सामाजिक अध्ययनः पाठनपाठन ढाँचा र माध्यम भाषा

(यो लेखको पृष्ठभूमिः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सामाजिक शिक्षाको अंग्रेजी भाषामा पनि नमुना प्रश्नपत्र राख्यो । अंग्रेजी वा नेपाली माध्यममा परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिएको कुरा सञ्चारमाध्यममा समाचार प्रकाशित भयो । राष्ट्रिय पाठ्यक्रम प्रारुपमा भएको व्यवस्थालाई बोर्डले परिवर्तन गर्न नसक्ने भन्दै विरोध भए । यसको छिनोफानो राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले गर्ने भनियो । परिषद्को बैठक भोलि बुधबार बस्दैछ । नमुना प्रश्नपत्रमा परिषद्ले निर्णय गरेपछि लागू हुने भनी बोर्डले वेबसाइटमा सच्याएको छ । राज्यको उद्देश्य विद्यार्थीलाई अनुत्तीर्ण गराउने हुनुहुँदैन । यस विषयलाई विद्यार्थीको छनोटमा छाडिदिनुपर्छ ।- सम्पादक)

सामाजिक अध्ययन कस्तो विषय हो ?

विद्यालयमा पठनपाठन गराइने सामाजिक अध्ययन भनेको सामाजिक र वातावरण बीचको सम्बन्धको अध्ययन हो । अर्थात् एउटा मानिसको अरु कुन मानिस र र कुन कुन प्रकारका वातावरणसँग कस्तो कस्तो सम्बन्ध रहेको हुन्छ भन्ने अध्ययन गर्दछ । वातावरणका प्रकार भन्नाले प्राकृतिक र साँस्कृतिक वातावरणलाई जनाउँछ । त्यसैले सामाजिक अध्ययनलाई विषयवस्तुको सूची घोक्ने विषयभन्दा पनि मानिस र वातावरणबीच हुने सम्बन्धको खोजी गर्ने विषयका रुपमा लिइन्छ । सेवा आयोगबाट लिइने कर्मचारी छनौट प्रतियोगिताको लिखित परीक्षाको पाठ्यक्रममा पनि सामाजिक अध्ययन विषयलाई समावेश गरिएको पाइन्छ ।

सामाजिक विज्ञानबाट आवश्यकता अनुसार विषयवस्तुहरु छनौट गरी सामाजिक अध्ययनको निर्माण गरिन्छ । तर अहिले विश्वमा बढ्दो विज्ञान र प्रविधिले प्राकृतिक विज्ञानलाई समेत सामाजिक अध्ययनमा समावेश गरिएको पाइन्छ । त्यसैले सामाजिक अध्ययन प्राकृतिक र सामाजिक दुवै प्रकारका विज्ञानहरुबाट निर्मित विषय बन्न पुगेको छ । त्यसैले सामाजिक अध्ययन स्वतन्त्र विधा होइन ।

सामाजिक अध्ययन विषयको सम्बन्ध भाषा, कला र गणित विषयसँग छ । भाषा, कला र गणितले सामाजिक अध्ययन विषयलाई सार्थकता प्रदान गर्दछ । सामाजिक अध्ययन गर्नका लागि चाहिने सञ्चार सम्पर्कको काम भाषाले गर्दछ, कलाले अध्ययनका लागि आवश्यक पर्ने सिर्जनशीलता र मानव समाज र संस्कृतिका पक्षहरु प्रदान गर्दछ र गणितले अध्ययनका लागि चाहिने गुणात्मक र सङ्ख्यात्मक तथ्याङ्क विवरणहरुको सङ्कलन, विश्लेषण र व्याख्या गर्न तथा निष्कर्षमा पुग्न सहयोग गर्दछ । त्यसैले भाषा बिना सामाजिक अध्ययनले जीवन पाउँदैन । सामाजिक अध्ययनको सही कार्यान्वयनले व्यक्तिमा सामाजिक सीपको विकास गर्दछ । जीवन सीप (लाइफ स्किल) को स्वत: विकास हुन्छ । सामाजिक अध्ययन विषयको नाम पछाडि जीवनोपयोगी सीप, मानवमूल्य शिक्षा र व्यवहार कुशल सीप आदिजस्ता अनेक नाम र पुच्छर थपेर विषयको नाम र विद्यालयको दैनिक कार्यतालिकालाई  बोझिलो बनाउन जरुरी देखिँदैन । विषयवस्तुको प्रकृतिअनुसार राम्रोसित निर्माण गरिएको सामाजिक अध्ययनले सामाजिक शिक्षा दिन्छ, जीवन सीप, मानवमूल्य शिक्षा र व्यवहार कुशल सीप आदि सबै दिन सक्छ र सक्नुपर्दछ । किनभने सामाजिक अध्ययनको प्रकृति नै एकीकृत, अन्तरविषयक, बहुविषयक र विषयगत सबै हुनसक्दछ ।

