After SEE Portal

प्रश्नपत्र नछपाउँदा कम्तीमा दुई करोड बचत

Bridge Course

वार्षिक परीक्षाका लागि प्रश्नपत्र छपाइमा अब ठुलो धनराशी खर्च गरिरहनु नपर्ने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले यस पटक कक्षा १२ को प्रश्नपत्र छपाइमा कम्तीमा दुई करोड रुपियाँ बचत गरेको छ । बोर्डले आफ्नै भवनमा सामान्य छपाइ उपकरणबाट थोरै सङ्ख्यामा प्रश्नपत्र छपाइ गरेको छ । यसबाट तामझाम र लाखौँ रुपियाँ खर्च गरी प्रश्नपत्र छाप्नुपर्दछ भन्ने मान्यता भत्किएको छ भने सूचना प्रविधिको प्रयोगबाट परीक्षा सहजै सञ्चालन गर्न सकिन्छ भन्ने मान्यता स्थापित हुन पुगेको छ ।

बोर्डले ईमेलबाट प्रश्नपत्र पठाउने र सम्बन्धित विद्यालयले परीक्षा सुरु हुनु केही समयअघि छपाइ गरी वितरण गर्ने नीति अगाडि सारेपछि त्यस्तो गर्न नसक्ने परीक्षा केन्द्रका बारेमा जानकारी माग गरेको थियो । जिल्लास्थित परीक्षा समन्वय समितिले करिब एक हजार दुई सय परीक्षा केन्द्रले विद्युत, छपाइ साधन लगायतका कारण आफैले प्रश्नपत्र छपाइ गर्न नसक्ने जनाउ दिएका थिए । 

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले भने, “तीमध्येबाट छनोट गर्यौँ । ११४ परीक्षा केन्द्रलाई मात्र प्रश्नपत्र छपाएर पठायौँ । बाँकीलाई अब इमेलबाटै प्रश्नपत्र जानेछ ।”

कोभिड–१९ का कारण गत वर्षबाट कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने नियम कार्यान्वयनमा ल्याइयो । गत वर्ष कक्षा १२ का लागि प्रश्नपत्र छपाइ गरिए पनि परीक्षा सुरु हुनु केही दिनअघिमात्र परीक्षा स्थगित गर्नुपरेको थियो । पछि पूर्णाङ्क घटाइएको थियो । नयाँ पूर्णाङ्कअनुसारको प्रश्नपत्र केही परीक्षा केन्द्रमा पठाइएको थियो भने बाँकीमा इमेलबाट नै पठाइएको थियो । गत वर्ष करिब साढे चार सय परीक्षा केन्द्रलाई प्रश्नपत्र छपाइ गरी पठाइएको थियो । प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालयमा छपाउने गरिन्थ्यो ।

उनका अनुसार रामेछाप, डडेल्धुरा, सोलुखुम्बु लगायतका केही जिल्लाका परीक्षा केन्द्रमा प्रश्नपत्र शुक्रबार पठाइसकिएको छ । “कर्णालीका कुनै पनि जिल्लामा छपाइ गरेर प्रश्नपत्र पठाउनु परेन । कर्णालीका हरेक परीक्षा केन्द्रले इमेलबाट पठाइएका प्रश्नपत्रलाई आफै छपाइ गरी वितरण गर्न सक्छौँ भनेका छन्” उनले भने ।

रापबोर्डको परीक्षा नियन्त्रण कार्यालयमा रहेको सामान्य छपाइ साधन प्रयोग गरिएको थियो र त्यसले प्रतिमिनेट ४० वटा प्रश्नपत्र छपाइ गरेको छ । कक्षा १२ मा देशभरिका लागि परीक्षा केन्द्र चार हजार ३१० परीक्षा केन्द्र कायम गरिएको छ । इमेलबाट गएको प्रश्नपत्र छपाइ तथा परीक्षा व्यवस्थापनका लागि परीक्षा केन्द्रले बोर्डबाट रकम पाउने गर्छन् । 

परीक्षा नियन्त्रक शर्माले आगामी वर्ष कुनै पनि परीक्षा केन्द्रलाई प्रश्नपत्र छपाइ गरी पठाउन नपर्ने गरी अवस्था सिर्जना गर्न सकिने बताउँदै भने, “परीक्षाका लागि लाखौँ रुपियाँ खर्च गरेर प्रश्नपत्र छपाउनु आवश्यक छैन भन्ने प्रमाणित गर्न सफल भएका छौँ । यो नेपालका लागि राम्रो उदाहरण बन्न पुगेको छ ।”

दुर्गम र टाढाका परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुगिसकेको छ । परीक्षा सञ्चालन हुन अझै दुई साता बाँकी रहेकाले बाँकीमा त्यसअघि नै उत्तरपुस्तिका पुगिसक्नेछ । रापबोर्डले परीक्षा स्थगन नहुने स्पष्ट पारिसकेको छ ।   

A Levels MA
Thuprai - Books and E-books