​​​​​​​शिक्षकलाई विद्यालयसम्म पठाउने तयारी  (प्रस्तावित विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचाको पूर्णपाठसहित)

शिक्षकलाई विद्यालयसम्म पुर्‍याउन सवारी साधनको प्रयोगमा छुट दिनुपर्ने प्रस्ताव सरकारले गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसमक्ष यस्तो प्रस्ताव पठाएको छ ।

मन्त्रालयका उच्च पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “साउन १५ गतेसम्म शिक्षकहरु विद्यालयसम्म पुगिसक्नुपर्ने हामीहरुको मान्यता हो । अहिले धेरै शिक्षकहरु सवारी साधनको पहुँच नभएको भन्दै घरमै बसेको अवस्था छ । घर नजिकको पायक पर्ने विद्यालयमा गएर अध्यापन गर्न पनि उनीहरुलाई अप्ठेरो छ । त्यसैले सम्बन्धित विद्यालयमा नै पठाउन आउजाउमा परेको वाधालाई कसरी फुकाउने भन्ने बारेमा प्रस्ताव उच्चस्तरीय समन्वय समितिमा पठाइएको छ ।”

उनले काठमाडौँ उपत्यकाभित्रका धेरै विद्यालयमा प्रायः शिक्षकहरु बाहिरबाट आइसके पनि जिल्लातिर र विशेष गरी दुर्गम क्षेत्रमा शिक्षक नपुगेको तथा हिँडेर जान सक्ने अवस्था नभएकाले उनीहरुका लागि आफू कार्यरत विद्यालयसम्म पुग्ने गरी सवारी साधन प्रयोग गर्नसक्ने नीतिका लागि प्रस्ताव पठाइएको जानकारी दिए ।

पछिल्लो समयमा केही जिल्लाका केही विद्यालयहरुले कक्षाकोठामै विद्यार्थीलाई उपस्थित गराएर कक्षा सञ्चालन गर्न थालिसकेका छन् । स्थानीय तहले केन्द्रीय सरकारको मुख नताकेर विद्यालय सञ्चालन गर्न धमाधम निर्णय गर्न थालिसकेका छन् । विद्यार्थीहरुलाई विहान र दिउँसोको सत्रमा अध्यापन गराउने, आधारभूत र माध्यमिक तहका कक्षा फरक सत्रमा सञ्चालन गर्ने तथा सामाजिक दूरी कायम गर्ने गरिएको छ ।

ती पदाधिकारीले शिक्षकलाई साउन १५ गतेसम्म विद्यालयमा पठाउन सकिए सुरुमा कक्षाकोठा सेनिटाइज गर्ने, सरसफाइ गर्ने र अन्य तयारी गर्ने बताउँदै आगामी भदौ १ गतेबाट कक्षा सञ्चालन गर्न सकिने अवस्थाका बारेमा छलफल भइरहेको बताए । “भदौ १ गतेबाट कक्षा सञ्चालन गर्ने हो र बिदाहरु धेरै कटौती गरिएमा कोर्स घटाइरहनुपर्ने अवस्था रहँदैन” उनले भने, “करिव दुई सय दिन सहजै कक्षा सञ्चालन हुने देखिन्छ । त्यस्तो भएमा कोर्स पूरा हुनसक्छ ।” यो विषयका बारेमा हालै बसेको राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को बैठकमा पनि चर्चा चलेको उनले जानकारी दिए ।

यसैबीच शिक्षा मन्त्रालयले कोभिड–१९ को महामारीका कारण बन्द हुन पुगेका विद्यालयहरुका सन्दर्भमा विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को मस्यौदा तयार गरेको छ । मन्त्रालयले त्यसका बारेमा यतिबेला सरोकारवालासँग व्यापक परामर्श थालेको छ ।

कार्यढाँचामा विद्यालय खोल्नसक्ने अवस्था भएका विद्यालयले कम्तीमा १५ दिन अगावै सरोकारवालालाई जानकारी गराउने, शिक्षक उपस्थित हुन नसक्ने अवस्था भएमा वैकल्पिक व्यवस्था तयार गर्नुपर्ने, जोखिम कम भएका विद्यालयबाट पठनपाठन थालनी गर्नुपर्ने लगायतका प्रस्ताव गरिएको छ ।

सुरक्षाका विषय, शैक्षिक योजनाका विषय, स्वास्थ्य र मनोपरामर्श लगायतका बारेमा पनि कार्यढाँचामा व्यवस्था गरिएको छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले कार्यढाँचालाई मन्त्रिपरिषद्मा पठाइने तयारी भइरहेको बताउँदै भने, “सरोकारवालासँग सुझाव माग गरिएको छ । थप सुझाव प्राप्त भएपछि तिनलाई सम्बोधन गरी छिटै स्वीकृतिका लागि मन्त्रिपरिषद् लगिनेछ ।”

