A Levels MA

कोहलपुरका विद्यालयले आधारभूत तहसम्म कुनै शीर्षकमा शुल्क लिन नपाउने

बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सामुदायिक विद्यालयलाई आधारभूत तह (बालविकास र कक्षा १–८) मा सञ्चालन हुने नेपाली तथा अङ्ग्रेजी भाषा माध्यमका कक्षाहरु पूर्ण निःशुल्क गर्ने निर्देशन दिएको छ ।

नगरपालिकाका सबै विद्यालयहरुलाई आ।व। २०७६-७७ देखि नै पठनपाठन तथा परीक्षा सञ्चालन, शिक्षक व्यवस्थापन, शैक्षिक सामग्री, मरम्मत सम्भार कार्यका लागि नगरपालिकाबाट चौमासिक रुपमा अनुदान प्रदान गर्दै आएको हुँदा कुनै शीर्षकमा पनि शुल्क नलिने निर्देशन दिएको हो ।

निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास र कक्षा १–८)  मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा नगर अनुदान रोक्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले  आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।‘नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयका आधारभूत तह (बालविकास र कक्षा १–८) मा सञ्चालन हुने नेपाली तथा अङ्ग्रेजी भाषा माध्यमका कक्षाहरु पूर्ण निःशुल्क रुपमा सञ्चालन गर्न र अङ्ग्रेजी भाषा माध्यमको छुट्टै कक्षाका नाममा कुनै पनि शुल्क नउठाउने निर्देशन गरिएको अवगतै होला।’ सूचनामा भनिएको छ, ‘उक्त व्यवस्था र निर्देशनको विपरित हुने गरी कुनै पनि सामुदायिक विद्यालयले सो तहमा कुनै पनि प्रकारको अभिभावक शुल्क वा कुनै शीर्षकमा विद्यार्थीहरुबाट शुल्क लिएको वा शुल्क तिर्न बाध्य बनाउन कोशिश गरिएको जानकारी वा सूचना प्राप्त भई सोको पुष्टि भएमा त्यस्तो शुल्क लिने विद्यालयबाट सम्बन्धित विद्यार्थी–अभिभावकलाई तत्काल फिर्ता गराई त्यस्तो विद्यालयलाई कुनै पनि प्रकारको नगर अनुदान रोक्न सकिने र आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

साथै सबै सामुदायिक विद्यालयहरुले कक्षा ९र १० को वार्षिक तथा मासिक लगायतका शुल्क संरचना पुस्ट्याइ सहित पेस गर्न नगर शिक्षा शाखाले निर्देशन दिएको छ ।

त्यस्तै, संस्थागत विद्यालयले विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ बमोजिमको शुल्क संरचना कायम गरी पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक र सन्दर्भ सामग्रीबाट मात्र पठनपाठन हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सबै संस्थागत विद्यालयहरुले नगरपालिकामा सात दिनभित्र अनिवार्य रुपमा विद्यालयको शुल्क संरचना तथा पाठ्यपुस्तकको सूची पेस गर्नु निर्देशनदिएको छ ।

Thuprai - Books and E-books