शिवपञ्चायन माविमा रु एक लाखको अक्षयकोष स्थापना

दमौली, ३ भदौ (रासस): तनहुँको व्यास नगरपालिका–३ देउराली नगरस्थित शिवपञ्चायन माविमा रु एक लाखको अक्षयकोष स्थापना भएको छ ।

सोही ठाउँका कृष्णकुमार श्रेष्ठले आफ्ना बाबु स्व रेशमलाल श्रेष्ठ र आमा स्व विष्णुमाया श्रेष्ठको स्मृतिमा रु एक लाख एक हजार एक सय एघारको अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यबमोजिम अक्षयकोष स्थापना गरिएको श्रेष्ठले जानकारी दिनुभयो । “विद्यालयमा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न बालबालिकाको शिक्षाका लागि केही गरौँ भन्ने भावनासहित बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गरेको हुँ”, श्रेष्ठले भन्नुभयो, “मेरो सानो सहयोगले बालबालिकाको भविष्य निर्माणका लागि सहयोग पुग्ने विश्वास गरेको छु ।”

बाबुआमाको स्मृतिमा फरक–फरक कार्यक्रम गर्ने गरिए पनि शिक्षामा लगानी गर्नुजस्तो पुण्य काम अरू नभएको श्रेष्ठले बताउनुभयो । दाताले स्थापना गरेको अक्षयकोषबाट गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक सरिता पौडेलले जानकारी दिनुभयो । विद्यालयमा हाल २६० छात्रछात्रा अध्ययनरत छन् ।

प्रधानाध्यापक पौडेलका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न दाताले सहयोग गरिरहेका छन् । विद्यालयमा हालै मात्र माध्यमिक तहको पढाइ सञ्चालन भएको थियो । विद्यालयले गत असार १४ गते सरोकारवालासँग विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि छलफल गरेको थियो ।

उक्त छलफलपश्चात् विभिन्न सरोकारवालाले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । माध्यमिक तह सञ्चालन समितिका संयोजक विष्णुभक्त न्यौपानेका अनुसार यस अवधिमा रु १३ लाख ९९ हजार १९३ सहयोग प्राप्त भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर विकले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि स्थानीयवासी, अभिभावक एवं सरोकारवालाहरुको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal