After SEE Portal

गर्मी बढेपछि विद्यालय बन्द गर्न थाले स्थानीय तह

Bridge Course

केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण सामुदायिक र संस्थागत विद्यालय धमाधम विदा दिन थालिएको छ। सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।  गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए । हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए ।

त्यसैगरी, धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ देखि जेठ २४ सम्म एकसाताका लागि बिदा दिने निर्णय गरि सकेको छ। उक्त बिदा वर्खे बिदामा मिलान गरिने उल्लेख छ।

इटहरी उपमहानगरपालिकामा पनि विहीबार र शुक्रबार विद्यालय विदा दिइएकोमा थप चार दिन विदा थपेको छ। शनिबार एक सूचना जारी गरि जेठ २१ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने उल्लेख छ। अत्याधिक गर्मीले गर्दा ‘लु’ को सम्भावना रहेकाले गर्दा बालबालिकालाई जोगाउन विद्यालय बन्द गरेको उपमहानगरपालिकाले जनाएको छ। इटहरी क्षेत्रमा कक्षा ११ को परीक्षा भने चलिरहेको छ। परीक्षा भने नियमित रूपमा चल्नेछ।

सुनसरी इनरुवाका सामुदायिक र संस्थागत विद्यालय पनि जेठ १८ गतेदेखि २४ गते सम्मका लागि बिदा दिइएको छ। भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण जेठ १८ गते देखि २३ गतेसम्मका लागि बिदा दिइएको छ।

बिर्तामोड नगरपालिकामा जेठ १९ गतेदेखि २१ गतेसम्म विदा दिइएको छ। कचनकवल गाउँपालिकामा भने जेठ १८ गतेदेखि २२ गतेसम्म बिदा दिइएको छ।

उदयपुरका विद्यालय केही दिन बिदा दिइएको छ। साता दिनयता अत्यधिक गर्मी बढेपछि पठनपाठन गर्न गराउन नसक्ने स्थिति सिर्जना भएको भन्दै जिल्ला सदरमुकाम त्रियुगालगायत ३ स्थानीयतहका विद्यालयलाई बिदा दिइएको हो।

अत्यधिक गर्मी बढेपछि बालबालिकाहरू कक्षा कोठामा बसेर पढ्नै नसक्ने अवस्था भएको भन्दै त्रियुगा नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय गरेको छ।

नगरपालिका शिक्षा शाखा अधिकृत शिवकुमारी राउतद्वारा जारी सूचनामा अत्यधिक गर्मीले बालबालिकालाई पठनपाठन गर्न र शिक्षक शिक्षिकालाई पढाउन कठिनाई भएको कुरालाई मध्येनजर राख्दै २ दिन गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ। आगामी साउन भदौमा दिइने गर्मी बिदासँग समायोजन गर्ने गरी अहिले बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ।

त्यसैगरी  चौदण्डीगढी र बेलका नगरपालिकाले पनि २ दिन गर्मी बिदा दिने सूचना जारी गरेका छन्। तर, ती २ स्थानीय तहमा भने निजी तथा आवासीय विद्यालय (संस्थागत) हरू मात्र बिदा दिइएको छ। चौदण्डीगढी नगर निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) ले केही दिनअघिदेखि चर्केको गर्मी मौसममा तत्काल सुधार आउने नदेखिएकाले २१ देखि २३ गतेसम्म २ दिन बिदा दिन निर्देशन दिएको जनाएको छ।

नगर समिति अध्यक्ष सुनिल प्रधानले शुक्रबार जारी गरेको सूचना अनुसार पछिको बिदासँग मिलान गर्ने गरी आइतबार र सोमबार बिदा दिन निजी तथा आवासीय विद्यालयलाई आग्रह गरेको उल्लेख छ।

बेलका नगर संस्थागत विद्यालय संघ रामपुरले पनि २ दिन बिदा दिन आग्रह गर्दै शुक्रबार सूचना जारी गरेको छ। संघका अध्यक्ष रविन कार्कीले जारी गरेको सूचनामा केही दिनयता अत्यधिक बढेको गर्मीले पठनपाठन गर्न गराउन नसक्ने भएकाले २ दिन विद्यालय बन्द गर्न अनुरोध गरिएको छ। जिल्लाका अन्य स्थानीयतहमा भने गर्मी बिदा कतै दिइएको छैन।

चितवनका छ पालिकाले विद्यालय बन्द गरेका छन् ।  भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । 

A Levels MA
Thuprai - Books and E-books