पूर्वाञ्चल विश्वविद्यालयले १ अर्ब ९९ करोड बजेट विनियोजन, एआई र चिकित्सा शिक्षामा प्राथमिकता

पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको वार्षिक बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सिनेट बैठकले आय–व्यय विवरणसहित रजिस्ट्रार प्रा. डा. पन्ना बहादुर थापाले प्रस्तुत गर्नुभएको रणनीतिक नीति तथा कार्यक्रम स्वीकृत गरेको हो।

आगामी आर्थिक वर्षका लागि विश्वविद्यालयले शैक्षिक रूपान्तरण, आधुनिक प्रविधियुक्त पूर्वाधार विकास तथा चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको छ। दीर्घकालीन गुरुयोजनाअनुसार गोठगाउँस्थित विश्वविद्यालयको ८०५ बिघा जग्गामा एकीकृत भौतिक पूर्वाधार विकास गरिने भएको छ। विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक प्रक्रियालाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गरी सेवा प्रवाहलाई पारदर्शी, सहज र आधुनिक बनाउने नीति पनि अघि सारिएको छ।

शैक्षिकतर्फ उच्च माग भएका तथा प्रविधिमा आधारित कृत्रिम बौद्धिकता (AI), डेटा साइन्स र साइबर सुरक्षा लगायतका विषयमा विशेष पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गर्ने योजना विश्वविद्यालयले अघि सारेको छ। साथै, चिकित्सा र इन्जिनियरिङतर्फका विशेषीकृत कार्यक्रमलाई समेत अद्यावधिक गरिने भएको छ।

स्वास्थ्य क्षेत्रतर्फ गोठगाउँस्थित विश्वविद्यालय परिसरमा निर्माणाधीन १०० शय्याको मातृ तथा बाल स्वास्थ्य अस्पतालको निर्माण सम्पन्न गर्ने तथा क्लिनिकल शिक्षालाई सुदृढ बनाउन कोशी अस्पतालसँग सहकार्य गर्ने योजना रहेको छ। त्यस्तै, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र सीमान्तकृत विद्यार्थीका लागि समावेशी छात्रवृत्तिको विस्तार गर्ने कार्यक्रम पनि अघि सारिएको छ।

बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले उच्च शिक्षाका संस्थाहरूले तीव्र गतिमा भइरहेको प्रविधिको विकास तथा विश्व श्रम बजारको मागअनुसार आफूलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो। विश्वविद्यालयहरूले रोजगारी खोज्ने जनशक्ति मात्र उत्पादन नगरी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्ति उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट समयसीमा, कार्यढाँचा र जिम्मेवारी तोक्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिनुभयो।

शिक्षा सचिव चूडामणि पौडेल र अर्थ सचिव डा. घनश्याम उपाध्यायले पनि शैक्षिक प्रणालीमा गुणात्मक सुधार ल्याउन बजेटको अनुशासित र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभयो।

बैठकमा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू तथा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले विश्वविद्यालयको कार्यकारी परिषद्का लागि तीन सदस्यलाई तीन वर्षका लागि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा चिकित्सा विज्ञान संकायका डिन प्रा. डा. परिचा उपाध्याय ढुंगेल, कला, कानुन तथा शिक्षा संकायका डिन प्रा. डा. कृष्णप्रसाद पाण्डे र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्रा. मोहनबहादुर बस्नेत रहेका छन्।

यी निर्णयमार्फत पूर्वाञ्चल विश्वविद्यालयले आफूलाई प्रतिस्पर्धी, अनुसन्धानमुखी तथा आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा थप सुदृढ गर्ने लक्ष्य लिएको छ।

Degrees offered in nepal
Counseling