कोभिड—१९ को महामारीका कारण बन्द हुन पुगेका विद्यालयहरुका सन्दर्भमा

विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७

१. परिचय

चीनको वुहान प्रान्तमा सन् २०१९ को मध्य डिसेम्बरबाट देखा परी फैलँदै गएको  कोभिड-१९  का कारण उत्पन्न असहज परिस्थतिले  विश्वभर नै प्रभाव पारिरहेको छ । संक्रमणको तिब्रतासगै थप सतर्क रहन विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । नेपाललाई पनि उच्च जोखिमयुक्त मुलुकको सूचीमा सूचीकृत गरेसँगै सम्भावित सङ्क्रमण रोक्नेतर्फ अझ सतर्कता बढाउँदै नेपाल सरकारले मिति २०७६।१२।११ देखि बन्दाबन्दी (lockdown) को घोषणा गरेको थियो। बन्दाबन्दीको प्रभाव सबै क्षेत्रमा परेको छ । विद्यालय लगायत सबै शैक्षिक संस्थाहरू बन्द रहेका छन् । स्तरीकृत रूपमा सञ्चालन हुने कक्षा ११ र १२ का वार्षिक परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएका छन् । स्थगित भएको कक्षा १० को परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई प्रमाणपत्र जारी गर्ने निर्णय गरिएको छ। देशभरका तीन हजार भन्दा बढी  विद्यालयहरू क्वारेन्टिनका रुपमा प्रयोग भइरहेका छन् ।

सम्भावित जोखिमबाट बालबालिकाहरूलाई संरक्षण गरी शिक्षा प्रदान गर्नु राज्यको कर्तव्य हो । नेपालको संवैधानिक व्यवस्था र राष्ट्रिय तथा अन्तराष्ट्रिय मूल्य र मान्यतालाई आत्मसात गर्दै कोभिड-१९ का कारण सिर्जित चुनौतीहरूको सामना गर्दै शैक्षिक पात्रो अनुसारनै सिकाइ क्षेत्रलाई हरित क्षेत्रका रूपमा अनवरत सञ्चालनमा ल्याउनु महत्वपूर्ण विषय हो । यसै परिप्रेक्ष्यमा विद्यालय क्षेत्रलाई भयरहित,सुरक्षित र महामारीको जोखिमबाट मुक्त बनाउन ठोस मार्गदर्शन प्रदान गर्ने र बन्द भएका विद्यालयहरू पुनः सञ्चालनमा ल्याई बालबालिकाको सिकाइलाई सहज र निरन्तर बनाउनका लागि स्थानीय र प्रदेश तहका प्रतिनिधिका साथै  नेपाल शिक्षा समूह, शिक्षा क्षेत्रमा काम गर्ने विकास साझेदार,दातृ निकाय र गैरसरकारी संस्थाहरू एवं शिक्षा व्यवस्थापक, शिक्षक,अभिभावक, निजी विद्यालय सञ्चालक, सामुदायिक विद्यालय व्यवस्थापन समिति आदिसँग समेत आवश्यक समन्वय एवं परामर्श गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यढाँचा तयार गरेको छ ।

कोभिड-१९ को महामारीको चपेटामा परेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई लक्षित गरी बालबालिका, शिक्षक, विद्यालयका कर्मचारी,विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक लगायतका विद्यालय शिक्षा क्षेत्रका सरोकारवालाहरूको साझा सामझदारीमा आधारित विद्यालय सञ्चालनको तयारी तथा विद्यालय सञ्चालनका लागि न्यूनतम क्रियाकलापहरूको खाका यस कार्यढाँचामा प्रस्तुत गरिएको छ । यस कार्यढाँचाले बालबालिकाको सिकाइ निरन्तरताका लागि विद्यालय पुनःसञ्चालनको बृहत् खाका प्रदान गर्नुका साथै प्रदेश तथा स्थानीय तहहरूलाई आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट मुक्ति र सहज सिकाइ वातावरण तयारी गर्ने लगायतका विषयमा स्थानीय आवश्यकता अनुकूल रणनीति तयार गर्नका लागि सहयोग प्रदान गर्ने आशा  समेत गरिएको छ ।

