After SEE Portal

तत्कालीन अधिराजकुमार निराजन दरबारमै ट्युसन पढ्थे

Bridge Course

भनिन्छ– आमाको प्यारो कान्छो सन्तान । तीन तले दरबारमा पतिपत्नी बाहेक एक्लो सन्तान रहन्थे । त्यो सन्तान कान्छो छोरा थिए । त्यसमाथि आमा बढी अनुशासन कायम गर्न चाहने । कान्छो छोरामाथि नियन्त्रण गर्न खोजेको त भन्न मिलेन तर अनुशासनमा राख्न खोज्ने गरेको भन्न सकियो । कान्छो छोरा दैनिकी तालिकाका आधारमा प्रातःदेखि रात्रीकालसम्म कार्य गर्थे । छोराको दैनिकी ठिकसँग चलेको छ वा छैन भनेर आमाले निगरानी गर्थिन् । त्यसैले छोराको सयन कक्षमा रहेको दैनिकीको अर्को प्रतिलिपि आमाको कक्षमा पनि रहन्थ्यो । 

यो सत्य कथा तत्कालीन रानी ऐश्वर्य र तत्कालीन अधिराजकुमार निराजनको हो । निराजन शाहको पलङ्गको ठिक माथि रहेको काठको बोर्डमा दैनिकी तालिका रहन्थ्यो । उनी त्यसैअनुरुप चल्थे । त्यो दैनिकी तालिकाको अर्को प्रति आमा ऐश्वर्य शाहको कोठाको भित्तामा रहन्थ्यो ।

दरबारका कर्मचारीहरु त्यस बेलाको घटनालाई वेलिबिस्तार गर्ने क्रममा आमाले छोराको दैनिकीलाई निगरानी गर्ने गरेको सुनाउँछन् । दैनिकी तालिकाअनुसार तत्कालिन अधिराजकुमार निराजन विहान साढे छ बजे उठ्थे । उनी विहान सात बजेदेखि साढे १२ बजेसम्म पढ्थे । नारायणहिटी दरबार सङ्ग्रहालयका पूर्व प्रमुख रोहित ढुङ्गानाले राजपरिवारका सदस्यहरु नारायणहिटी दरबारमा रहेको त्रिशुल सदनमा ट्युसन पढ्ने गरेको बताए ।

“राजपरिवारका सदस्यहरु शिक्षण संस्थामा कमैमात्र जान्थे । घरमै ट्युसन पढ्ने चलन थियो । विभिन्न विषयका शिक्षकहरु दरबारमै आउँथे” उनले भने, “उनीहरुले त्रिशुल सदनमा पढ्ने गर्दथे ।”

दैनिकी तालिकाअनुसार निराजनले अपरान्ह साढे १२ बजेदेखि एक बजेसम्म नुहाउन, अपरान्ह १ बजेदेखि साढे २ बजेसम्म खाना खान, त्यसपछि अपरान्ह ५ बजेसम्म विश्राम, अपरान्ह ५ बजेदेखि साँझ ७ बजेसम्म अभ्यास गर्न समय छुट्याएका थिए । त्यसपछि राती साढे ९ बजेसम्म गृहकार्य गर्थे । त्यसपछि खाना खाएर राती ११ बजे सुत्दथे । शुक्रबार दरबारमा रमाइलो गरिने चलन भएकाले त्यस दिनको राती रमाइलो गरेर बिताउने चलन हुन्थ्यो । शनिबार आफूखुशी गर्ने गर्दथे ।

निराजनले एलेभलसम्म नेपालमै पढेका थिए । स्नातक बेलायतको इटन कलेजबाट गरेका थिए । उनका दाजु दीपेन्द्र शाहले बेलायत लगेर भाइ निराजनलाई सो कलेजमा भर्ना गरिदिएका थिए । पिता वीरेन्द्रका साथै दुवै छोराहरुले सोही कलेजमा अध्ययन गरेका थिए ।  

दरबारका पूर्व कर्मचारी ढुङ्गानाले बेलाबखतमात्र शिक्षण संस्थामा देखिन जाने गरे पनि नियमितरुपमा घरमै ट्युसन पढ्ने गरेको बताउँदै भने, “परीक्षा केन्द्रमै पुगेर परीक्षा दिने गर्दथे । घरमै परीक्षा दिने गरेको कुरा गलत हो ।”

यसैबीच तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार निराजनको निजी निवास श्रीसदन भोलिबाट सबैले हेर्न पाउने भएका छन् । दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले सोको औपचारिक थालनी आज पर्यटनमन्त्री योगेशकुमार भट्टराईले गर्ने र सर्वसाधारणले भोलि आइतबारबाट हेर्न पाउने बताए । सङ्ग्रहालयले अवलोकन शुल्क दोब्बरले वृद्धि गरेको छ । विद्यार्थीहरुले २० रुपियाँमा दरबार अवलोकन गर्न पाउने गरेकोमा अब ४० रुपियाँ तिर्नुपर्ने हुन्छ ।

A Levels MA
Thuprai - Books and E-books