सामाजिक विज्ञान र प्राकृतिक विज्ञान

सामाजिक अध्ययन भूगोल, अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्र, मानवशास्त्र, जनसङ्ख्या शिक्षा, मनोविज्ञान आदिजस्ता विषयलाई सामाजिक विज्ञान भन्ने गरिन्छ । भौतिकशास्त्र, जीव विज्ञान, वनस्पति विज्ञान, खगोलशास्त्र आदिलाई प्राकृतिक विज्ञानका विषयहरु भन्ने गरिन्छ । सामाजिक अध्ययनमा यी दुवै प्रकारका विज्ञानका आधारभूत विषयवस्तुको अध्ययन गरिन्छ, सामाजिक अध्ययनमा सामाजिक विज्ञानका विषयवस्तुमात्र समावेश गरिन्छ भन्ने कुरा पुरानो भयो ।

सामाजिक अध्ययनको बनोट

सामाजिक अध्ययन विषय एकीकृत र विषयगत गरी दुई प्रकारले प्रदान गरिने विषय हो । पठनपाठन गरिने विषयवस्तुलाई मिलित, अन्तरविषयक र बहुविषयक गरी तीन प्रकारले एकीकरण गरिन्छ । यसरी विषयवस्तुहरुलाई एकीकरण गरी बनाइएको पाठ्यपुस्तकलाई एकीकृत पाठ्यपुस्तक भनिन्छ । एकीकृत पाठ्यक्रम भनेको चाहिँ विषयगत विषयवस्तुका उद्देश्य, सिकाइ विधि र मूल्याङ्कन विधिलाई एकीकरण गरी बनाइएको छरितो पाठ्यक्रम हो । एकीकृत पाठ्यक्रमको प्रयोगले पठनपाठन कार्यलाई छरितो र मितव्ययी बनाउन सक्नुपर्दछ, विषय र पाठ्यपुस्तक सङ्ख्या थपिनुहुँदैन र भद्दा बनाउनुहुँदैन । विषयगत पाठ्यक्रम ढाँचाले तल्लो कक्षाको पठनपाठन बोझिलो बन्छ र विद्यार्थीले पढाइ छाडने सम्भावना बढी हुन्छ ।

पाठ्यक्रम कि पाठ्यपुस्तक

पाठ्यपुस्तकलाई पाठ्यक्रमका रुपमा उपयोग गर्न सकिन्छ तर पाठ्यक्रमलाई पाठ्यपुस्तकका रुपमा प्रयोग गर्न सकिन्न । पाठ्यक्रमका आधारमा शिक्षण गर्नुपर्छ र गर्न सकिन्छ भन्ने कुरा कोरा आदर्श मात्र हो, व्यावहारिक रुपमा यो सम्भव छैन । किनभने पाठ्यक्रम भनेको शिक्षाको नीति हो । नीति आदर्श हो । नीतिको कार्यान्वयन व्यवस्थापन, निर्धारित कार्यविधि र अभ्यासबाट हुन्छ । पाठ्यक्रमको अभ्यास पाठ्यपुस्तकको प्रयोगबाट हासिल हुन्छ । पाठ्यपुस्तक भनेको पठनपाठन कार्यमा प्रयोग गर्नका लागि बनाइएको छापामय सामग्री हो । पाठ्यपुस्तकलाई शैक्षिक सामग्रीको पनि सामग्री भन्न सकिन्छ । त्यसैले सामाजिक अध्ययनका लागि पर्याप्त स्वाध्ययन सामग्री भएको पाठ्यपुस्तक आवश्यक पर्दछ । थोरै पढेर धेरै ज्ञान सीप र सिकाइ हासिल हुँदैन । सिकाइ भनेको धेरै पढेपछि बिर्सेर मनमा बाँकी रहने गुदी कुरा हो ।

