After SEE Portal

थोरै विद्यार्थी भएका विद्यालय पुनः निर्माण हुन सकेनन्

Bridge Course

विनासकारी भूकम्पको ६ वर्ष आज पुरा भएको छ। २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले नेपालका आर्थिक, शैक्षिक, मानवीय क्षेत्रमा ठूलो क्षति पुर्यायो । यो विकासकारी भूकम्पले देशभरका ९ हजार ७२ विद्यालयका ५४ हजार ५४८ कक्षाकोठामा क्षति पुर्यायो । त्यसमध्ये २१ हजार १६९ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भए । क्षति ग्रस्त विद्यालय मध्ये ३२७ विद्यालय अन्य विद्यालयमा मर्ज भए भने १५३ विद्यालय संरचनामा नै रहेनन् । क्षतिग्रस्त ९हजार ७२ विद्यालय मध्ये पुनः निर्माण गर्नै पर्ने विद्यालय ७ हजार ५५३ मात्र बाँकी रहेका थिए ।

६ वर्षको अवधिमा ६ हजार २४६ विद्यालयको पुनःनिर्माण भइसकेको छ । विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय सहयोग र नेपाल सरकारको आर्थिक लागानीमा अहिले पनि १ हजार ३०७ विद्यालय पुनःनिर्माणका क्रममा रहेका छन् । तर जग्गा अभाव तथा कम विद्यार्थी, विद्यालय गुम्ने लगायत अन्य कारणले भूकम्प प्रभावित १ हजार ५१९ मध्ये ८८२ विद्यालयका ५ हजार ८७३ कक्षाकोठा निर्माण गर्नै पर्ने भएपनि अहिले सम्म कुनै कार्यक्रम पुग्न सकेको छैन ।

पहुँचका आधारमा जग्गा अभाव, विद्यार्थी संख्या कम भएका विद्यालय पुनः निर्माण तथा रेट्रोफिटिङ गरिएको भए पनि काठमाडौं भक्तपुर, ललितपुरका केही भूकम्प प्रभावित विद्यालयले रातो स्टिकर टासेकै भवनमा अहिले पनि पठनपाठन गराउँदै आएका छन् । भूकम्प प्रभावित ४७६ कक्षाकोठाको पुनर्निर्माण गर्ने सुरसार अझै छैन । आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले भूकम्प प्रभावित विद्यालय पुनः निर्माण कार्यविधि अनुसार कम विद्यार्थी भएकाले ती कक्षाकोठा पुनर्निमाणमा ढिलाइ भएको जनाएको छ ।

छ वर्षअघिको भूकम्पले देशभरका कम विद्यार्थी भएका २८५ विद्यालयका १ हजार २८८ कक्षाकोठा प्रभावित पारेको थियो । प्रभावित कक्षाकोठामध्ये इकाइले २२० कक्षाको रेट्रोफिटिङ गरिसकेको छ भने विभिन्न विद्यालयका ३८१ कक्षाकोठा निर्माण गरेको छ । तर भूकम्प प्रभावित कम विद्यार्थी भएका ४७६ कक्षाकोठा भने निर्माण गरेको छैन । निर्माणका लागि वैधानिक अप्ठेरो सिर्जना भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले जनाएको छ ।

विद्यालय पुननिर्माण कार्यविधि २०७३ अनुसार ठुला आयोजना सञ्चालन गर्नका लागि २ सय विद्यार्थी चाहिन्छ । यस्तै विद्यालय व्यवस्थापन समितिले भौगोलिक अवस्थाका आधारमा ५० देखि १०० जना विद्यार्थी भएका विद्यालयको भवन पुनर्निमाण गर्दै आएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले २०७२ को भूकम्पबाट प्रभावित कम विद्यार्थी भएका ८ विद्यालयको कार्यविधि मिचेरै भवन पुननिर्माण गरेको छ । कम विद्यार्थी भएका पुनर्निमित विद्यालयहरुमा बालपिठ आधारभूत विद्यालय, दक्षिण महाकाली आधारभूत विद्यालय, गागलफेदी हर्सा आधारभूत विद्यालय, कल्पेश्वर आधारभूत विद्यालय, नारायण आधारभूत विद्यालय, सुन्दरीमाई आवि बनेपा, बन्दनासिंहदेवी आधारभूत विद्यालय र जनचाहाना आधारभूत विद्यालय छन् ।

