After SEE Portal

जनमैत्री बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणपत्र

Bridge Course

जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन) भनिने उक्त प्रमाणपत्रले क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरेको छ । 

काठमाडौं उपत्यकामा क्यूएए प्रमाणपत्र पाउने पहिलो उच्च शैक्षिक संस्थाहरुमध्ये जनमैत्री एक हो । यसरी शैक्षिक क्षेत्रमा एक विशिष्ट तथा नेतृत्वदायी संस्थाको रुपमा आफूलाई विकास गर्न सकेकोमा क्याम्पसले गौरव महसुस गरेको छ र क्यूएए प्रक्रियामा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक, शिक्षक, युजीसी, पियर रिभ्यु टीम, क्याम्पस सञ्चालक समिति, क्याम्पस सभा सदस्य, त्रिभुवन विश्वविद्यालयलगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। 

Janamaitri Multiple Campus

२०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिंदै आएको छ । क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययनअध्यापन तथा मूल्यांकन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाई स्रोत, भौतिक सुविधा तथा पाठ्यसामग्री, विद्यार्थी मागनिर्देशन, सूचनाप्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको छ । विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले २०७३ सालमा जनमैत्री बहुमुखी क्याम्पसको प्रिभिजिट गरेर सुधार गर्नुपर्ने केही कामहरु औंल्याएको थियो । तीमध्ये भवन तथा अन्य पूर्वाधार निर्माणको कार्य प्रमुख थियो । २०७२ सालको विनाशकारी भुकम्पमा आफ्ना सबै भवन र कक्षाकोठा गुमाएकाले क्याम्पसका लागि पूर्वाधार निर्माण गर्नु चुनौतिपूर्ण थियो । जसले क्यूएए पाउने सपनालाई केही वर्ष पछि धकेलेको थियो । तर, निरन्तर प्रयासले क्याम्पसले आवश्यक लगभग सबै पूर्वाधारहरु निर्माण सम्पन्न गरेको छ । पूर्वाधार निर्माणमा क्याम्पसका अध्यापक तथा कर्मचारीहरुको अतुलनीय योगदान रहेको यहाँ म स्मरण गर्न चाहन्छु । 

आवश्यक पूर्वाधार निर्माण कार्यले गति लिएपछि २०७५ मंसिरमा प्रा.डा. प्रेमराज पन्त नेतृत्वको युजीसीको अनौपचारिक निरीक्षण कमिटिले क्याम्पसको स्थलगत अनुगमन गरेको थियो । युजीसीका प्रतिनिधिसमेत सम्मिलित सो कमिटिले दिएको सुझावका आधारमा क्याम्पसले पूर्वाधार निर्माण सम्पन्न गरेको छ । 

क्यूएए प्राप्त गरेपछि जनमैत्री बहुमुखी क्याम्पसलाई जिम्मेवारी र चुनौति दुवै थपिएको छ । अबको हाम्रो मुख्य कार्य भनेको क्याम्पसको शैक्षिक गुणस्तरमा अझ वृद्धि गर्नु हो । विद्यार्थीहरुको आवधिक मूल्यांकन, अनुसन्धानमा आधारित पठनपाठन र बजारको मागअनुसारको विषय थप गरी रोजगारीमूलक शिक्षामा जोड दिंदै स्वायत्त शैक्षिक संस्थाको रुपमा क्याम्पसलाई स्थापित गर्नु हाम्रो  प्रमुख लक्ष्य हो । 

नियमित कक्षाका अतिरिक्त आन्तरिक परीक्षा, विशेष कक्षा, सीपमूलक तालीम, कार्यशाला, स्थलगत भ्रमण, प्रयोगशाला कक्षा आदिको माध्यमबाट विद्यार्थीको क्षमता विकास गर्ने क्याम्पसको प्रयत्न रहँदै आएको छ । 

क्यूएए के हो? 

क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन – गुणस्तर सुनिश्चितता एवम् प्रमाणिकरण) एउटा प्रक्रिया हो जहाँ कुनै आधिकारिक निकायले क्याम्पसलगायत उच्च शिक्षामा संलग्न संस्थाहरुको विभिन्न मापदण्डहरुमा गुणस्तर मापन गर्दछ । ती मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दछ । यो भनेको शैक्षिक गुणस्तरमा वृद्धि गरी अध्ययन अध्यापन कार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने प्रक्रिया हो । अर्थात् क्यूएए प्राप्त क्याम्पसहरुमा गुणस्तरीय पढाइ हुन्छ भन्ने कुराको प्रमाणीकरण हो । नेपालमाा उच्च शैक्षिक संस्थाहरुलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ । 

क्याम्पस परिचय

वि. सं. २०४७ मा प्राज्ञिक व्यक्ति तथा समाजसेवीहरुले स्थापना गरेको जनमैत्री बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सामुदायिक शैक्षिक संस्था हो । उचित मूल्यमा गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित यो क्याम्पसले व्यवस्थापन, मानविकी तथा शिक्षा संकायका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सोसल वर्क, मासकम्युनिकेशन, साइकोलोजी, व्यवस्थापन, कम्प्युटर एप्लिकेशन, आइसीटी र बीबीएमजस्ता विषयहरु समावेश छन् । क्याम्पसमा हाल ६३ जिल्लाका करीब १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

A Levels MA