After SEE Portal

‘शिक्षामा रहेको असमानता हटाउन आवश्यक’ : नेता रामचन्द्र पौडेल

Bridge Course

दमौली, १० फागुन (रासस) : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षामा रहेको असमानता हटाउन आवश्यक रहेकामा जोड दिनुभएको छ । 

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको आज उद्घाटन गर्दै उहाँले सामुदायिक र निजी विद्यालयको शिक्षाको स्तर फरक रहेकाले विभेद र असमानता हटाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा शिक्षाको स्तर राम्रो नभएको देखिएको छ, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक छ, तब मात्र शिक्षामा देखिएको असमानता अन्त्य हुनेछ ।” नेपालको संविधानमा सबै क्षेत्रमा विभेद र असमानता अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिएकाले शिक्षाको विभेद हटाउनु आजको मुख्य चुनौती रहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । 

उहाँले सामुदायिक विद्यालयको स्तर सुधार्न सबै प्रयत्नशील हुनुपर्नेमा जोड दिँदै व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो रहेको बताउनुभयो । दश वर्षसम्म विद्यालयमा अध्ययन गरेपछि बालबालिकाले केही न केही सिकेर विद्यालयबाट निस्कने वातावरण तयार गर्नुपर्ने उहाँको भनाइ छ । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा विद्यालयका जग्गादाता व्यास–१२ का बालकुमारी पन्त, भोजराज अधिकारी लगायतलाई वरिष्ठ नेता पौडेलले सम्मान गर्नुभएको थियो । 

साथै विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार २० विद्यार्थीलाई समेत जनही रु पाँच÷पाँच सयको दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । विसं २०२६ मा स्थापना भएको विद्यालयमा हाल २५७ छात्रछात्रा अध्ययनरत् छन् ।

A Levels MA