SEE Result 2082

सामुदायिक रेडियोमार्फत एसइईको पुनर्ताजगी कक्षा

कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ । लकडाउन खुल्ने बित्तिकै परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई मध्यनजर गर्दै गाउँपालिकाले रेडियोमार्फत विद्यार्थीलाई ट्युसन कक्षा सञ्चालन गर्न थालेको हो । तयारीमा रहेका विद्यार्थीले लामो समय बिदामा बस्दा सिकेका कुरासमेत बिर्सिने र परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत पुनर्ताजगी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

आइतबारदेखि बरेङमा रहेको सामुदायिक रेडियो बिहानीबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चार विषयको कक्षा सञ्चालन हुनेछन् । कक्षा सञ्चालनका लागि विषय शिक्षकले स्टुडियोबाट विद्यार्थीलाई जानकारीहरु प्रदान गर्ने र विद्यार्थीले सामाजिक सञ्जाल वा टेलिफोनमार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको थापाले बताउनुभयो ।

“एसइईलाई लक्षित कक्षा सञ्चालन हुनेछ, परीक्षाको तयारी गराउँदा जसरी विद्यालयमा शिक्षकले पढाउँथे उसैगरी रेडियोबाट पढाइ हुन्छ”, थापाले भन्नुभयो, “यसले विद्यार्थीलाई धेरै सहज बनाउने छ, नसिकेका कुरा सिक्ने र बिर्सेका कुरा सम्झने अवसर हुनेछ ।” अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयको कक्षा रेडियोबाट सञ्चालन हुनेछ । “हामीले गाउँपालिकाभित्र रहनुभएका विषय शिक्षकलाई अनुरोध गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “उहाँहरुलाई गाउँपालिकाले पारिश्रमिक उपलब्ध गराउने छ ।” रेडियोमार्फत कक्षा सञ्चालन गर्ने शिक्षकका लागि गाउँपालिकाले प्रतिकक्षा रु ५०० पारिश्रमिक दिने विधि तयार गरेको छ ।

विद्यालय खोल्न वा ट्युसन, कोचिङ कक्षा सञ्चालन गर्न सम्भव नरहेकाले रेडियोको विकल्प खोजिएको शर्माले बताउनुभयो । रेडियोले प्रसारण गर्ने कार्यक्रमबाट जिल्लाको जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र गुल्मीको शान्तिपुर क्षेत्रका अधिकांश विद्यार्थीले लाभ लिन सक्छन् । परीक्षा तयारी कक्षा नै सञ्चालन हुने भएकाले विद्यार्थीका लागि उपयोगी हुने गाउँपालिकाको दाबी छ । गाउँपालिकाले विद्यार्थीलाई लकडाउनको पूर्ण पालना गर्दै प्रविधिको प्रयोगमार्फत एसइईको तयारीलाई जारी राख्न अनुरोधसमेत गरेको छ ।

+2 School
Counseling
Bachelors Portal