैभन्दा पुरानो भाषा हो । यसलाई विश्वको प्रथम भाषा मानिन्छ । सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकता, पाश्चात्य तथा पूर्वीय साहित्यमा संस्कृत भाषाको पकड तथा यसका महत्व व्यापक हुँदा हुँदै पनि प्रचारप्रशारको अभावमा यो भाषा ओझेलमा परेको पाठक बताउँछिन् ।
उनी भन्छिन्, ‘संस्कृत केवल स्वविकसित भाषा मात्र हैन आफैमा संस्कारित भाषा पनि हो । त्यसैले योग शास्त्रमा थप अनुसन्धान गरी समय सान्दर्भिक योग र्दशनको खोजका लागि म यो शिक्षा आर्जन गर्दै छु । यो कम्प्युटर र कृत्रिम बुद्धिका लागि सबैभन्दा उपयुक्त भाषा पनि हो ।’
उनी जस्तै रौतहटका राजीब बछार व्यवस्थापनमा स्नातक सकेर संस्कृतमा स्नातकोत्तर गर्दै छन् । सानैमा आफ्नो दाजुबाट संस्कृत शिक्षाको महत्व बुजेका बछार अहिले स्नातकोत्तर तहको दोस्रो सेमेष्टरमा अध्ययन गरिरहेका छन् । संस्कृत पढ्ने इच्छा भएका बछारले परिवारको दवावमा स्नातक तहसम्म व्यवस्थापनमा अध्ययन गरे । व्यवस्थापनमा आफ्नो भविष्य उज्ज्वल हुँदा हुँदै पनि स्नातकोत्तर तहमा भने उनी संस्कृत भाषा अध्ययन गर्न पुगे ।
स्नातक तहको अध्ययन सकेर खाली भएको समयमा उनलाई चाणक्य अर्थशास्त्रको सिद्धान्त पढ्ने अवसर मिल्यो । चाणक्यको अर्थशास्त्रमा उनले समग्र विश्वको अर्थशास्त्रको खाँका देखे । अर्थशास्त्रको सो सिद्धान्तले उनको मन, मस्तिष्कलाई छोयो । यसैलाई बृहत अध्ययन गर्न आफूले संस्कृत पढ्न थालेको उनी बताउँछन् । ‘चाणक्यको अर्थशास्त्रलाई विस्तृतमा अध्ययन गर्न संस्कृत पढेको हुँ ।’ उनी भन्छन्, ‘तल्ला तहमा संस्कृत पढ्न नपाउँदा आफूलाई दुःख लागेको छ ।’
बछार र पाठक जस्तै अहिले त्रिविको दोस्रो सेमेष्टरमा ९ जना विद्यार्थी अध्ययनरत छन् । यी सबै विद्यार्थीको पृष्ठभूमि संस्कृतबाट आएको भने हैन । अधिकांश विद्यार्थीहरू व्यवस्थापनबाट आएका छन् भने केही विद्यार्थी विज्ञान, नेपाली लगायतका विषयबाट विषयान्तर गराएर आएका छन् ।
त्रिविका विभिन्न विभाग विद्यार्थी अभावले छटपटाइ रहेको समयमा संस्कृत विभागमा भने अन्य विषयबाट विषयान्तर भएर आउनु सकारात्मक पक्ष भएको केन्द्रीय संस्कृत विभागका शाखा अधिकृत दुर्गा शर्माले बताइन् । अधिकृत शर्मा भन्छिन्, ‘संस्कृत इतर भाषा पढेका विद्यार्थी अहिले संस्कृतमा भर्ना भएका छन् । व्यवस्थापन, नेपाली, विज्ञान लगायतका अन्य विभागका विद्यार्थीको आर्कषण पनि संस्कृतमा देखिएको छ ।’ उनी थप्छिन्,‘विद्यार्थी अभावले संस्कृत विभाग संकटमा पर्दै गएपछि गत वर्ष केन्द्रीय संस्कृत विभागले ३ सय पूर्णाङ्कको विशेष पाठ्यक्रम तयार गर्यो। सो पाठ्यक्रम अनुरुप विशेष परीक्षा पास गरेपछि अन्य विषयबाट समेत संस्कृत पढ्न पाउने व्यवस्था त्रिविले गर्यो । परिणाम स्वरुप अन्य विभागका ९ जना विद्यार्थी यो विषय पढ्न थाले ।’
