After SEE Portal

जुनियर साइन्स ओलम्पियाडको रजिष्ट्रेसन खुला

Bridge Course

नेपाल जुनियर साइन्स ओलम्पियाड २०२० को रजिष्ट्रेसन खुला भएको छ । नेपालमा विद्यार्थीको वैज्ञानिक प्रतिभाको खोजी गर्न स्टिम फाउन्डेसन नेपाल र विज्ञान शिक्षक समाज नेपाल - स्टानको आयोजना तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा जुनियर साइन्स ओलम्पियाडको आयोजन गर्न लागिएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर रजिष्ट्रेसन खुला गरिएको हाे । www.stemnepal.org मा गएर रजिष्ट्रेसन गर्न सकिने आयाेजकले बताएका छन् । पत्रकार सम्मेलन स्टान केन्द्रीय अध्यक्ष खिलकुमार प्रधानको अध्यक्षतामा भएको हो भने सो अवसरमा शैक्षिक क्षेत्रको ओलम्पिक नै मानिने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता ओलम्पियाडको जानकारी आयोजकले गराएका छन् ।

‘यो प्रतिभावान वैज्ञानिक विद्यार्थीको खोजी प्रतियोगिता हो,’ स्टिम फाउन्डेसन नेपालका अध्यक्ष सर्जन बिसीले भने,  "१६ वर्ष ननाघेका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।’ प्रतियोगिताका लागि ५ चरणमा विद्यार्थी छनोट गरिने उनले बताए । उनका अनुसार अन्तिममा छानिएकालाई बन्द प्रशिक्षणमा राखिनेछ ।  नेपालबाट छनोट भएका ६ विद्यार्थी सन् २०२१ मा हुने अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाडमा ३ लिडर शिक्षक सहित सहभागिता जनाउनेछन् ।

विगत वर्ष पहिलो पटकको अन्तर्राष्ट्रिय प्रयासमानै कास्य पदक जितेका निर्मल गौतमले आयोजित पत्रकार सम्मेलनमा आफ्नो अनुभव सुनाउँदै प्रशिक्षण पाए आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले स्वर्ण जित्ने आयोजकको अपेक्षा पूरा हुन सक्ने बताए ।

"अन्य देशले यस्ता प्रतियोगिता गर्न राज्य स्तरबाटै संयन्त्र निर्माण गर्छन् । अधिकतम सुविधाका साथ विद्यार्थी र शिक्षकहरूलाई प्रशिक्षण दिन्छन् ।" स्टान केन्द्रीय सचिव मनोज आचार्यले दृष्टान्त दिंदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसतर्फ समयमानै कदम चाले अन्तरराष्ट्रीय स्तरमा नेपालको वर्चश्व रहने बताएका छन् ।

प्रतियोगितामा सहभागी हुनका लागि रजिष्ट्रेसन शुल्क ५ सय रुपैयाँ लाग्ने र रजिष्ट्रेसन गरेका विद्यार्थीहरूलाई ओलम्पियाडको आधारभूत तालिम समेत दिई प्रथम चरणको परीक्षामा सहभागी गराउने आयाेजकले जानकारी दिएका छन् ।

‘विद्यार्थीका लागि यो राम्रो अवसर हो,’ स्टान सूचना विभाग प्रमुख डम्बरू प्रसाद पोखरेलले भने, ‘देशभरबाट ५ हजार विद्यार्थीले सहभागिता जनाउने अपेक्षा छ । विद्यार्थीहरूलाई सहभागिता जनाउन आग्रह गर्दछौँ ।’

स्टिम फाउन्डेसन नेपाल र विज्ञान शिक्षक समाज नेपाल - स्टानले शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् ।

A Levels MA