२.कार्यढाँचाको उद्देश्य

प्रस्तुत विद्यालय पुनःसञ्चालन कार्यढाँचाको मुख्य उद्देश्य कोभिड-१९ को महामारीका कारणबाट बन्द हुन पुगेका विद्यालयहरूको पुनःसञ्चालनका लागि प्रष्ट मार्ग निर्देश गर्नु हो । यस कार्यढाँचाले स्थानीय तह एवं विद्यालयहरूले विद्यालय सञ्चालनपूर्व गर्नुपर्ने तयारी, विद्यालय सञ्चालन एवं सिकाइ व्यवस्थापनका सन्दर्भमा स्पष्ट खाका प्रदान गरी सुरक्षित विद्यालय सञ्चालन गर्न मार्ग दर्शन प्रदान गर्नेछ । सुरक्षित, भयरहित, कोभिड—१९ को संक्रमण जोखिममुक्त,स्वस्थ विद्यालय वातावरण तयार गर्न यसले सहयोग पु­र्‍याउँनेछ ।

३.विद्यालय पुनःसञ्चालन कार्यप्रक्रिया

३.१. विद्यालय पुनः सञ्चालनपूर्व गर्नुपर्ने तयारी

अ. समन्वय तथा सहकार्य

(क) नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत वैकल्पिक प्रणालीद्वारा विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ को बारेका सबै सरोकारवालाहरूलाई अवगत गराई प्रयोगमा ल्याउने र सबै विद्यालयहरू एकै पटक पूर्णरुपमा सञ्चालन हुन नसक्ने सम्भावनालाई समेत मध्यनजर गरी त्यसको उपयोगका लागि सबैलाई तयार गराउने ।

(ख) संघीय सरकारले गरेको निर्णय तथा निर्देशनमा रही देशभर एकै पटक सबै विद्यालय पुनः सञ्चालन हुने अवस्था आएमा वा जोखिमका हिसाबले फरक फरक मितिमा विद्यालय पुनःसञ्चालन हुने अवस्था आएमा स्थानीय तहले स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, स्थानीय शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति. तथा शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी,बाल÷युबा क्लब आदिसँग परामर्श गरी विद्यालय खुल्ने दिनको पूर्वानुमान गरी कम्तिमा १५ दिन अगावै सरोकारवालाहरुलाई जानकारी गराउने र  विद्यालय खुल्ने दिन, विद्यालयहरूमा उपलब्ध सुविधा लगायतका विषयहरूमा बालबालिका र अभिभावक लक्षित गरी आवश्यकता अनुसार स्थानीय भाषामा समेत सूचनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने ।

(ग) बुँदा (ख) अनुसार विद्यालय सञ्चालनको सूचना प्रकाशन तथा प्रसारण गर्नु अगावै विद्यालयलाई क्वारेन्टिन वा आइसोलेसन बनाइएको भए क्वारेन्टिन वा आइसोलेसन हटाउने तथा सबै विद्यालयका शिक्षक,विद्यार्थी,विद्यालय कर्मचारीहरुको स्वास्थ्य र उनीहरुको उपस्थितिको संभावना बारे समीक्षा गरी विद्यालय व्यवस्थापन समितिमार्फत् जानकारी गराउने तथा रोगका कारण शिक्षक उपस्थित हुन नसक्ने अवस्था भएमा वैकल्पिक व्यवस्था तयार गर्नु पर्नेछ ।

(घ) विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र बालबालिकालाई कोभिड-१९ बारे सचेतनासहित स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै बालबालिकालाई विद्यालय जानका लागि मानसिक रूपमा तयार पार्ने।

(ङ) स्थानीय तहले यस अवस्थामा स्वास्थ्य संस्था, समुदाय, अभिभावक र विद्यालयका बीचमा सञ्चार तथा समन्वय सामाजिक विकास समिति वा गाउँ/नगर शिक्षा समिति वा अन्य संयन्त्र (आवश्यक भएमा मात्र गठन गरी) मार्फत् गर्ने र यस कार्यमा सहयोग पुर्‍याउन  विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई सक्रिय बनाउने ।

(च) विद्यालय पुनः सञ्चालन गर्दा संक्रमणको दर सबैभन्दा न्यून रहेको तथा स्थानीय जोखिम सबैभन्दा कम रहेको विद्यालयबाट शुरु गर्ने।

(छ) स्थानीय स्तरमा कार्यरत गैरसरकारी तथा समुदायमा आधारित संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने (ज) स्थानीय तहले अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका बालबालिकाहरूको सवालमा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था र अभिभावकहरूसँग समन्वय र सहकार्य गर्ने ।

(झ) स्रोत कक्षा तथा विशेष विद्यालयलाई पुनः सुचारू गर्नका लागि स्वास्थ्य विज्ञहरूसँग परामर्श गरेर सुचारू गर्ने ।

