A Levels MA

शिक्षक अस्पताल भरतपुरमा प्रस्ताव

समितिले चितवनसँगै मकवानपुरको चित्लाङ र भक्तपुरको जगती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताव गर्दैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो ।

मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा आठ बिघा, १६ कट्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी आज आवश्यक कागजपत्र मन्त्रालयमा पेस गरिँदै छ । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो ।

सहमतिपत्रमा शिक्षक अस्पताल स्थापनाका लागि महानगरपालिकाको सहमति प्रदान गर्ने निर्णय भएको जानकारी गराइएको छ । सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक ९नापी कर्मचारी०को स्थलगत नापजाँच प्रतिवेदन, वडा नम्बर १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित पेस गरिने दाहालले जानकारी दिइन् ।

भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौँ बाहिर आउँदै गर्दा भरतपुरजस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने उपप्रमुख पार्वती शाह ठकुरीले बताइन् । उनले भनिन्, “सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।”

शिक्षा मन्त्रालयले डा विमल चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो ।

समितिका सदस्य शिक्षक महासङ्घका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए । उनले भने, “अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरु राम्रो छ ।”

समितिले चितवनसँगै मकवानपुरको चित्लाङ र भक्तपुरको जगती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताव गर्दैछ । केही दिनमा प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको उनले जानकारी दिए । समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौँमा समेत जग्गा हेरेको थियो ।

समितिले जग्गा हेर्नु पूर्व पेसागत सङ्घसङ्गठनसँग छलफलसमेत गरेको दवाडीले जानकारी दिए । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले समितिले भनेको भन्दा धेरै जग्गा एकै ठाउँमा मिलेको जग्गा भरतपुर उपलब्ध गराउन सहमत भएको जानकारी दिए । सबै हिसाबले भरतपुर उपयुक्त हुने उनको ठम्याइ छ ।

शिक्षा मन्त्रालयले सुरुमा ३०० शय्या र क्रमशः शय्या थप गर्दै लैजाने योजना बनाएको छ । अस्पतालसँगै व्यवस्थित कुरुवा घर बनाइँदै छ ।

Thuprai - Books and E-books