After SEE Portal

प्राविधिक जनशक्तिको उत्पादन क्रमशः बढ्दै

Bridge Course

मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता बढेसँगै त्रिभुवन विश्वविद्यालयबाट उत्पादित प्राविधिक धारका विद्यार्थीको प्रतिशतमा क्रमिक सुधार देखिएको छ ।

देशकै जेठो र ठूलो त्रिविमा व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा विद्यार्थीको उच्च चाप नघटे पनि प्राविधिक धारका विद्यार्थीको सङ्ख्यामा क्रमिक वृद्धि देखिएको हो । प्राविधिक धारको यो वृद्धि सामान्यदरमा मात्र भएकाले सन्तोषजनक भने छैन ।

विश्वविद्यालयसभाको ६०औँ वार्षिक दिवस बैठकमा आज पारित ग्रेस लिष्टअनुसार कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा गत वर्षको ३२६ विद्यार्थी सङ्ख्यामा वृद्धि भई यस वर्ष ५०५ पुगेको छ । यो कूल विद्यार्थी सङ्ख्याको शून्य दशमलव सात प्रतिशत हो ।

वन विज्ञान अध्ययन संस्थानमा २१० बाट वृद्धि भई २६४, इञ्जिनीयरिङ अध्ययन संस्थानमा दुई हजार ७१२ बाट बढेर दुई हजार ९७२, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा पाँच हजार ९५५ बाट वृद्धि भई छ हजार ४५२ पुगेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानमा भने एक हजार ८२१ बाट घटेर एक हजार ७१९ भएको छ ।

त्रिविका यस वर्ष उत्तीर्ण हुनेमा व्यवस्थापन सङ्कायका सबैभन्दा धेरै ३२ दशमलव पाँच विद्यार्थी छन् । यो सङ्कायमा २२ हजार ७९८ विद्यार्थी छन् । शिक्षा शास्त्रमा २० हजार २६ (२८ दशमलव पाँच), मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा १३ हजार ६९५ (१९ दशमलव पाँच) र कानून सङ्कायमा एक हजार छ सय ६६ (शून्य दशमलव पाँच) विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बैठकमा २०७५ असार १ देखि २०७६ मसान्तसम्मको अवधिमा तोकिएका सम्पूर्ण आवश्यकता पूरा गरी स्नातक, पिजिडिपिएिस, स्नातकोत्तर, एमफिल र विद्यावारिधि परीक्षामा उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका कूल ७० हजार ७७ विद्यार्थीको ५७औँ ग्रेस लिष्ट पारित भएको छ । यी विद्यार्थीले आगामी पुसमा हुने दीक्षान्त कार्यक्रममा भाग लिन पाउनेछन् । अघिल्लो ५६औँ ग्रेसलिष्टमा कूल ७३ हजार नौ सय एक विद्यार्थी थिए ।
शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले हालै तयार गरेको जनशक्ति प्रक्षेपणसम्बन्धी प्रतिवेदनमा सीपमूलक क्षेत्रमा आवश्यकतानुसार जनशक्ति नभएको उल्लेख छ भने सरकारले विद्यालय र स्थानीय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिने उद्घोष गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहाली गर्दा प्राविधिक शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सरकारलाई गत माघ १ गते बुझाइएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले उच्चशिक्षालाई प्राविधिक र अनुसन्धानमुखी बनाउनुपर्ने सुझाव दिएको थियो । प्रधानमन्त्री ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्षजनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन सबै विश्वविद्यालयलाई आग्रह गर्दै आउनुभएको छ ।

त्रिविमा हाल ६१ आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसमा गरी तीन लाखभन्दा बढी विद्यार्थी छन् । मुलुकका ११ विश्वविद्यालयमध्ये त्रिविले मात्रै ८० प्रतिशत विद्यार्थीको भार बहन गर्दै आएको छ । सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयमा पछिल्लो समय सार्वजनिक भएको अनियमितताका घटनाले त्रिविले बदनामी कमाए पनि ‘द हाइयर एजुकेशन’ ले सन् २०१९ का लागि गरेको वल्र्ड युनिभर्सिटी र्याङ्किङ्’ मा यो विश्वविद्यालय विश्वका उत्कृष्ट ८०१ देखि १००० र एशियाका उत्कृष्ट २५१ देखि ३०० पर्न सफल भएको छ ।

–प्रकाश सिलवाल


A Levels MA