रिलायन्स इन्टरनेसनल एकेडेमीको शिक्षणको काइदा

व्यवस्थापनमा सरोकारवालाको प्रत्यक्ष सहभागिता रह्यो भने विद्यालय अब्बल हुन्छ भन्ने उदाहरण बनेको छ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी  । ‘शिक्षक, अभिभावक तथा व्यवस्थापनले सञ्चालन गरेको दुरदर्शी योजनाका कारण विद्यालल राम्रो नतिजा हासिल गर्न सफल भएको हो,’ प्रिन्सिपल खेमलाल भुषालले भने, ‘विद्यार्थीको रूची र क्षमता पहिचान गरी त्यही अनुसार समूह विभाजन गरेर शिक्षण गर्छौं । सिकाइलाइ विभिन्न मूलकसंग आदनप्रदान गर्छौं ।’

२०५० सालमा स्थापित यो विद्यालयको शिक्षण पद्धति ब्रिटिश शिक्षण शैलीबाट प्रभावित छ । विद्यालयले नेपाल–बेलायत सिकाइ आदानप्रदान, नेपाल–बंगालादेश आदनप्रदान, नेपाल–भारत सिकाइ आदान प्रदान गर्दै आएको छ । ब्रिटिश काउन्सिलले आईएसए अवार्ड सन् २०१५ मा प्रदान गरेपछि विद्यालयले सिकाइ आदानप्रदान गर्न थालेको हो । नेपाल र विदेशका अन्य साझेदार विद्यालयले स्काइपबाट प्रत्यक्ष कुराकानी तथा सिकाइ आदानप्रदान गर्ने गरेका छन् । ‘हाम्रा विद्यालयका प्रतिनिधि शिक्षक तथा १२ जना विद्यार्थीले बेलायत, भारत, श्रीलंका, बंगालादेशका विभिन्न विद्यालयमा गई त्यहाँको कक्षा अवलोकन गर्ने गरेका छन्,’ प्रिन्सिपल भुषालले भने, ‘हाम्रा विद्यार्थीले नेपाली सांस्कृतिक विशेषतायुक्त नृत्य र झाकी प्रदर्शन गरी संस्कृतिको जानकारी दिने गरेका छन् ।’

कनेक्टिङ क्लासरूम परियोजनामार्फत विदालयले विश्वव्यापी ज्ञान, सिप आदानप्रदान गर्ने गरेको छ । यो कार्यक्रममार्फत बेलायत, नेपाल, बंगालादेशलगायतका मुलुकका शिक्षक तथा विद्यालय नेतृत्वको पेसागत विकास तथा सिकाइ आदानप्रदान गर्ने गरिएको शिक्षक धनराज कार्कीले बताए । ‘स्काइपमार्फत श्रीलंकाका विद्यार्थीले नेपालको राष्ट्रिय गान संगीतवद्ध गरी प्रत्यक्ष सुनाउने गरेका छन् । हाम्रा विद्यार्थीले श्रीलंकाको राष्ट्रिय गान सुनाउने गरेका छन् ।’

नेपाली पाठ्यक्रममा समावेश भएका मूलभूत विशेषतालाई एकीकृत गरी विभिन्न परियोजनाबाट विद्यार्थीलाई सिकाउने गरिएको छ । यो विद्यालयले गत साल आफै २० पूर्णांकको पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । ‘हामीले विद्यालय परिसरमै तोरी÷रायोको साग उत्पादन गरी गुन्द्रूक बनाउन सिकायौं,’ शिक्षक धनराज बस्नेत भन्छन्, ‘सरस्वती पूजाको दिन विद्यार्थीले गुन्द्रुक प्रदर्शनी गरे । प्रदर्शनीबाट कमाएको तीन हजार रकमबाट गरिब विद्यार्थीको सहयोगका लागि उनीहरूले फन्ड खोलेका छन् ।’

शिक्षक प्रतिनिधिले बेलायतका १३ विद्यालयको वार्षिक भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । शिक्षक बसन्तलाल लामिछानेका अनुसार भ्रमणमा त्यहाँको कक्षाकोठाको व्यवस्थापन, पाठ्यक्रम, शिक्षण विधिको तुलनात्मक अध्ययन गरिन्छ । नीतिगत विषयमा जानकारी लिइन्छ ।

विद्यालयले ब्रिटिश काउन्सिलले प्रदान गर्ने तालिममा प्रतिनिधि शिक्षकलाई पठाउने गरेको छ । ‘तालिम प्राप्त सिप शिक्षकले अन्य शिक्षकसंग सेयर गर्ने चलन छ,’ भुषालले भने, ‘कक्षामा तालिममा सिकेको सिप प्रयोग भएनभएको अवलोकन गर्छौं । कक्षाकोठामा प्रयोग नभए शिक्षक मिटिङमा छलफल गरेर पुनः कार्यान्वयन गर्ने पहल गर्छौं।’