सामाजिक अध्ययन विषयलाई कुन भाषामा शिक्षण गर्ने

यसअघि भनियो कि सामाजिक अध्ययन भनेको तयारी ज्ञानका आधारमा प्राकृतिक र सांस्कृतिक वातावरणमा पुगी स्थलगत खोजी कार्य गरेर ज्ञान निर्माण गर्ने कार्य हो । भाषा,कला र गणितको सम्बन्धले ज्ञान निर्माण गर्न सहयोग गर्दछ । सहज भाषाको प्रयोग बिना समुदायसँग अन्तरक्रिया गर्न कठिन हुन्छ । त्यसैले कुन भाषामा सामाजिक अध्ययन गर्ने भन्ने विषय समकालीन मुद्दाको विषय बन्नु स्वभाविक कुरा हो ।

माध्यम भाषा सम्बन्धमा नीतिगत व्यवस्था

शिक्षा ऐन, २०२८ को दफा ७ मा विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै भाषा हुने उल्लेख छ । यसैगरी प्राथमिक शिक्षा मातृभाषामा दिन सकिने,  गैरनेपाली नागरिकले नेपालको विद्यालयमा अध्ययन गर्दा अनिवार्य नेपाली विषयको सट्टा अन्य कुनै भाषाको विषय अध्ययन गर्न सक्ने, भाषा विषयमा अध्ययन गराउँदा शिक्षाको माध्यम सोही भाषा हुन सक्ने, अनिवार्य अङ्ग्रेजी विषय अध्ययन गराउँदा अंग्रेजी भाषामा नै गराउनु पर्ने भनी विद्यालयमा शिक्षाको माध्यमलाई लचिलो बनाइएको छ । सूचना र प्रविधिको विकासले पनि स्थानीयतालाई विश्वव्यापीकरणतिर लैजाने र विश्वव्यापीकरणलाई स्थानीयतामा अनुकूलन गर्ने प्रचलन बढिरहेको छ ।

पठनपाठनमा कुन भाषाको प्रयोग गर्ने

पठनपाठनमा स्थानीय भाषाको प्रयोग गर्ने कि माध्यम भाषा वा अन्तर्राष्ट्रिय भाषाको प्रयोग गर्ने कुरा पनि अहिले समकालीन मुद्दाको विषय बनेको छ । खासमा स्थानीय भाषाको प्रयोगले समावेशिताको कुरालाई सम्बोधन गर्दछ, विद्यालयमा ल्याउने, टिकाउने र सिकाउने कुरालाई सहयोग गर्दछ । पेसाव्यवसाय र अन्तर्राष्ट्रिय परिवेशमा बिकाउने काम माध्यम भाषा वा अन्तर्राष्ट्रिय भाषाको दखलताले हासिल हुन्छ ।  बालबालिकाको सिकाइ गतिलाई बढाउँछ । पठनपाठनमा माध्यम भाषा र माध्यम भाषा वा अन्तर्राष्ट्रिय भाषाको प्रयोगले बाहिरी संसारलाई हेर्ने र बुझ्ने अवसर प्रदान गर्दछ । त्यसैले विद्यालय शिक्षामा दुवै खाले भाषाको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

विद्यालयको पठनपाठनमा कुन भाषाको प्रयो गर्ने भन्ने कुरा बालबालिकाको उमेर, कक्षागत विषय, विद्यालयको तह, समकालीन समाजको चाहना र विद्यालयको किसिममा भरपर्दछ । साना साना बालबालिका पढने कक्षाहरुमा स्थानीय भाषाको प्रयोग गर्न आवश्यक हुन्छ भने माथिल्ला कक्षाहरुमा माध्यम भाषा, स्तरीकृत भाषा र अन्तर्राष्ट्रिय भाषाको प्रयोग गर्नुपर्दछ । विश्वमा स्थापित हुँदै गएका सूचना, विज्ञान र प्रविधिका शब्दावलीलाई स्थानीयकरण र अनुवादका नाममा जबरजस्ती कृत्रिम अनुवाद गरेर जिब्रोमैत्री र स्मरणमैत्री हुन सक्दैन । वैश्विकस्तरका ज्ञानविज्ञानका विषयहरुमा अन्तर्राष्ट्रिय भाषाकै प्रयोग गर्नुपर्दछ । यसले सिकाइको गति बढाउँछ, कठोर अनुवादमा अलमल गरिरहनु पर्दैन र शिक्षणसिकाइ पनि मितव्ययी हुन्छ ।