तेस्रो र चौथो सेमेष्टरमा ४—४ जना विद्यार्थीले अहिले फाइनल परीक्षा दिइरहेका छन् । उचित प्रचारप्रसारको अभावमा साहित्य, दर्शन,ज्ञान जस्ता विभिन्न क्षेत्रमा राम्रो दख्खल भएको संस्कृत विषय नै ओझेलमा परेको अधिकृत शर्मा बताउँछिन् । उनी भन्छिन्, ‘नैतिक शिक्षाको अभावमा मानवता खस्किरहेको वर्तमान सन्दर्भमा मानिसलाई सामाजिक तथा सांस्कृतिक आचरणमा बाध्नका लागि तल्लो तहबाटै संस्कृत शिक्षाको व्यवस्था गरिनु पर्छ ।’
संस्कृतलाई हेर्ने नजरिया नै संकुचित भएका कारण संस्कृत शिक्षा ओझेलमा परेको विज्ञहरू बताउँछन् । त्रिविका संस्कृत विभागका उपप्रध्यापक डा. सुबोध सुक्ला भन्छन्, ‘संस्कृत पढेर कर्मकाण्ड गर्ने पण्डित मात्र होइन्छ भन्ने आम मानिसको बुझाइका कारण संस्कृत शिक्षा ओझेल परेको हो ।’ उनी थप्छन्, ‘संस्कृत बृहत विज्ञान हो । संस्कृत भारोपेली भाषा परिवारको मुल जरा हो । जराको उत्खनन नगरी बोट र वृक्ष मौलाउँछ भन्नु मुर्खता हो । त्यसैले सम्पूर्ण भाषाको विकासका लागि संस्कृत भाषाको संरक्षण गरिनु पर्छ ।’
यस्तै विश्वभाषा क्याम्पसको विदेश विभागमा भेटिएका दक्षिण कोरियाको सोल घर भएका युन सिङ्चोल नेपाली भाषा तथा संस्कृतिलाई नजिकबाट बुभ्mन आपूmले नेपाली र संस्कृतलाई एकैपटक समय मिलाएर सिक्न लागेको बताउँछन् । उनी भन्छन्, ‘नेपाल धार्मिक तथा सांस्कृतिक विविधतामा सम्पन्न मुलुक हो । यहाँको प्राकृतिक छटा तथा भौगोलिक परिवेशले मनै लोभ्याउँछ । त्यसैले नेपालको सांस्कृतिक तथा धार्मिक विविधाको अध्ययन गरी ज्ञानार्जन गर्न नेपाल आएको हुँ ।’
उनी जस्तै कोरिया, जापान, अष्ट्रलियाबाट विश्वभाषा क्याम्पसमा संस्कृत भाषा पढ्न विद्यार्थीहरु आउने गरेका छन् ।
यस्तै गरी कर्मकाण्ड र पूजापाठको शिक्षा दिने उद्देश्यले राणाकालमा स्थापित तत्कालीन तीनधारा पाठशाला हाल वाल्मीकि क्याम्पसमा पनि संस्कृत विषयको पढाइ हुने गरेको छ ।
संस्कृत भाषाको महत्व लोप हुन लागेको अहिलेको अवस्थामा नेपाल संस्कृत विश्वविद्यालयले नेपालमा संस्कृतको महत्वलाई यथावत् राख्न ठुलो भूमिका खेलेको वाल्मीकि क्याम्पसमा अध्ययनरत आइपी आचार्य बताउँछन् ।
दुइ दशक पुरानै पाठ्यक्रम परिमार्जन तथा परिवर्तन हुन नसक्दा विद्यार्थी आकर्षण बढाउन नसकिएको विज्ञहरुको धारणा छ । समायानुकूल पाठ्यक्रम तयार नहुनु व्यवस्थापनमा सरकारले चासो नदिँदा विद्यार्थी संख्या बढ्न नसकेको हो । संस्कृत छात्रावास लथालिङ्ग रहेको र पहिलेकै संरचना अनुसार कक्षा सञ्चालन भइरहदा विद्यार्थीको आकर्षण नबढेको आचार्य बताउँछन् ।
नेपाल संस्कृत विश्वविद्यालय (महेन्द्र संस्कृत विश्वविद्यालय) नेपालको दोस्रो पुरानो तथा उपत्यका बाहिर खोलिएको पहिलो विश्वविद्यालयले हो । दाङ जिल्लामा विसं. १९८६ मा स्थापना यो विश्वविद्यालय अहिले संस्कृत विश्वविद्यालयका रुपमा परिचित छ । यसको मातहतका क्याम्पसहरुले समेत संस्कृतमा अध्यापन गराउँदै आएका छन् ।
