After SEE Portal

अनुमतिबेगर विदेश लैजान विद्यार्थी भेला

Bridge Course

होसियार ! स्वीट्जरल्याण्ड पढ्न पाउने आकर्षणमा नेपाली विद्यार्थीहरु नफस्नु होला । सरकारी अनुमति बेगर एउटा संस्थाले आज काठमाडौँमा नेपाली विद्यार्थीलाई जम्मा गरेर स्वीट्जरल्याण्ड पढ्न पाउने प्रलोभन देखाउँदै कार्यक्रम आयोजना गरेको छ ।

शैक्षिक परामर्शदाता (एजुकेसनल कन्सल्टेन्सी)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति लिएरमात्र कार्यक्रम आयोजना गर्न पाउने व्यवस्था छ । अनुमति लिँदा मन्त्रालयले संस्थाका बारेमा सबै कुरा बुझेरमात्र कार्यक्रम सञ्चालन गर्न दिने गरेको छ । त्यसका लागि राजस्वसमेत तिर्नुपर्ने हुन्छ । तर आरएलटी नामक संस्थाले त्यसको सिधै अवज्ञा गरेर कार्यक्रम सञ्चालन गरेको पाइएको छ ।

कार्यक्रम अपरान्ह १२ बजेबाट सुरु गरिएकोमा शिक्षा मन्त्रालयका पदाधिकारीले ढिला गरी पत्ता पाए । करिब साढे २ बजे मन्त्रालयका पदाधिकारीले सो संस्थाका सञ्चालकलाई फोन गरेर कार्यक्रम तत्काल रोकेर अनुमति प्रक्रियामा आई अनुमति लिएपछिमात्र कार्यक्रम सञ्चालन गर्नू अन्यथा आफूहरुले प्रहरीको सहायता लिने भनेपछि सञ्चालकले कार्यक्रम रोकेर अनुमति प्रक्रियामा जाने जानकारी दिए । तर उनी अनुमति प्रक्रियामा गए पनि कार्यक्रम रोकिएन ।

शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले जथाभावी विद्यार्थी भेला गराएर आयोजना गरिने यस्ता कार्यक्रमबाट विद्यार्थीहरु ठगिनसक्ने बताउँदै भने, “हामीले त्यहाँ कार्यक्रम सञ्चालन भइरहेको छ भन्ने थाहा पाएपछि अनुमति प्रक्रियामा जान भन्यौँ ।”

विशेषगरी भारतबाट शैक्षिक परामर्शका नाममा नेपाल आउने र नेपालमा रहेका बिचौलिया परामर्शदातामार्फत विद्यार्थी जम्मा गरेर विदेश लैजाने प्रवृत्ति कोभिड–१९ का बेलामा पनि रोकिएको छैन । यसरी विद्यार्थी जुटाइदिए वापत नेपाली बिचौलिया परामर्शदाताहरुले प्रतिविद्यार्थीका दरले कमिसन पाउने गरेका छन् ।

आज आयोजना गरेको आरएलटी नामक संस्था कुमारीपाटीस्थित सुराआचार्य एकेडेमीअन्तर्गत रहेको बताइएको छ । त्यहाँ सम्पर्क गर्दा कृष्ण सुनुवारले आफूहरुलाई अनुमति लिनुपर्दछ भन्ने थाहा नभएको बताउँदै अब अनुमति लिने बताए । सो संस्थाले बीबीएको पहिलो वर्ष नेपालमा, दोस्रो वर्ष भारतमा र तेस्रो वर्ष जुरिचमा अध्ययनको अवसर दिने भन्दै नेपाली विद्यार्थीलाई प्रलोभनमा पार्ने गरेको छ । 

A Levels MA