सामाजिक अध्ययन विषयका एकाइ र भाषाको छनौट

सामाजिक अध्ययनका विषयवस्तुलाई विभिन्न एकाइहरुमा सङ्गठित गरिएको छ । मिल्दाजुस्दा पाठहरुको सङ्गठनलाई एकाइ भनिन्छ । आधारभूत र माध्यमिक तहमा आफ्नो परिवार र छरछिमेक, हामी र हाम्रो समाज, विकासका पूर्वाधार, सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या, नागरिक चेतना, पृथ्वी, हाम्रो विगत, अन्तर्राष्ट्रिय सम्बन्ध आदिजस्ता एकाइहरु समाविष्ट छन् । यसले पनि सामाजिक विषयको पठनपाठनमा भाषाको छनौट गर्ने आधार प्रदान गर्दछन् ।  यस्ता एकाइहरु अन्तरविषयक र बहुविषयक विधिबाट निर्माण गरिन्छन् ।

एउटै भाषा मात्र प्रयोग गर्ने ढिपीले कतिपय एकाइका विषयवस्तुहरुलाई पठनपाठन गर्न कठिन हुन सक्छ । आफू, आफ्नो परिवार र छरछिमेक, हाम्रो  परम्परा र संस्कृति, स्थानीय इतिहास आदिजस्ता विषयवस्तुहरुलाई स्थानीय भाषा र माध्यम भाषा प्रयोग गरी पठनपाठन गराउँदा सहज हुन सक्छ भने विश्वको भूगोल, खगोलविज्ञान आदिजस्ता विषयवस्तुहरुलाई अन्तर्राष्ट्रिय भाषाको प्रयोग गरी शिक्षण गर्नाले इन्टरनेट जस्ता सूचना प्रविधिका साधन र सामग्रीहरुसँग आबद्ध गर्न सहज हुनसक्छ ।

त्यसैले सामाजिक अध्ययन विषयको पठनपाठन गर्दा आवश्यकतानुसार मिश्रित भाषाको प्रयोग गर्नु उपयुक्त हुन्छ, कुनै एकल भाषामा मात्र पठनपाठन गर्नुपर्छ र लिखित परीक्षा गर्नुपर्छ भन्ने तर्कहरु कहाँबाट र कसरी आउँछन् बुझ्नै नसकिने कुरा छ । बीचबीचमा आउने यस्ता कतिपय अस्थिर 'ढिप्पी'हरुले शिक्षकहरुमा अन्योलता बढाउँछ, विद्यार्थीलाई पनि निर्धक्क भएर पढन र परीक्षामा लेख्न बाधा गर्नसक्दछ ।

सामाजिक अध्ययनमा मूल्याङ्कन विधि

मूल्याङ्कन विधि बालबालिकाको उमेर, पठनपाठन हुने कक्षा, विद्यालयको तह र विषयको पाठ्यक्रमअनुसार फरक पर्दछ । विषयको प्रकृतिअनुसार फरक पर्दछ । शिक्षामूलक विषयहरु संज्ञानप्रधान हुन्छन्, विज्ञानमा आधारित विषयहरु प्रयोगात्मक अभ्यास र निष्कर्षमा आधारित हुन्छन् र अध्ययन (स्टडिज) मा आधारित विषयहरु समुदायमा स्थलगत अवलोकन भ्रमण गरेर र खोजी कार्य गरेर ज्ञान बनाउने परियोजना कार्यमा आधारित हुन्छन् । यसका लागि विषयवस्तुको प्रकृतिमा आधारित मूल्याङ्कन विधिको प्रयोग गर्नुपर्दछ ।