आ. सुरक्षा

(क) बालबालिकाको सुरक्षाका लागि न्यूनतम पूर्वाधार  (फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठा आदि), स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, सेनिटाइजर तथा विद्यालयमा आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्ने र भौतिक दुरी मिलाई बस्ने आचरण विकास सम्बन्धी सचेतना र सीप विकास गराउने कार्य गर्नेगराउने ।

(ख) शिक्षक, बालबालिका तथा अभिभावकहरूले अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्ने लगायत विषयवस्तु समावेश गरी विद्यालय जाँदा, विद्यालयमा रहँदा वा घर फर्कंदा एवं घरमा पुगेपछि पालना गर्नुपर्ने नियमहरू तयार गर्ने ।

(ग) विद्यालय पुनः सञ्चालनका लागि सुरक्षित विद्यालयका न्यूनतम् मापदण्ड पूरा भए नभएको यकिन गर्ने । यसका लागि अनुसूची १ बमोजिम सुरक्षित विद्यालयको रुजुसूचि अनुसार विद्यालयको रुजु गर्ने र सो अनुसार नभएमा मापदण्डहरु पूरा गरी विद्यालय पुनः सञ्चालन गर्ने प्रबन्ध मिलाउने ।

इ. शैक्षिक योजना र तालिम

(क) संघीय सरकारले निर्धारण गरेको अवधिमा तोकिएका सिकाइ उपलब्धिहरु पूरा गराउने गरी शैक्षिक सत्रको व्यवस्थापनका लागि विद्यालयले संक्रमण कालीन वार्षिक कार्यतालिका र सबै शिक्षकहरुले संक्रमण कालीन वार्षिक शैक्षणिक योजना तयार गर्ने।

(ख) प्रदेश शिक्षा तालिम केन्द्रले वैकल्पिक प्रणालीव्दारा विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम बालबालिकाहरुले सिकेका सिकाइहरुको स्तर निर्धारण गर्न र सोही अनुसार बालबालिकाहरुलाई सिकाइमा सहजीकरण गर्न शिक्षकलाई आवश्यक तालिम/ अभिमुखीकरण गर्ने गराउने ।

(ग) यस कार्यढाँचाले निर्दिष्ट गरेका क्रियाकलापहरु कुशलतापूर्वक सम्पादन गर्नका लागि सबै शिक्षकहरूलाई विद्यालय तहमा स्थानीय तहको समन्वयमा विषयवस्तुको प्रकृति अनुसारका सहजकर्ताव्दारा शिक्षकलाई अभिमुखीकरण गर्ने ।

(घ) स्रोत कक्षा तथा विशेष विद्यालयमा अध्यापन गर्ने शिक्षक तथा कर्मचारीहरूलाई विशेष तालिमको व्यवस्था गर्ने ।

ई. स्वास्थ्य तथा मनोपरामर्श

(क) विद्यालयमा आउने बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूमा स्वास्थ्य सम्बन्धी कुनै समस्या आएमा वा कोभिड—१९ का लक्षणहरूसँग मिल्दा जुल्दा लक्षणहरू देखा परेमा तत्काल अभिभावक वा घरपरिवारलाई जानकारी गराउने प्रबन्ध गर्ने।

(ख) महामारीको जोखिममा रहेका बालबालिकाहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा जचाँएपछि मात्र विद्यालयमा आउने गरी पहिले नै सूचित गर्ने र विद्यालयमा ज्वरो परीक्षण गर्ने व्यवस्था गर्ने।

(ग) बिरामी शिक्षक, विद्यालय कर्मचारी तथा बालबालिकाहरूलाई पूर्ण रुपमा निको नहुञ्जेल विद्यालयमा नआउने वातावरण मिलाउने र कक्षा निरन्तरताका लागि वैकल्पिक उपायहरू पहिले नै तय गर्ने।

(घ) स्थानीय तह भित्रका विद्यालयका अभिभावक, प्रधानाध्यापक, विषय शिक्षक, विद्यालय कर्मचारी, स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शदाता, अस्पताल, एम्बुलेन्स आदिको सम्पर्क नम्बर सहितको विवरण अद्यावधिक गर्ने ।

(ङ) कोभिड—१९ को भयबाट मुक्त गराउनका लागि स्थानीय स्वास्थ्य कार्यकर्ता, सामाजिक परिचालक, मनोपरामर्शदाता तथा सम्पर्क शिक्षक तोकी बालबालिका, शिक्षक, विद्यालयका कर्मचारी एवं अभिभावकहरूलाई मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाउने ।

