केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ

काठमाडौँ, २१ वैशाखः राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’  दिन नहुनेमा जोड दिनुभएको छ । 

    राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताउनुभयो । 

    नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले  केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै  अभिभावकलाई पनि सचेत हुन आग्रह गर्नुभयो ।        आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले  निरन्तर पहल गर्नुपर्ने माग गर्नुभयो ।         घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुमित्रा विसी हुनुहुन्थ्यो ।

केआइआइटीमा दोहोरिएको घटनाको छानबिन हुनुपर्ने

काठमाडौँ, २१ वैशाखः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्यस्थित भुवनेश्वरको केआइआइटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले केआइआइटी कलेजमा अध्ययानरत छात्रा प्रिन्सा साहको रहस्यमय निधन भएको उल्लेख गर्दै छानबिन गर्न माग गर्नुभएको थियो । त्यसपछि सभाअध्यक्ष दाहालले सत्य, तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले उठाएका अन्य विषयको जवाफ संसद् नियमावलीले तोकेको समयभित्रै दिन पनि उहाँले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।