काठमाडौं नगरपालिकाको सिनामंगलस्थित भूकम्प प्रभावित बालपिठको पाँच वटा कक्षाकोठा प्रभावित थिए । इकाइले पाँचै वटा कक्षा कोठाको रेट्रोफिटिङ गरिसकेको छ । कक्षा ५ सम्म पठनपाठन हुने यो विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत छन् । त्यस्तै दक्षिणकाली नगरपालिकामा अवस्थित दक्षिण महाकालीका आधारभूत विद्यालयका भूकम्प प्रभावित तीन कक्षाकोठाको रेक्ट्रोफिटिङ गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले जानकारी दियो । यो विद्यालयमा करिब २३ जना विद्यार्थी छन् ।

इकाईका अनुसार कागेश्वरी मनोहरा नगरपालिकास्थित गागलफेदी हर्सा आधारभूत विद्यालयका दुईवटा भवनका ५ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएका थिए । ध्वस्त कक्षाकोठामा दुइटाको मर्मत सम्भार गरिएको छ भने ५ कोठे भवनको पुनर्निमाण भएको छ । यो विद्यालयमा ३५ जना विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै नार्गाजुन नगरपालिकास्थित कल्पेश्वर आधारभूत विद्यालयका ४ वटा भवनका १२ कक्षाकोठामध्ये सबै कक्षाकोठा प्रभावित थिए । २८ जना विद्यार्थी अध्ययनरत यो विद्यालयका ७ कक्षाकोठाको मर्मत सम्भार गरिएको छ भने २ कोठे भवन पुनर्निमाण गरिएको छ । शंखरापुर नगरपालिकाको नारायण आधारभूत विद्यालयमा २६ जना विद्यार्थी छन् । यो विद्यालयको भूकम्प प्रभावित चार कक्षा कोठाको मर्मत सम्भार र दुईकोठाको रेट्रोफिटिङ गरिएको कार्यान्वयन इकाई (शिक्षा) काठमाडौंले जानकारी दियो ।

काभ्रेपलाञ्चोकको बनेपास्थित सुन्दरीमाई आविका दुइटै भवनका प्रभावित पाँचैवटा कक्षाकोठाको मर्मतसम्भार गरिएको छ । यो विद्यालयमा ३४ जना विद्यार्थी अध्ययनरत छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित बन्दनासिंहदेवी आधारभूत विद्यालयको ६ कोेठे भवन निर्माण गरिएको छ । यो विद्यालयमा १९ जना विद्यार्थी अध्ययनरत छन् । त्यस्तै सिन्धुलीको जनचाहना आधारभूत विद्यालयको ३ कोठे भवन निर्माण गरेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जानकारी दियो । यो विद्यालयमा ३६ जना विद्यार्थी अध्ययनरत छन् ।

धादिङको नेत्रावती गाउँपालिकाका अन्नपूर्ण र कोसिन्चेत आधारभूत विद्यालयलाई दुई–दुई कक्षाकोठा आवश्यक छ । तर यी दुवै विद्यालयमा कम विद्यार्थी भएका कारण पुनर्निमाण हुन सकेको छैन । अन्नपूर्णमा १० जना र कोसिन्चेतमा ५ जना मात्र रहेको कार्यान्वयन इकाईले जानकारी दियो ।

कम विद्यार्थी भएका भूकम्प प्रभावित जिल्लाहरु गोरखा, दोलखा, भक्तपुर, ललितपुर, संखुवासभा लगायत २२ जिल्लाका ४७६ कक्षाकोठा पुनर्निर्माण हुन अझै बाँकी नै छन् ।

विद्यालय पुनः निर्माण सम्बन्धी पूर्ण विवरण

A Levels MA
Thuprai - Books and E-books