विद्यालयले हरेक शैक्षिक सत्रको सुरूमा विषय विज्ञ तथा अनुभवी दक्ष शिक्षकहरूबाट सबै तहका शिक्षकलाई तालिम प्रदान गर्ने गरेको छ । विद्यालयले केही विषयमा सैद्धान्तिक शिक्षा प्रदान गर्ने गरेको भए पनि अधिकांश विषय परियोजनामार्फत गर्ने गरेको छ । सामाजिक विषयको शिक्षणका लागि स्थानीय मन्दीर, गुम्बा, चैत्य विहार तथा ऐतिहासिक तथा पूरातात्विक महत्वका विषयमा क्षेत्र भ्रमण विधि अपनाउने गरेको छ । स्थलगत अध्ययनका क्रममा विद्यार्थीले तयार पारेका उत्कृष्ट प्रतिवेदनलाई एसेम्बलीमा प्रस्तुत गर्ने गरिएको छ । ‘सामाजिक मूल्य मान्यता, धर्मसंस्कार र पूरातात्विक महत्वको जानकारी दिन सम्भव भएसम्म सम्बन्धित ठाउँमा लगेर नै बताउने गरेका छौं,’ उनले भने, ‘तल्लो कक्षाका बालबालिकालाई ज्यामितीय धारणा बसाउन कागजको त्रिभुज बनाउन लगाउँछौं, बेलनाको जानकारी दिन ग्यास सिलिण्डर प्रयोग गर्छौ । तल्लो तहका विद्यार्थीलाई प्रत्यक्ष वस्तुका माध्यमबाट खेल्दै सिकाउँदै आएका छौं ।’

विद्यालयले विद्यार्थीलाई अनलाइनबाट थप जानकारी हासिल गर्न प्रोत्साहित गर्ने गरेको छ । विदेशका कक्षाकोठा अवलोकन गरी आएका शिक्षकले विद्यालयका सबै शिक्षकलाई अनुभव सुनाउने गर्छन् र सोही विधि लागू गर्न प्रेरित गरिन्छ । गतवर्ष प्रिन्सिपल भुषाल र शिक्षक लामिछानेले युकेको साउथ मोडेल कलेज र पिजन प्राइमरी स्कुल सहित १० विद्यालयका कक्षाकोठाको अवलाकन गरेका थिए ।

शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रममा गत वर्ष मात्र भारतको दिल्ली पब्लिक स्कुर्ल र रिलायन्सका १२–१२ जना विद्यार्थीलाई सहभागी गराइएको थियो । यो वर्ष शिक्षक विद्यार्थीको टोली युकेको ग्रिमरी प्राइमरी स्कुल जाने तयारीमा छ । उताका विद्यार्थी पनि यता आउनेछन् ।

रिलायन्सले सामुदायिक विद्यालयसँग पनि सहकार्य गर्दै आएको छ । धुलिखेलको पूर्ण संञ्जिवनी लंखनामाइ माविसँग गणितलाई कसरी सजिलो र रोचक तरिकाले सिकाउने भन्ने विषयमा सिकाइ आदानप्रदान गरेको छ । चितवनको अर्को विद्यालयसँय गणित, अंग्रेजी र विज्ञान सिकाइ आदान प्रदान गरिएको प्रिन्सिपल भुषलले जानकारी दिए ।

बुढानिलकण्ठकै यज्ञमति माविसँग अंग्रेजी विषयलाई कसरी व्यवहारिक विषयका रूपमा सिक्ने भन्ने विषयमा सिकाइ आदान प्रदानगर्ने गरिएको छ । विद्यार्थीको सामाजिकीकरणमा सहज होस भनेर मन्दिर परिसरमा सरसफाइ तथा डटिस्बन व्यवस्था गर्ने गरेको छ । विद्यार्थीले धुलिखेलका वृद्धाश्रम तथा अनाथ आश्रममा पुगि अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउने गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा १३ सय ८ जना विद्यार्थी अध्ययनरतछन् । हरेक विद्यार्थीको जन्मदिनमा वृक्षारोपण गर्ने पद्धति बसाइएको छ । मठमन्दिर परिसरमा रोपिएका विरूवालाई सोही विद्यार्थीले गोडमेल तथा मलजल गर्ने गरेका छन् ।

विद्यालयमा जंक फुड निषेध गरिएको छ । अधिकांश विद्यार्थीले विद्यालयमै खाजा खाने गरेका छन् । घरबाट खाजा ल्याउनेसग मकै, भटमास तथा रोटी हुन्छ ।