(च) भविष्यमा समेत कोभिड—१९ को संक्रमण, महामारी वा अन्य कुनै कारणवश हुन सक्ने विद्यालय बन्दका सम्बन्धमा सबैलाई मानसिक रुपमा तयार रहने गरी सचेतीकरण गर्ने ।

(छ) अपाङ्गता भएका बालबालिकाका लागि अभिभावक समेतको परामर्श दिने व्यवस्था मिलाउने ।

उ. भौतिक सुविधा तथा बसाइ व्यवस्थापन

(क) भौतिक दुरी कायम राखी सिक्ने वातावरण तयार गर्न कक्षाकोठा, फर्निचर,  शौचालय आदिको आवश्यकता अनुसार पुनर्व्यवस्थापन वा मर्मत गर्ने र विद्यार्थी संख्या तथा उपलब्ध भौतिक पूर्वाधार हेरी व्यवस्थापनमा     सहजताका लागि देहाय अनुसारका विकल्पहरुमध्ये उपयुक्त विकल्प प्रयोग गर्ने गरी तयारी गर्ने गराउने तर     विद्यालयले तयारी वापत् कुनै पनि थप रकम अभिभावकहरुसँग असुल गर्न नपाउने व्यवस्था लागू गर्ने ।

  • सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने
  • अलग अलग समय (shift) मा अलग अलग कक्षा  वा तह सञ्चालन गर्ने
  •  विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि/ घन्टी छोट्याउने,
  • अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले(जोखिम र सहजतालाई हेरी) कक्षा शुरू गर्ने,
  •  कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने,
  • हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्ने आदि ।

(ख) विद्यालय सञ्चालन गर्नुपूर्व नै विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाई सुविधा (WASH Facilities) को व्यवस्था गर्ने र सरसफाइ सम्बन्धी विशेष नियमहरू जस्तैः हात धुने, खोकी लाग्दा वा हाछ्यु आउँदा मुख छोप्ने, अन्य सुरक्षाका उपकरणहरू प्रयोग गर्ने र उपकरणको सरसफाइ गर्नका लागि सचेतीकरण गर्ने र घरमै त्यसको अभ्यास गराउने व्यवस्था गर्ने।

(ग) विद्यालयभित्र शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीहरुको भौतिक दुरी कायम हुने गरी कक्षा कोठा, शौचालय, पिउने पानी आदि जस्ता स्थानहरुमा गोलो घेरा (Marking) बनाउने र सोको पालनाको विषय आचारसंहितामा समेत समावेश गर्ने ।

(घ) क्वारेन्टिन बनाइएका बाल विकास केन्द्र तथा विद्यालयको कम्पाउन्ड, कक्षाकोठा, सवारी साधन, क्यान्टिन, पुस्तकालय, प्रयोगशाला शौचालय, फर्निचर आदिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट तयार गरिएको प्रतिसंक्रमण वा निर्मलीकरण गर्ने विधि अनुसार प्रतिसंक्रमण वा निर्मलीकरण गर्ने तथा नियमित सरसफाइ र प्रतिसंक्रमण गर्ने व्यवस्था मिलाउने ।

(ङ) विद्यालयगत रुपमा शिक्षक, अभिभावक, विद्यालय, समुदाय, स्वास्थ्य कर्मी, बाल÷युबाक्लबका जनप्रतिनिधिको सहभागितामा विद्यालय खोल्ने आधारहरुको पूर्णताबारे समीक्षा गर्ने गराउने।

(च) छात्रावासमा भौतिक दुरी कायम राख्न आवश्यकता अनुसार पुनर्व्यवस्थापन गरी नियमित सरसफाइको व्यवस्था मिलाउने।

ऊ. बालबालिकाको पहुँच

(क) बालकक्षा तथा कक्षा एकमा नयाँ भर्ना हुने बालबालिका, एक तह वा कक्षा पूरा गरेर अर्को तह वा कक्षामा अध्ययन गर्न अर्को विद्यालयमा भर्ना हुन आउने बालबालिका, नियमित रूपमा अध्ययन गरिरहेका बालबालिका र कहिल्यै पनि विद्यालय आउन नसकेका बालबालिकाहरूलाई लक्षित गरी विभिन्न माध्यमबाट भर्ना अभियान कार्यक्रम अघि बढाउने ।

(ख) विद्यालय सञ्चालन गर्नुपूर्व अपाङ्गता भएका तथा अति विपन्न परिवारका बालबालिकाहरूका लागि विशेष सुविधा, उपचारात्मक शिक्षण, दिवा खाजा व्यवस्थापन आदि लगायतको सुनिश्चितता गर्ने ।

