संस्कृतको पाठ्यक्रम र पाठ्यपुस्तक तयार

पूर्णप्रसाद मिश्र- नेपालीको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो चरणमा संस्कृत यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी काम भएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिनुभयो । यो शैक्षिक सत्रका लागि कक्षा १ मा संस्कृत पढाउन पाठ्यपुस्तकसमेत तयार भएको छ ।

भाषा आयोगले जीवनपद्धतिसँग जोडिएको विषय भएकाले संस्कृत पठनपाठको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्न गरेको सिफारिसका आधारमा काम भएको केन्द्रको भाषा शाखाका निर्देशक टुकराज अधिकारीले बताउनुभयो । आयोगले अन्य मातृभाषाका पाठ्क्रम पनि तयार पार्न केन्द्रलाई सिफारिस गरेको थियो । त्यसअनुसार अवधि, मैथिली, भोजपुरी, गुरुङ, थकाली, थारू, माझीलगायत मातृभाषाका पाठ्यक्रमका साथै कक्षा १ को पाठ्यपुस्तक पनि तयार पारेको छ ।

यसैगरी पाली र भोट भाषाको पनि पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पारी पठनपाठन गराउने गरी काम भइरहेको छ । भोट भाषामा विभिन्न गुम्बामा अध्ययन अध्यापन भइरहे पनि पाली भाषामा पहिलोपटक पठनपाठन गर्ने गरी काम भइरहेको हो ।

संस्कृत पठनपाठनका लागि केन्द्रले तयार पारेको पाठ्यक्रम शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत माघ २ गते स्वीकृत गरेको थियो । पाठ्यक्रम स्वीकृत भएपछि कक्षा १ को पाठ्यपुस्तक चालू शैक्षिक वर्षदेखि नै लागू गर्ने गरी तयार पारिएको हो । संस्कृतको पुस्तक सजिलोका लागि नेपाली र अङ्ग्रेजीमा पनि पुस्तक तयार पारिएको छ ।

केन्द्रले केन्द्रीय तहबाट चार विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्ने गरेको छ । नेपाली, अङ्ग्रेजी, गणित र सेरोफेरोको पाठ्यक्रम र पाठ्यपुस्तक सङ्घीय सरकारले तयार गर्ने गरेको छ । स्थानीय तहले मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार गर्न सक्छन् । मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार नपार्ने स्थानीय तहले कक्षा १ गतेदेखि ८ सम्म संस्कृत भाषा पठनपाठन गराउन सक्छन् ।