यो विश्वविद्यालयबाट आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा करिब ३ हजार ७ सय विद्यार्थी अध्यनरत छन् ।
संस्कृत विश्वविद्यालयमा संस्कृत शिक्षाको उच्च तह आयुर्र्वेद तथा आधुनिक शिक्षामा समेत पढाइ हुने गरेको छ । हाल यसका आङ्गिक क्याम्पसहरू काठमाण्डौंको वाल्मीकि विद्यापीठ, पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ, रूपन्देहीको मणग्राम स्थित गिर्वाण सरस्वति संस्कृत विद्यापीठ, धरानको विजयपुरस्थित पिण्डेश्वर संस्कृत विद्यापीठलगायतका १४ वटा क्याम्पस रहेका छन् ।
आङ्गिक विद्यापीठ मध्ये ११ वटा विद्यापीठमा उत्तरमध्यमा, आठवटा विद्यापीठमा शास्त्री, तीनवटा विद्यापीठमा आचार्यसम्मको पढाइ हुन्छ भने सम्बन्धन प्राप्त विद्यापीठमध्ये एउटा विद्यापीठमा उत्तरमध्यमा, छ वटा विद्यापीठमा शास्त्री र एउटा विद्यापीठमा आचार्य तहसम्मको पठनपाठन हुँदै आएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत संस्कृत अध्ययन संस्थानको पाठ्यक्रम, विद्यार्थी, शिक्षक तथा कर्मचारी रहने गरी महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापनाका लागि महेन्द्र संस्कृत विश्वविद्यालय ऐन, २०४३ जारी भई सो विश्वविद्यालय स्थापना भएको हो । यसका १४ वटा आङ्गिक र ११ वटा सम्बन्धनप्राप्त गरी २५ वटा विद्यापीठ छन् ।
देशभरिमा संस्कृत तर्फ १ हजार २ सय शिक्षक रहेको संस्कृत विश्व विद्यालयले जानकारी दियो । यो विश्वविद्यालयले आफ्नो आङ्गिक क्याम्पस अर्थात् विश्वविद्यालय अन्तर्गत अध्ययन गर्ने छात्र तथा छात्राहरुको लागि छात्रावृत्तिको पनि व्यवस्था गरेको छ ।
विश्वविद्यालयले गुरुकुल पद्धतिमा शिक्षण सिकाइ सञ्चालन गर्न, छरछिमेकका शिक्षालयमा संस्कृत शिक्षाको महत्व र स्वाद जगाउन, जीवनोपयोगी विषयको विस्तार गर्न, शिक्षक एवम् विद्यार्थीलाई अनिवार्य रुपले अनुसन्धानमा लगाउन, मानवीय स्रोतको पुनः व्यवस्थापन गर्न र पाठ्यक्रम तथा पाठ्यपुस्तक अद्यावधिक गर्नुपर्ने प्राध्यापक जगतप्रसाद उपाध्याय बताउँछन् । पूर्वीय दर्शन र संस्कृतको पठनपाठन हुने अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बन्ध विस्तार गरेर संस्कृत शिक्षा सुधारका प्रयास गरिएको उपाध्यायले जानकारी दिए ।
संस्कृतलाई कर्मकाण्डी भाषाका रुपमा एकांगी परिभाषित गर्नुभन्दा यसको महत्व र क्षेत्रका बारेमा व्यापक प्रचारप्रसार गर्नु पर्ने प्राडा. सुक्ला बताउँछन् । उनी भन्छन्, ‘कुनै पनि विषय आफैमा राम्रो र नराम्रो हुँदैन । दक्ष जनशक्ति उत्पादन भयो भने सबै विषयले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।’ उनी थप्छन्,‘संस्कृतको क्षेत्र व्यापक छ अहिले जर्मन,चीन जस्ता विकसित देशका विश्वविद्यालयले संस्कृतमा दक्षता हासिल गरेका विज्ञ खोजी रहेका छन् त्यसैले यसको व्यापक प्राचारप्रसार गरी संरक्षणमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनुपर्छ ।’