(ग) अपाङ्गता भएका बालबालिकाहरूलाई तत्काल विद्यालयमा ल्याउन सम्भव नभएको खण्डमा वैकल्पिक (घरमा अध्ययन गर्ने वातावरणको लागि शिक्षक र अभिभावकले वैयक्तिक शिक्षण) व्यवस्था गर्ने ।

ए. आचारसंहिता निर्माण

(क) विद्यालय पुनःसञ्चालनका लागि सम्बद्ध (शिक्षक, विद्यालय कर्मचारी, बालबालिका, अभिभावक तथा अन्य सरोकारवाला आदि) पक्षहरूले पालन गर्नुपर्ने आचारसंहिता उनीहरुकै सहभागितामा तयार गर्ने ।

(ख) उपर्युक्त बुंदा (क) अनुसार तयार गरिएको आचारसंहिता परिपालना लागि स्थानीय तहको सामाजिक विकास समिति वा गाँउ/नगर शिक्षा समिति वा स्थानीय तहले तयार गरेको संयन्त्रव्दारा अनुगमन तथा सुरिवेक्षण गर्ने व्यवस्था मिलाउने र आचारसंहिता पालनाका सन्दर्भमा थप सहजीकरण गर्ने ।

.२ विद्यालय पुनःसञ्चालन गर्दा र पुनःसञ्चालनपछि गर्नु पर्ने कार्यहरू

अ. सञ्चालन सहजीकरण(मूलतः स्थानीय तहले गर्ने)

(क) स्थानीय तहले विद्यालय पुनःसञ्चालन कार्यढाँचाको आधारमा स्थानीय परिवेशको मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालन गर्ने।

(ख) स्थानीय तहले विद्यालयमा पठनपाठन सुचारु गर्नका लागि लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, प्रदेश तथा शिक्षा समूहबाट विकास गरिएका सिकाइ सामाग्री तथा पाठ्यपुस्तक वितरण गर्ने र सबै बालबालिकाहरुले उक्त सामाग्रीहरु प्राप्त गरेको सुनिश्चित गर्ने ।

(ग) स्थानीय तहले संङ्क्रमण व्यवस्थापन तथा बालबालिकाको सिकाइ निरन्तरताका लागि प्रतिकार्य योजना तयार गरी सोको कार्यान्वयन गर्ने ।

(घ) स्थानीय तहले प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति, स्थानीयस्तरमा कार्यरत गैरसरकारी तथा समुदायमा आधारित संस्थाहरूसँग निरन्तर समन्वय र सहजीकरण गर्ने ।

आ. सुरक्षित सञ्चालन(मूलतः विद्यालयले गर्ने)

(क) समय समयमा शिक्षक स्टाफ बैठक बसी (भौतिक दुरी कायम गरी) संक्रमणकालीन व्यवस्थापन सम्बन्धमा छलफल गर्ने र आवश्यकता अनुसार कार्ययोजना तथा रणनीति तयार गरी कार्यान्वयन गर्ने ।

(ख) स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा हेल्थ डेस्कको व्यवस्था गरी विद्यालयमा प्रवेश गर्ने सबैको (बालबालिका, शिक्षक, कर्मचारी वा अरु जो कोही) अनिवार्य रुपमा ज्वरो परीक्षण गर्ने र उचित तरिकाले सबैले मास्क अनिवार्य प्रयोग गर्ने गराउने । आवश्यकताअनुसार अति विपन्न समुदायका बालबालिकाहरूका लागि स्थानीय तहको समन्वय तथा सहयोगमा विद्यालयले मास्कको व्यवस्था गर्ने ।

(ग) विद्यालय परिवार बाहेक अन्य व्यक्तिहरूलाई विद्यालय परिसरमा आउन निषेध गर्ने र अत्यावश्यक कामका लागि नआइनहुने परिस्थिति भएमा प्रधानाध्यापकको अनुमती लिई मास्क लगाएर मात्र आउने व्यवस्था गर्ने।

(घ) संक्रमणको समयमा गर्नुपर्ने र गर्न नहुने क्रियाकलापहरूको सूची तयार गरी सबैले देख्ने ठाउँमा राख्ने/टाँस्ने ।

(ङ) एक जना शिक्षकलाई (उपलब्ध भएसम्म स्वास्थ्य शिक्षा वा विज्ञान विषय शिक्षण गर्ने शिक्षकलाई) Focal Point तोक्ने ।

(च) दिनहूँ विद्यार्थी संख्याको आधारमा पर्याप्त मात्रामा सफा पानी, हात धुने स्थान, साबुन र अन्य सरसफाइ सामाग्री आदिको अनिवार्य व्यवस्था गर्ने ।