विद्यालयले स्थानीय तहले गरेको सिफारिसका आधारमा १ सय ९३ जना विद्यार्थीलाई पूर्ण, अर्ध तथा आंशिक छात्रवृत्रि प्रदान गरेको छ । जनआन्दोलनका घाइते परिवारका एक जना र शहीद परिवारका दुइ जनालाई निशुल्क पढाउँदै आएको छ ।

ब्रिटिश काउन्सिलले प्रदान गर्ने आईएसए अवार्डले विद्यालयलाई विभिन्न मुलुकसग सिकाइ आदानप्रदान गर्न सहज भएको प्रिन्सिपल भुषाल बताउँछन् । रिलायन्सले सन् २०१५ र २०१९ मा यो अवार्ड पाएको छ ।

भिस्टार प्रेजेक्टमार्फत हरेक विद्यार्थीलाई अनुसासनमा बस्न सिकाउने गरिएको छ । यो प्राजेक्टअन्तर्गत विद्यार्थीलाई आफूभन्दा ठुलालाई सम्मान र सानालाई माया गर्न सिकाइन्छ । मेडिटेशन पनि सिकाउने गरिएको छ । हरेक विद्यार्थीका अभिभावकलाई भिस्टार फर्म भर्न लगाइ विद्यार्थीका दैनिक गतिविधि अध्ययन अवलोकन गर्ने गरेको विद्यालयले जनाएको छ । हरेक दिन विद्यार्थी विदालयमा प्रवेश गर्दा शिक्षक आफैले हात जोडेर स्वागत गर्ने गर्छन् ।

विद्यालयले त्रैमासिक रूपमा शिक्षक घरदैलो कार्यक्रम गर्ने गरेको छ । फरक क्षमताका विद्यार्थी तथा अन्य केही विद्यार्थी छनोट गरी उनीहरूका दैनिक गतिविधि बुभ्ने गरिन्छ । कक्षा ३ देखि ७ सम्म अध्ययन गर्ने सबै विद्यार्थीले दैनिक एक रूपियाँ दान गर्छन् । प्रिन्सिपल भुषालले भने, ‘विद्यार्थीबाट संकलन गरिएको दानबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गर्ने गरेका छौं । गतवर्ष महेश संस्कृत गुरूकुलम् तनहुँलाई कम्प्युटर तथा शैक्षिक सामग्री वितरण ग¥यौं,’

विद्यालयले हरेक विद्यार्थीको रूचिलाई ख्याल गर्दै स्पिकर क्लब गठन गरेको छ । क्लबमा आवद्ध भएका विद्यार्थीलाई आवश्यकताका आधारमा विभिन्न विषय शीर्षक दिएर भाषण गर्न लगाउने गरिएको छ ।

विद्यालयमा सुविधा सम्पन्न दुई कम्प्युटर ल्याब छन् । हरेक कक्षाकोठा प्रविधि मैत्री छन् भने विद्यार्थीका हरेक गतिविधि प्रिन्सिपलले आफ्नै कार्यकक्षबाट अवलोकन गर्ने गरी सिसि क्यामेरा व्यवस्था गरिएको छ ।

रिलायन्स खेलकुदमा पनि उतिकै अब्बल छन् । नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निरन्तर ३ वर्ष जितिसकेको छ । तेक्वान्दोको मार्सल आटमा उत्कृष्टता हासिल गरेकै कारण गत वर्ष दुई पटक यहाँका विद्यार्थी डेमो प्रदर्शनका लागि कोरिया गएका थिए ।

उत्तम कक्षा व्यवस्थापन, विषयगत शिक्षक तालिम र अन्तर्राष्ट्रिय विद्यालयको सिकाइ अभ्यास अनुसरण गरेर रिलायन्स  देशकै उत्कृष्ट निजी विद्यालय बन्न सफल भएको छ । यो विद्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा संस्थागत विद्यालयतर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पुरस्कृत बनेको हो । मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा रिलायन्सलाई पुरस्कृत गरेको छ ।

यो विद्यालयबाट २०७५ को एसईईमा १ सय ७ जनाले एसईई परीक्षा दिएका थिए । तिनीहरू मध्ये ८४ जनाले ३.६–४, २२ जनाले ३.२–३.६ र एक जनाले २.८–३.२ जीपीए ल्याएका थिए । २०७४ को एसईईमा १सय १३ जना विद्यार्थी सहभागी थिए । तिनीहरूमध्ये ६१ जनाले ३.६–४, ४५ जनाले ३.२–३.६ र ७ जनाले २.८–३.२ जीपीए हासिल गरेका थिए । २०७० सालको एसएलसीमा विद्यार्थी संन्जोग बस्नेत ९४.१२ प्रतिशत ल्याई सार्वेत्कृष्ट बनेका थिए ।

Thuprai - Books and E-books