After SEE Portal

बैतडीको पुर्चौडी र मेलौली नगरपालिकाका विद्यालय खुले

Bridge Course

बैतडीको दुईवटा स्थानीय तहले आफ्नो मातहतका सबै सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन सुरु गरेको छ । पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याएका हुन् ।

दशैँको केही दिन अघिदेखि कोरोनाको संभावित संक्रमणलाई ध्यानमा राखि बन्द गरिएका विद्यालयमा आजदेखि नियमित पठनपाठन हुन सुरु भएको पुर्चौडी नगरपालिकाका शिक्षा शाखाप्रमुख दिनेश नागरीले जानकारी दिए ।

नगरपालिकामा सो नगरपालिका भित्रका ७५ वटै विद्यालयमा आजदेखि पठनपाठन सुरु भएको छ । नगरभित्रका धेरै विद्यार्थी भएका कक्षामा जोर विजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई विद्यालयमा नै पठनपाठन गराइने भएको छ । ‘७५ वटै विद्यालयमा प्रत्यक्ष रुपमा पठनपाठन सुरु भएको छ ।’ उनले भने, ‘बालबालिका विद्यालयमा भएको बेला भौतिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै धेरै विद्यार्थी भएका कक्षामा जोरविजोर रोल नम्बरका आधारमा विद्यार्थी विद्यालयमा आउँछन् ।’

पुर्चौडीमा नगरपालिकामा गत असोज १ गतदेखि बन्द गरिएको थियो । नगरपालिकामा ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करीब १५ हजार विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै मेलौली नगरपालिकामा पनि आजदेखि शिक्षण सिकाइ क्रियाकलाप सुरु भएको छ । कोरोना जोखिम कम भएका क्षेत्रमा प्रत्यक्ष विद्यालयमै पठनपाठन हुने र बढी जोखिम भएका ठाउँमा टोल शिक्षाका माध्यमबाट कक्षा सञ्चालन हुने मेलौली नगरपालिकाका शिक्षा शाखाप्रमुख हरिश भट्टले जानकारी दिए ।

गत असोज १८ गतदेखि बन्द गरिएको थियो ।  वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको मेलौली नगरपालिकाले जनाएको छ । मेलौली नगरपालिकामा ४६ सामुदायिक र तीन निजी विद्यालयमा गरी आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगर शिक्षा शाखाले जानकारी दियो ।

 

A Levels MA
Thuprai - Books and E-books