(छ) विद्यालय सञ्चालनका समयमा शिक्षक, विद्यालय कर्मचारी तथा विद्यार्थीमा समस्या देखिएमा तत्काल राख्नका लागि आइसोलेसन कक्षको प्रयोग गर्ने ।

(ज) शिक्षक, विद्यालय कर्मचारी तथा बालबालिकामा कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा पुर्‍याउने र स्वस्थ नभएसम्मका लागि विद्यालयमा नआउन सूचित गर्ने ।

(झ) बालबालिकाबीचको न्यूनतम १ मिटर वा ३ फिटको भौतिक दुरी कायम हुने गरी कक्षा कोठामा विद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्ने । प्रारम्भिक बालविकासका बालबालिकाहरूको बसाइ व्यवस्थापनमा पनि भौतिक दुरी सुनिश्चित गर्ने तथा पूर्व निर्धारित समय, सिफ्ट वा समूहअनुसार कक्षा सञ्चालन गर्ने ।

(ञ) आवासीय सुविधा भएका विद्यालयका छात्रावासमा बालबालिकाबीच निश्चित भौतिक दुरी कायम गर्न लगाउने र एक बेडमा एक जना मात्र राख्ने वा राख्न लगाउने ।

(ट) यातायातका साधन प्रयोग गर्ने विद्यालयले जोखिम अवधिभर भौतिक दुरी कायम गर्ने गरी सवारी साधन (बस, भ्यान आदि) को कुल सिट संख्याको बढीमा ५० प्रतिशत मात्रै बोक्ने व्यवस्था गर्ने ।

(ठ) सकेसम्म सार्वजनिक यात्रु बोक्ने सवारी साधन विद्यार्थी बोक्नका लागि प्रयोग नगर्ने यदि गर्नै परेमा निर्मलीकरण गरेर मात्रै गर्ने । साथै एउटा ट्रिप गरिसकेपछि अर्को गर्नुपूर्व सवारी साधनलाई निर्मलीकरण गर्ने र यात्रामा समेत अनिवार्य मास्कको प्रयोग गर्ने । बालबालिका गाडीमा चढाउनुपूर्व अनिवार्य उनीहरूको तापक्रम मापन गर्ने ।

(ड) कुनै शिक्षक वा बालबालिका दीर्घ रोगी वा बिरामी भएको अवस्थामा निजलाई घरमा नै बस्न लगाउने र सिकाइका लागि वैकल्पिक माध्यम अवलम्बन गर्ने ।

(ढ) विद्यालय स्वास्थ्य तथा सरसफाइ सम्बन्धी नियमहरू कडाइका साथ पालना गर्ने तथा छात्राहरूको लागि सेनिटरी प्याड र छुट्टै शौचालयको व्यवस्था गर्ने एवं शौचालयलाई दैनिक निर्मलीकरण गर्ने ।

(ण) झ्याल ढोका खुला राखी पर्याप्त हावा आवत जावत गर्न सक्ने बनाउने ।

(त) खाजा खानका लागि कक्षाहरूलाई फरक फरक समयमा छुट्टी दिने, खाना बाँडेर नखाने, कक्षाकोठा भित्र खाना खाजा नखाने र न्यूनतम भौतिक दुरी कायम गर्न नसकिने अवस्थामा सामुहिक क्रियाकलापहरू जस्तैःप्रार्थना, खेल आदि नगराउने ।

(थ) बालबालिकाको पोषण तथा स्वास्थ्यलाई ख्याल गरी दिवा खाजा व्यवस्थापन तथा सहजीकरण पुस्तिकामा उल्लेख भए अनुसारको न्यूनतम पोषक तत्वहरू सहितको खाजा संभवभएसम्म विद्यालयमा नै बनाएर खुवाउने।

(द) एउटा कक्षा वा सेक्सनका विद्यार्थीहरूलाई सधैं (जोखिम रहँदासम्म) एउटै समूह वा कक्षामा राख्ने कार्यलाई निरन्तरता दिने।

इ. सिकाइ सहजीकरण

(क) शिक्षकद्वारा बालबालिकाहरूका लागि आधारभूत सिकाइ सामग्री (जस्तै पाठ्यपुस्तक, कलम, कापी, स्वाध्ययन सामग्री, स्टेशनरी आदि) भएको सुनिश्चित गर्ने । यदि आधारभूत सिकाइ सामग्रीको प्रबन्ध गर्न नसकेका बालबालिकाहरूका लागि स्थानीय तहमा समन्वय गरी विद्यालयले नै उपलब्ध गराउने ।

