
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविले) अध्ययन बिदा लिएर सेवामा नफर्किएका तथा सेवामा फर्किए पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ साल पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
विश्वविद्यालयका अनुसार सम्बन्धित शिक्षक तथा कर्मचारीले studyleave@tu.edu.np मार्फत पनि सम्पर्क गर्न सक्नेछन् । अध्ययन बिदासम्बन्धी दायित्व पूरा नगरेका व्यक्तिहरूबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइरहेकाले त्रिविले उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार अध्ययन बिदापछि सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट हालसम्म ७५ वटा केसमा करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरिएको छ ।
त्रिविले अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधासमेत नियमानुसार गणना गरी हर्जानासहित असुलउपर गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
विश्वविद्यालयले थप केसहरूको अभिलेख खोजी तथा आवश्यक हिसाब–किताब तयार गर्ने काम पनि जारी राखेको छ । उपलब्ध विवरणअनुसार हालसम्म हिसाब–किताब तयार भएका केसमा असुल गर्नुपर्ने रकम करिब २१ करोड ५० लाख रुपैयाँ रहेको छ ।
त्रिविका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ । त्यस्ता व्यक्तिले विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम यकिन गरी असुलउपर गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
त्रिविले तोकिएको समयभित्र सम्पर्क नगर्ने शिक्षक तथा कर्मचारीविरुद्ध विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ ।




