राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयन भएका जिल्लामा एक शब्द पनि पढ्न नसक्ने विद्यार्थीमा १६ प्रतिशतले कमी आएको छ । यो कार्यक्रमबाट नेपाली पहिलो भाषी विद्यार्थीको क्षमतामा उल्लेख्य सुधार आएको देखिएको छ।
कार्यक्रमको मध्यवधि मूल्याङ्कनमा सो तथ्य फेला परेको हो । मूल्याङ्कनका आधारमा एक शब्द मात्र शुद्ध पढ्न सक्ने विद्यार्थीको संख्या ५२ प्रतिशतबाट ६६ प्रतिशत पुगेको छ भने, सोही तहका नेपाली इतरभाषी विद्यार्थीमा ३० प्रतिशत देखि बढेर ४३ प्रतिशत पुगेका छन् ।
तोकिएका शब्द शुद्धसंग पढी अर्थ बोध गर्ने नेपाली पहिलो भाषीमा११ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको मध्यावधि मूल्याङ्कनले देखाएको छ । भने सोही तहका इतरभाषीको बोध क्षमता १ प्रतिशतले मात्र बढेको देखाएको छ ।
आधार रेखा सर्वेक्षण अनुसार ४५ शब्द प्रति मिनेट पढ्ने र ८० प्रतिशत पठनबोध गर्ने विद्यार्थीको प्रतिशत ०.९ पुगेको देखाएको छ । भने मध्यावधि सर्वेक्षणका अनुसार ३.१४ प्रतिशत पुगेको छ देखाएको छ ।
कार्यक्रम लागु भएका र लागु नभएका ६ जिल्लाका क्रमशः ८६, ८६ र १२० विद्यालयका २ हजार ८३१, २ हजार ५६१ र २ हजार ९९१ विद्यार्थीमा गरिएको मूल्याङ्कनको नतिजाले विद्यार्थीको पढाइ सिप र बोध क्षमतामा सुधार आएको तथ्य औंल्याए पछि सो कार्यक्रम विस्तार गर्न लागिएको हो ।
थप १० जिल्लामा विस्तार गरिने
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम आगामी शैक्षिक सत्रमा थप १० जिल्लामा लागु गरिने भएको छ । नेपाल सरकारले सो कार्यक्रम आउँदो शैक्षिक सत्रदेखि ३० जिल्लामा विस्तार गर्ने भएको छ। मन्त्रालयका अनुसार सन् २०१६ मा गरिएको रेखा सर्वेक्षण र सन् २०१८ मा गरिएको मध्यावधि मूल्याङ्कनले यसको प्रभावकारिता प्रष्ट्याएको हुनाले थप १० जिल्लामा सो कार्यक्रम लागु गरिने भएको हो ।
यो कार्यक्रम पहिलो चरणमा ६ जिल्लामा, दोश्रो चरणमा थप १० जिल्लामा, तेश्रो चरणमा ४ जिल्लामा लागु गरी हाल २० जिल्लामा कार्यान्वयन भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दियो । कार्यक्रम लागू भएका जिल्लामा छात्र र छात्राको उपलब्धि सुधारको दरमा समानता देखिएको छ ।
मिति लागु |
चरण |
लागु भएका जिल्ला |
२०१५ देखि २०१६ |
पहिलो |
सप्तरी, भक्तपुर, मनाङ, कास्की, बाँके र कञ्चनपुर |
२०१७ देखि २०१८ |
दोस्रो |
धनकुटा, पर्सा, रुपन्देही, मुस्ताङ, सुर्खेत, दाङ, बर्दिया, डोल्पा, कैलाली र डडेल्धुरा |
२०७६ बैशाखदेखि |
तेश्रो |
ताप्लेजुङ, धनुषा, रसुवा र तनहुँ |
२०७७ देखिलागु हुने |
चौथों |
खोटाङ, सर्लाही, महोत्तरी, रौतहट, सिन्धपाल्चोक, म्याग्दी, नवलपरासी पश्चिम, कपिलवस्तु, दैलेख र अछाम |
सर्वेक्षणका अनुसार नेपाली प्रथम भाषी बालबालिकाको तुलनामा नेपाली द्वितीय भाषी बालबालिकाको पठन प्रवाह र बोध क्षमताको सुधारको गति केही कम देखिएको छ । यसबाट नेपाली बाहेकको अन्य मातृभाषा हुने विद्यार्थीको अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायहरूले थप प्रयास गर्नुपर्ने अवस्था अध्ययनले औंल्याएको छ ।
पठन सिपमा सामुदायिक विद्यालयका विद्यार्थी कमजोर देखिएको हुँदा पठन सिप सुधारका लागि सञ्चालन गरिएका सबै परियोजनाले यसको सुधार गर्न नसके पछि यो कार्यक्रम लागु गरिएको हो ।
कार्यक्रम सन् २०१४ देखि २०१५ देखि कार्यान्वयनमा ल्याएको हो । पहिलो र दोश्रो चरणमा कार्यक्रम लागू गरिएका १६ जिल्लाहरूमा कार्यक्रम कार्यान्वयनका लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक तथा प्राविधिक सहायोगमा सञ्चालन गरिएको हो ।
युएसएआइडीको प्रविधिक सहायता वापत ५३.८ मिलियन र रातो किताब मार्फत ८ मिलियन गरी कूल ६१.८ मिलियन डलर यो कार्यक्रमका लागि खर्च गर्ने भएका छन् ।