औपचारिक स्रोत, अनौपचारिक, अरितिक र आकस्मिक गरी शिक्षाका चार वटा स्रोत हुन्छन् । शिक्षाका यस्ता स्रोत अनुसार सिकाइको मूल्याङ्कन विधि फरक पर्दछ । स्थानीय समुदायका अरीतिक र आकस्मिक स्रोतहरुको प्रयोग गरी सञ्चालन गरिने पठनपाठनको मूल्याङ्कन अवलोकन र प्रतिविम्बन विधि आधारित गरियो भने झन सहज हुनसक्छ । खै त चिन्तन र सोच । औपचारिक स्रोतबाट हुने सिकाइहरु लिखित, मौखिक र प्रयोगात्मक विधिमा आधारित हुनसक्छन् । अनौपचारिक स्रोतबाट हुने सिकाइको परीक्षण सीप केन्द्रित हुन सक्ला । सीप सिकाइमा परीक्षाको भाषा माध्यमको गौण हुन सक्छ, त्यस्तो मूल्याङ्कनमा सीप सिक्यो कि सिकेन त्यो हेरिन्छ ।

लहडमा बग्ने कि शिक्षणको सिद्धान्तअनुसार कार्य गर्ने । लाग्छ, अब यहाँ कुनै शैक्षिक सिद्धान्तले कामै गर्न छाडिसकेको हो कि जस्तो अनुभूति हुन थालेको छ । शैक्षिक नीति र पाठ्यक्रम निर्माणमा कुन पक्षको बोलवाला छ, शिक्षा कै जानकार विशेषज्ञको वा कुनै क्षेत्रका अभियन्ताको ? अबको शिक्षा कता तिर जान लागेको हो? निरन्तर रुपमा प्रयोग र परीक्षणमा केन्द्रित सकसपूर्ण पाठ्यक्रम, पठनपाठन निर्देशिका (पठनपाठन निर्देशिका भन्ने कि शिक्षक निर्देशिका ?) र मूल्याङ्कन नीतिले गर्दा शिक्षकहरु  हैरान भएका छन् । बालबालिकाहरुलाई त झन कति कठिन भएको होला ? जे होस् आजको बैठकमा हामीले भनेको विषयवस्तु पाठ्यपुस्तकमा आउने भयो भनेर सन्तोष मान्नेहरुले पनि सोचिदिऊन् ।

निष्कर्ष

बालबालिकाहरु सामाजिक प्राणी हुन् र विद्यालय एउटा सानो समाज । सामाजिक अध्ययनले बालबालिकाहरुलाई सामाजिक प्राणीका रुपमा आफूलाई अनुकूलन गर्दै बाँच्न सिकाउँछ । यसका लागि सामाजिक र प्राकृतिक विज्ञानका विषयहरुले माथिल्ला कक्षाहरुमा पढनका लागि आधार प्रदान गर्दछ भने बीचैमा विद्यालय शिक्षा छाडेर व्यावसायिक जीवन बिताउन चाहनेहरुका लागि जीवन सीप प्रदान गर्दछ । यसका लागि मूल रुपमा भाषाले सिकाइका लागि सञ्चारको काम गर्दछ । यस्तो भाषा बालबालिकाको जनजिब्रोमा आधारित हुन आवश्यक हुन्छ । पठनपाठनपछि गरिने सिकाइको मूल्याङ्कन कुन भाषामा गर्ने भन्ने कुरा विद्यार्थीले कुन भाषाको प्रयोग गरेर शिक्षा हासिल गरेको छ र कुन भाषामा धाराप्रवाह रुपमा आफ्ना कुराहरु मूल्याङ्कनका समयमा व्यक्त गर्न सक्छ भन्ने कुरा हेरेर सोही भाषामा लेख्न पाउने सुविधा दिनुपर्दछ ।

भाषाको अडचन थापेर बालबालिकाले लेख्ने प्रतिभालाई न्याय दिन सक्दैन, बरु कुण्ठित हुनसक्छ । यस्तो सुविधालाई नै सही अर्थको बालमैत्री सिकाइ र बालमैत्री मूल्याङ्कन नीति भन्न सकिन्छ । शिक्षासम्बन्धी ऐन नियमले पनि विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै भाषा हुने सुविधाजनक व्यवस्था गरिदिएको छ ।

लेखक शिक्षा सेवाका उपसचिव हुन् ।