खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सम्पूर्ण तयारी गरिसकेको छ । सहरी क्षेत्रमा जस्तो ग्रामीण भेगमा अनलाइन कक्षा प्रभावकारी नभएपछि टोलशिक्षालाई गाउँपालिकाले प्राथमिकतामा राखेको हो ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाले निर्णय गरेको उपाध्यक्ष सपना राईले बताइन् ।
शिक्षण सिकाइलाई नियमित बनाउन शहरी क्षेत्रमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी नदेखिएकाले आफ्नो क्षेत्रमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । “पहाडी भूगोल रहेको हाम्रो क्षेत्रमा इन्टरनेटको पहुँच छैन”, उनले भने, “लामो समयको बन्दाबन्दीले विद्यार्थीमा पढ्ने बानी हट्दै गएकाले सामाजिक दूरी कायम गर्दै साउन ७ गतेबाट टोलटोलमा पठनपाठन शुरु गर्ने निर्णय गरिएको हो ।”
साउन ७ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय गरिएसँगै बन्दाबन्दीको कारण आ–आफ्नो घरमा रोकिएर रहेका शिक्षकलाई साउन ३ गतेभित्र अनिवार्यरूपमा गाउँपालिकामा उपस्थित हुन पत्राचारसमेत गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । “बाहिरी जिल्लाका शिक्षकलाई गाउँपालिकामा झिकाएर अनिवार्यरूपमा आरडिटी गरिनेछ”, उनले भने, “आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएका शिक्षकलाई मात्र टोलटोलमा परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको छ ।”
गाउँपालिकाभित्रै रहेका शिक्षकको भने आरडिटीसमेत परीक्षण नगरिने गाउँपालिकाले जनाएको छ । साउन ४ गते सबै शिक्षक आफू कार्यरत विद्यालयमा उपस्थित भई आ–आफ्नो विषयको कार्यतालिका बनाउनुका साथै साउन ७ गतेबाट टोलटोलमा पुगेर पठनपाठन शुरु गर्ने शिक्षा शाखा दिप्रुङ चुइचुम्माले जानकारी दियो ।
टोलटोलमा पुगेका शिक्षकले विद्यार्थीलाई गृहकार्य गर्न लगाउने, नजानेका कुरामा सहजीकरण गर्ने, आन्तरिक मूल्याङ्कन अद्यावधिक लगायतका क्रियाकलाप गर्ने महेन्द्रोद्धय माविका प्रधानाध्यापक केशवकुमार खड्काले बताए । “विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर पुगेको छ”, उनले भने, “शिक्षक र विद्यार्थीको सम्पर्कका माध्यमबाट विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै नियमित पठनपाठन सञ्चालन गर्न टोलटोलमा जाने निर्णय गरिएको हो ।”
गाउँपालिकाभित्र सञ्चालित ४८ वटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टोलटोलमा भेला गरेर शिक्षक सिकाइका साथै विभिन्न क्रियाकलापमा सहभागी गराएर पढ्ने बानीको विकास गरिने अध्यक्ष राईले बताए ।
टोलटोलमा परिचालन हुने शिक्षकले अनिवार्यरूपमा मास्क, ग्लोब्स र स्यानिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । विद्यार्थीको गाउँटोलमै सञ्चालन हुने शैक्षिक क्रियाकलापका लागि २५० जना शिक्षक परिचालन गरिने अध्यक्ष राईले बताए ।
बन्दाबन्दीको समयमा सञ्चालन गरिने रेडियो र टेलिभिजनको पढाइ भन्दा शिक्षक आफैँ टोलटोलमा पुगेर गरिने पठनपाठन उपयुक्त हुने गाउँपालिकाको ठहर छ । गाउँपालिकाले शुरु गरेको अभियानमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।