A Levels MA

जोशीको नाममा विद्यालय

सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका थिए ।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र जोशीले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताए ।

‘राष्ट्रपतिले संस्कृतिविद् जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर म नेपालका जीवित इतिहास बोकेका संस्कृविद् जोशीको निवासमा आएको हुँ’ जोशीको निवासमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भने ।

खुल्ने विद्यालय नेपालकै नमुनाको हुने उनले जानकारी दिए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि जोशी निवास पुगेका थिए ।  आफ्नो निवास पुगेका मन्त्री श्रेष्ठ सहितको टोलीलाई आफू १०१ वर्ष पूरा गरेको र स्वास्थ्य अवस्था ठिक भएको जोशीले बताएका थिए ।

संस्कृतिविद् जोशीले भने, ‘अहिलेसम्म मलाई सरकारले सबै सहयोग गरिसकेको छ । मेरो नाममा विद्यालय खोल्ने तयारी गर्नु समस्त संस्कृतिविद्, इतिहासविद् र साहित्यकारको सम्मान भएको महसुस गरेको छु ।’

आउदो बैशाख ३० गते १०२ वर्ष पूरा गरेको दिनमा सो विद्यालय स्थापना गर्ने गरी तयारी थालिएको शिक्षामन्त्रीको निजी सचिवालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्री श्रेष्ठले विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय हुने र विद्यालयको मुल ढोकामा जोशीको पूर्ण कदको प्रतिमा राखिने घोषणा गरेका छन् ।

Thuprai - Books and E-books