After SEE Portal

विद्यार्थीलाई अष्ट्रेलिया र जापान जान रोक

Bridge Course

उच्च शिक्षाका लागि अष्ट्रेलिया र जापान जान चाहने विद्यार्थीका लागि सुखद खबर छैन । ती दुवै मुलुकले विद्यार्थीका लागि प्रवेश खुला गरेपछि नेपाली विद्यार्थी उत्साहित भएका थिए । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण पुनः ती मुलुकको प्रवेशमा रोक लगाइएपछि विद्यार्थी निरास बनेका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले भने, “प्रवेश खुला गरिदिएकाले विद्यार्थी ती देशमा जान तयारी सुरु गरेका थिए तर नयाँ निर्णयले त्यहाँ जाने कार्य रोकिएको छ ।”

कोभिड–१९ को सङ्क्रमणपछि जापानले केही समयअघि विद्यार्थीका लागि प्रवेश खुला गरिदिएको थियो । जापानले नोभेम्बर ८ मा विद्यार्थी जानसक्ने तर स्क्रिनिङ सर्टिफिकेट लिनुपर्ने भनेको थियो । सोका लागि नेपाली विद्यार्थीले आवेदन दिएका थिए । “स्क्रिनिङ सर्टिफिकेट आउने क्रम थियो” उनले भने, “हिजो रातीबाट रोकियो ।” जापान जानका लागि करिब नौ हजार विद्यार्थी पर्खाइमा थिए ।

त्यस्तै अष्ट्रेलियाले पनि विद्यार्थी प्रवेशका लागि डिसेम्बर १४ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । अष्ट्रेलियाले कोभिडपछि पहिलो पटक विद्यार्थी प्रवेश खुला गरेको थियो । त्यहाँ अध्ययनका लागि करिब तीन हजार आठ सय विद्यार्थीले शुल्क बुझाएर प्रवेशाज्ञा प्राप्त गरिसकेका छन् र तीमध्ये केही विद्यार्थी अनलाइनमार्फत अध्ययन गर्दै आएका छन् । “दुई वर्षदेखि रोकिएका विद्यार्थी अब उड्न पाइने भयो भनेर खुशी भएका थिए । कतिपयले टिकट पनि काटिसकेका थिए तर अब यात्रा अनिश्चित बनेको छ” इक्यानका अध्यक्ष पाण्डेले भने ।

अष्ट्रेलियाले डिसेम्बर १ (आज)बाट विद्यार्थीलाई प्रवेश दिने निर्णय गरेको थियो । अष्ट्रेलियाले डिसेम्बर १४ पछि अवस्था हेरेर नयाँ निर्णय गर्नेछ । ओमिक्रोनको अवस्थाले मात्र त्यसबेलाको स्थिति निर्धारण गर्नेछ ।

अष्ट्रेलियामा नर्सिङ, इन्जिनियरिङ, व्यवस्थापन, व्यावसायिक शिक्षा लगायतका विषय अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेका छन् भने जापानमा सुरुमा भाषा प्रशिक्षणका लागि भनेरै विद्यार्थी जाने गर्छन् । पछिल्लो समय नेपाली विद्यार्थीको सबैभन्दा आकर्षण गन्तव्यका रुपमा अष्ट्रेलिया र जापान रहँदै आएको छ । त्यसपछि अमेरिका र बेलायत पर्छन् । अमेरिका र बेलायतमा खासै समस्या नभएकाले ती मुलुकमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरु त्यसतर्फ गइरहेका छन् । 

 

 

 

A Levels MA
Thuprai - Books and E-books