A Levels MA

त्रिविको ४६ औं दीक्षान्त समारोहमा विद्यावारिधि र उत्कृष्ट विद्यार्थी मात्र सहभागी

त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थी मात्र उपस्थित भएका छन् । त्रिविको इतिहासमा पहिलो पटक दीक्षान्त समारोहमा कुलपति र सहकुलपति दुवै नै उपस्थित भएनन् भने प्रतिकूल परिस्थितिका बावजुद त्रिविले सबै दीक्षित विद्यार्थीलाई समारोहमा सहभागी गराउन सकेन ।

फोटोः त्रिभुवन विश्वविद्यालय 

दीक्षान्त समारोहमा २०७६ असार १ गतेदेखि २०७७ जेठ ३१ गतेसम्म ट्रान्सकृप्ट लिई ग्रेसलिष्टमा समावेश भएका विद्यावारिधि,एमफिल,स्नातकोत्तर र स्नातक तहका गरी ५६ हजार ७ सय १३ विद्यार्थी दिक्षित भएका थिए । तर त्रिविले उक्त समारोहमा उपस्थित हुन विद्यावारिधि गरेका र विषयगत उत्कृष्ट भएका विद्यार्थीलाई मात्र उपस्थित गराएको थियो । त्रिविले दीक्षित विद्यार्थीलाई आजदेखि प्रमाणपत्र वितरण गरिरहेको छ ।

दीक्षान्त समारोहमा सबै विद्यार्थी कोभिड– १९ का कारण उपस्थित गराउन नसक्ने बाध्यात्मक परिस्थिति निर्माण भएको त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले बताए । ‘त्रिविले सीमित पूर्वाधार र स्रोत–साधनबाट अन्तर्राष्ट्रियस्तरमा समेत ज्ञान, सीप र दक्षता प्रदर्शन गरी विश्वविद्यालयलाई गौरवान्वित बनाउने जनशक्ति उत्पादन गर्ने अभिभारा बोकेको छ ।’ उनले भने, ‘विश्वका अन्य उत्कृष्ट विश्वविद्यालयसंंगको प्रतिस्पर्धा गर्न सक्ने उपलब्धि हासिल गरिसकेको छ, विश्वविद्यालयलाई प्रविधिमैत्रि बानाइएको छ ।’

समारोहका प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षाको अवसरवाट कोही वन्चित हुन नपरोस भन्दै शिक्षालाई केही व्यक्ति वा वर्गमा सीमित गर्न नहुने बताए । मुलुकमा गरिखाने शिक्षाको टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै उनले राज्यले शिक्षामा लगानी गर्न कञ्जुस्याई गर्न नहुने धारणा व्यक्त गरेका थिए ।

‘शिक्षामा अतिव्यापारीकरण र निजिकरण बढेको, दलीय प्रभाव वढेको र सही नीति कार्यान्वयन गर्न राजनीतिक सोच र प्रतिवद्धताको अभाव भयो ।’ उनले थपे, ‘देशको विकासमा महत्वपूर्ण योगदान गर्ने  र विश्वबजारमा प्रतिस्पर्धी हुने शिक्षा आवश्यक छ।’

 

Thuprai - Books and E-books