CMAT

६१ वर्षीय रिमबहादुरको पढ्ने धोको

भनिन्छ रहरहरूको उमेर हुँदैन । नत सीमा नै हुन्छ । बस यो पुरा गर्न त समय चाहिन्छ । चाहे त्यो ढिला होस् या छिटो । त्यसलाई पुरा गर्ने इच्छा शक्ति चाहिन्छ । ढृण संकल्प चाहिन्छ । टाउकोको कपाल तिलचामल जस्तै देखिन्छ । ढाका टोपीमा सजिएर ,वरिपरि ससाना नातिनातिनाहरूले घेरिएका छन् । उनी खेल्न होइन आफ्नो पढ्ने धोको पुरा गर्न ६१ औं वसन्त पार गर्ने संघारमा पुगेका उनी अहिले दिनभर विद्यालयमा बस्छन् । कक्षामा नातिनातिना रुगालो लाग्न होइन उनी आफैं दत्तचित्त भएर पढ्न थालेका छन् ।

सानो छँदा विविध कारण उनी विद्यालय जान सकेनन् । पढ्ने रहर धेरै थियो । तर उनको रहर पारिवारिक बाध्यताका कारण रहरमा नै सीमित भयो । सानैमा घर परिवारको जिम्मेबारी सम्हाल्नु पर्यो । पढ्न पाएनन् । त्यही अधुरो तृष्णा मेटाउने लक्ष्यका साथ दाङको बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का विद्यालय पुगेका छन् ।

उनी अहिले कक्षा ५ मा अध्ययन गर्दै छन् । कक्षा कहिल्यै छुटाउँदैनन् । हरेक पाठ सरले पढाउँदा दत्तचित्त भएर सुन्छन् । सरले दिएको कक्षा कार्य, गृहकार्य समयमा नै सक्छन् ।

‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो’ उनले भने, ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।’

 पारिवारको आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउछन् । ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन”, आफ्नो विगत सम्झँदै भने ।

रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भएका हुन् । उनले बिहान र बेलुकाको समयमा घरको काम गरेर दिउँसो विद्यालय जाने गरेका छन् । ‘घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु’ उनले भने, ‘दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु ।’

आर्थिक अवस्था कमजोर भएकै कारण उनले जीवनको उर्वर समय भारतका गल्ली र छिडीहरूमा बिताए । कति ठाउँमा सहजै पारिश्रमिक पाए कतै ठगिए । चल्नै गाह्रो भएपछि उनले भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिके । नाम त लेख्न सक्ने भए तर त्यो भन्दा राम्रो प्रगति गर्न सकेनन् ।

राससका अनुसार रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । ‘उमेरले पढ्न छेक्दो रहेनछ’ उनले भने, ‘त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।’

रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन् । आफू लेख्न पढ्न नसके पनि श्रीमानको पढ्ने इच्छामा आफ्नो खुसी खोज्दै श्रीमानलाई सहयोग गर्ने उनी बताउँछिन् । ‘सबैका सबै रहर कहाँ पुरा हुन्छन् र ! पढ्ने रहर त मेरो पनि छ नि तर घर व्यवहार हेर्नु पर्यो’ उनी भनिछन्, ‘उहाँको पढ्ने इच्छा पहिल्यैदेखिको हो, त्यसैले दिउँसोको घरको सबैमा म आफैँ गर्छु, उहाँलाई स्वतन्त्र पढ्न छाडिदिन्छु ।’

रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैले अनौठो मानेका थिए । ‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ’, उनले भने ।

शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्रीले बताए । अहिले विस्तारै सबै बानी परेका छन् । ‘रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो’, प्रधानाध्यापक खत्रीले भने, ‘अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।’

I Tech store