६२४६ विद्यालय पुननिर्माण सम्पन्न, १३०७ निर्माणाधीन बाँकी विद्यालय पुनः निर्माण गर्न बजेट अभाव

पुनर्निर्माण हुनुपर्ने ३२७ विद्यालय अर्को विद्यालयमा गाभिए भने १५३ विद्यालय सधैँका लागि बन्द भए ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशभरका ९ हजार ७२ विद्यालयका ५४हजार ५४८ कक्षाकोठामा क्षति पुर्यायो । त्यसमध्ये २१ हजार १६९ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भए । क्षति ग्रस्त विद्यालय मध्ये ३२७ विद्यालय अन्य विद्यालयमा मर्ज भए भने १५३ विद्यालय संरचनामा नै रहेनन् । क्षतिग्रस्त ९हजार ७२ विद्यालय मध्ये पुनः निर्माण गर्नै पर्ने विद्यालय ७ हजार ५५३ मात्र बाँकी रहेका थिए ।

क्षतिग्रस्त विद्यालय पुनःनिर्माणका लागि कुल रकम १ खर्ब १० अर्ब७९ करोड ७४ लाख २६ हजार रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको थियो । आर्थिक वर्ष २०७६–०७७ मा ५३ अर्ब १९ करोड ७४ लाख २५ हजार खर्च गरिएको छ । पुननिर्माणका लागि बाँकी रकम ५७ अर्ब ६० करोड ३४ लाख ४२ हजार देखिएको छ । त्यसमध्ये आर्थिक वर्ष ०७७–०७८ मा १८ अर्ब ६० करोड ५ लाख १३ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रमको लक्ष्य अनुसार बजेट अभाव हुँदा समयमा कार्यसम्पन्न गर्न कठिनाइ भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को आयोजना र शिक्षा पत्रकार सञ्जाल इजोनको सहकार्यमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

सरकारले विद्यालय पुनःनिर्माण जम्मा चार मोडालिटीबाट गर्ने योजना बनायो । सोही मोडालिटी मार्फत् अहिलेसम्म ६ हजार २४६ विद्यालयको पुनः निर्माण गरिसकेको छ । विद्यालय व्यवस्थापन समितिमार्फत २० हजार ८५८ विद्यालय निर्माण सम्पन्न गरिसकेको छ भने ८ हजार ७७५ विद्यालय निर्माणधीन अवस्थामा रहेका छन् ।त्यस्तै विकास साझेदार संस्थामार्फत् ५ हजार ८६७ विद्यालय निर्माण सम्पन्न भइसकेका छन् भने ४ हजार ३८४ विद्यालय निर्माणधीन अवस्थामा रहेका छन् । त्यसैगरी गैरसरकारी संस्थामार्फत् ८ हजार ३३३ विद्यालयको पुनःनिर्माण गरिसकिएको छ भने ५३० विद्यालय निर्माणधीन अवस्थामा रहेका छन् ।

भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (शिक्षा) को समयावधि सकिएपछि पुनः एक वर्षका लागि समय थप गरिएको छ । प्राधिकरणको समयावधि आगामी पुस १० गते मा पूरा हुने छ ।

भूकम्पले देशभरका करिब ३५ हजार सामुदायिक विद्यालय मध्ये ३१ जिल्लाका ९ हजार ५५२ विद्यालयमा आंशिक तथा पूर्ण क्षति पुगेको थियो ।इकाइका अनुसार भूकम्पपछि विद्यालयहरुलाई आंशिक तथा पूर्ण क्षतिग्रस्तमा वर्गीकरण गरी तथ्यांक संकलन गरिएको थियो । सो समयमा पूर्ण क्षति पुगेका विद्यालयलाई रातो स्टिकर र आंशिक क्षति पुगेका लाई पहेलो स्टिकर टासिएको थियो । विद्यार्थी अभाव र जग्गा अभावका बहानामा नबनेका रातो स्टिकर टासिएका केही विद्यालयमा अहिले पनि जोखिम पूर्ण तरिकाले पठनपाठन हुँदै आएको छ ।

सो पत्रकार सम्मेलनमासबैभन्दा धेरै विद्यालय धादिङ जिल्लामा पुनर्निर्माण भएका छन् । धादिङका ५८८ विद्यालयमा क्षति भएको थियो । यीमध्ये तीन वटा विद्यालय गाभिए, दुई वटा सधैँका लागि बन्द भएपछि पुनर्निर्माण गर्नुपर्ने ५८३ विद्यालय मात्र बाँकी रहे । ती मध्ये २७३ वटा विद्यालयको पुनः निर्माण गरिसकिएको छ । बाँकी २५१ वटा पूरा हुने चरणमा छन् ।

भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको गार्खाका अधिकांश विद्यालय पुनः निर्माण सम्पन्न गरिसकिएको सो सम्मेलनमा जानकारी दिइयो । गोर्खामा ५१७ विद्यालयमा क्षति पुगेकोमा ९१ वटा विद्यालय गाभिए । पुनर्निर्माण हुनुपर्ने ४२६ विद्यालयमध्ये २०४ वटा विद्यालय पुननिर्माण गरिसकिएको छ । बाँकी २०१ विद्यालय निर्माणाधीन अवस्थामा छन् ।

१५ सयले पाएनन् पुनर्निर्माण कार्यक्रम

पुनर्निर्माणको काम पाँच वर्ष पूरा भए पनि अझै १५ सय विद्यालयमा पुनर्निर्माणको कार्यक्रम पुग्न सकेको छैन । पुनर्निर्माणको कार्यक्रम नपाउनेमा मकवानपुर जिल्लाका विद्यालय धेरै छन् । मकवानपुरमा यस्ता विद्यालय १३५ वटा छन् ।

काठमाडौँ जिल्लाका ११६ वटा, काभ्रेका १०५ वटा, सिन्धुलीका ११७ वटा, गुल्मीका १२४ वटा, सोलुखुम्बुका ७० वटा, भोजपुरका ८६ वटा विद्यालय लगायत ३१ जिल्लाका १ हजार ४९५ विद्यालयले हालसम्म पुनर्निर्माणको कार्यक्रम नपाएको प्राधिकरणले जनाएको छ ।

जग्गाको अभाव भएका र विद्यार्थी संख्या न्यून कम भएका विद्यालय पुनर्निर्माणमा परेनन् । प्राधिकरणका अनुसार क्षति पुगे पनि २९ वटा विद्यालयले पुनर्निर्माणको माग नै गरेनन् ।

भवन पुनःनिर्माण संगै प्राधिकरणले २ हजार ६८६ शौचालय निर्माण गरेको छ । २ हजार ३३७ शौचालय निमार्णाधीन अवस्थामा रहेका छन् ।

त्यस्तै २१० विद्यालयमा ट्याङ्कीसहित खानेपानीको पूर्वाधार निर्माण गरेको छ । एक हजार ४९३ वटा विद्यालयमा खानपानीको पूर्वाधार निर्माणधीन अवस्थामा रहेका छन् ।