After SEE Portal

रेडियो सुनेर पढ्न थाले विद्यार्थी

Bridge Course

कपिलवस्तुको श्री आधारभूत विद्यालय मदवास्थित कक्षा सातमा अध्ययनरत सुस्मिता पाण्डेलाई आजभोलि रेडियो नै विद्यालयको कक्षा जस्तै  लाग्न थालेको  छ । उनलाई रेडियोबाट दिनदिनै  प्रशारण हुने कार्यक्रम नै शिक्षक आवाज जस्तै लाग्न थालेको छ ।

आजभोलि हरेक दिन दिउँसो रेडियो सुन्ने । आफ्नो पाठ र रेडियोको पाठ मिलाएर पढ्ने । रेडियोमा  दिएको गृहकार्य गर्ने नै उनको दैनिकी बनेको छ ।  स्थानीय सामुदायिक रेडियोबाट पढाइ हुन थालेपछि उनले बिहान घरको काममा आमालाई सहयोग गर्ने र दिउँसो रेडियो सुनेर  पढ्ने गरेकी छिन् ।

शिक्षकहरुले पाठ्यक्रममा आधारित भएर पढाउने भएकाले बुझ्न त्यति अफ्ठ्यारो नहुने सुस्मिताले बताइन् । विद्यालयमा जस्तो बुझ्न सजिलो नभएपनि रेडियो सुनेर धेरै कुरा सिक्न सकिने उनको भनाइ छ ।

उनीसंगै बसेर कक्षा ५ मा पढ्ने सुमन, कक्षा ६ मा पढ्ने रिता, कक्षा ७ मा पढ्ने उनका अन्य ३ जना साथीले पनि संगै रेडियो सुन्दै पढ्दै गर्छन्  । रेडियोबाट सुन्दा अन्य विषय भन्दा अङ्ग्रेजी विषय बुझ्न अल्लि कठिन भएको कक्षा ५ मा पढ्ने सुमन पाण्डे बताए ।

शिक्षकहरुले पढाउँदा अलि विस्तारै पढाई दिए अझ राम्ररी बुझन सकिने उनको भनाइ छ । विद्यार्थीलाई दैनिक रुपमा रेडियोबाट गृहकार्य समेत दिने गरिएकाले पढाइपछि विद्यार्थीले नियमित गृहकार्य समेत गर्ने गरेका छन् । कपिलवस्तुमा एक महिना अघिवाट शुरु भएको रेडियो शिक्षाप्रति विद्यार्थीको आर्कषण बढ्न थालेको हो ।

कोभिड— १९ (कोरोना) महामारीका कारण सम्पूर्ण शैक्षिक गतिविधिहरु अहिले बन्द रहेका छन् । विद्यालयहरु बन्द हुँदा विद्यार्थी विगत चार महिनादेखि विद्यालय जान पाएका छैनन् । विद्यालय बन्द र कोरोनाको महामारी अझै कहिले सम्म रहन्छ भन्ने अन्यौलता नै रहेको अवस्थामा विद्यार्थीको पठनपाठन जिल्लाका रेडियोबाट सञ्चालन हुँदा विद्यार्थीलाई पठनपाठनमा सहज भएको छ ।

कक्षा ४, ५, ६, ७ र ८ को नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको पढाई रेडियोहरुबाट प्रसारण भएपछि विद्यार्थीले आफ्नो कक्षाको पढाई रेडियो सुनेर नै गर्दै आएका छन् ।

विद्यालय बन्द हुँदा दिनभरी मोबाइल र टिभीमा भुल्ने छोरा छोरी अहिले भने रेडियो सुन्दै पढ्दै गरेको देख्दा खुसी लागेको विजयनगर गाउँपालिका—५ का रामदयाल कुर्मीले बता उनुभयो । रेडियो कक्षा शुरु भएपछि आफ्ना छोराछोरीले नियमित रेडियो सुन्दै पढ्दै गरेको शिवराज नगरपालिका—३ का अभिभावक सुमकला पाण्डेले बताए ।

कोरोनाका कारण विद्यालय सञ्चालन नभएको अवस्थामा स्थानीय रेडियोहरुबाट शिक्षकहरुले पढाउँदा छोराछोरीले रेडियोबाटै सिक्दै गरेको पाण्डेले बताए । रेडियो कक्षा सुनेर अधिकांश विद्यार्थीले सकारात्मक प्रतिक्रिया दिने गरेको राष्ट्रिय मावि चन्द्रौटाका शिक्षक विष्णु भण्डारीले बताए । विद्यालयका शिक्षकहरुले आफ्नो क्षेत्रका विद्यार्थीलाई रेडियो सुन्न भनिएकाले धेरै विद्यार्थीले रेडियो सुन्ने गरेको उनले बताए ।

रेडियो शिवराजबाट उत्पादन हुने रेडियो कक्षा शिक्षामा २५ जना शिक्षकले पढाउँदै आएका छन् । जिल्लाका तीन वटा सामुदायिक रेडियो विजयनगर, कपिलवस्तु र शिवराजबाट यस खालको रेडियो शिक्षा कार्यक्रम प्रसारण हुदै आएको शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुले जानकारी दियो ।

पत्रकार महासङ्घ कपिलवस्तुको संयोजन, जिल्लाका १० वटै स्थानीय तह, नेपाल शिक्षक महासङ्घ कपिलवस्तुको सहकार्य, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुको समन्वय र युनिसेफ, कालिका स्वाबलम्बन विकास केन्द्रको सहयोगमा जिल्लाका सामुदायिक रेडियोबाट दैनिक ५ वटा विषयका कक्षा सञ्चालन भइरहेका छन् ।

A Levels MA