(ख) वैकल्पिक प्रणालीद्वारा विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसारका सिकाइका क्रियाकलापहरुलाई निरन्तरता दिने । यसका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र र नेपाल शिक्षा समूह आदिबाट संक्रमणकालीन अवधिका लागि विकास गरिएका सिकाइ सामग्रीहरूको प्रयोग गर्ने र गर्न लगाउने ।

(ग) शिक्षण तथा सिकाइ सामग्री (जस्तैः पाठ्यपुस्तक, कापी, कलम, मार्कर, डस्टर आदि) र खेल सामग्रीहरू एक अर्कोसँग साटासाट नगर्ने।

(घ) प्रारम्भिक बालविकासका बालबालिकाहरूका लागि सामाग्री साटासाट नगरीकन प्रयोग गर्ने र प्रयोगपछि प्रतिसंक्रमण वा निर्मलीकरण गर्ने गराउने।

(ङ) शिक्षकहरूलाई पाठ्यक्रम अनुकूल हुनेगरी कठिन परिस्थितिमा सिकाइ सहजीकरण गर्न अपनाउनु पर्ने विधि तथा प्रक्रियाको बारेमा तत्कालिक आवश्यकता अनुसार सुपरिवेक्षण तथा तालिम प्रदान गर्ने ।

(च) बालबालिकाहरूको पूर्वसिकाइ (विद्यालय बन्द भएको बेला घर परिवारमा सिकेको, वैकल्पिक माध्यमबाट सिकेको वा सिकाइ क्षति भएको) मूल्याङ्कन गरी उनीहरूको स्तर र आवश्यकता निर्धारण गरी सिकाइ सहजीकरण गर्ने,

(छ) शिक्षकद्वारा बालबालिकाहरूको सिकाइको नियमित अनुगमन गर्ने, सिकाइमा पछि परेका बालबालिकाको पहिचान गरी उनीहरूको सिकाइका लागि थप सहयोग गर्ने ।

(ज) बिरामीको कारण नियमित रुपमा विद्यालयमा आउन नसक्ने बालबालिकलाई वैकल्पिक प्रणाली,  विधि तथा सामग्रीको प्रयोग गरी सिकाइलाई निरन्तरता दिने । साथै विद्यालयको नियमित सिकाइ प्रक्रियाबाट(विद्यालयमा नआएका वा अनियमित भएका वा बीचमा छोडेका) बाहिर रहेका बालबालिकाहरूका लागि स्थानीय आवश्यकता र उपलब्ध स्रोत र सामग्रीहरुको प्रयोग गर्दै सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसारको सिकाइमा सहजीकरण गर्ने।

(झ) विशेष आवश्यकता भएका बालबालिकालाई सिकाइ प्रक्रियामा सहभागी गराउनका लागि उनीहरुको आवश्यकताअनुसार सिकाइ सामग्रीको व्यवस्थापन र शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्ने ।

(ञ) संक्रमणको जोखिम अवधिभर सामूहिक क्रियाकलापमा कम प्राथमिकता दिने र अवस्था हेरी रमाइला र सिर्जनात्मक जीवनोपयोगी क्रियाकलापहरु सानो समूह वा व्यक्तिगत रुपमा गर्ने गराउने।

(ट) संक्रमणकालीन सिकाइलाई निरन्तरता दिँदा आइपरेका समस्याहरू समाधान गर्ने गरी नियमित रूपमा शिक्षकहरू बीचमा अनुभवको आदानप्रदान गर्ने र जटिल समस्या भएमा समाधानका लागि विज्ञहरूसँग परामर्श लिने । यसका लागि आवश्यकता र सम्भव भएसम्म अनलाइन मार्फत् पनि विज्ञसँग परामर्श गर्न सकिने ।

ई. समग्र हित र संरक्षण

(क) शिक्षक तथा विद्यार्थी आचारसंहिता कडाइकासाथ कार्यान्वयन गर्ने ।

(ख) बालबालिकाका अनुभव सुन्ने, उनीहरूको संवेदनशीलता बुझ्ने ।

(ग) अवस्था हेरी सामाजिक दुरी कायम गरी नियमित रुपमा शारीरिक व्यायाम तथा योग अभ्यासहरू गराउने ।

(घ) अत्यावश्यक सेवा जस्तैःखोप आदि उपलब्ध भएको तथा विभेद, लैंगिक हिंसा, दुर्व्यवहार आदि नभएको सुनिश्चितता गर्ने ।

(ङ) बालबालिकाका, शिक्षक र विद्यालय कर्मचारी सबैलाई कोभिड—१९ को भयबाट मुक्त गराई मनोवैज्ञानिक असर निवारणका लागि मनोसामाजिक परामर्श दिने । जटिल समस्या देखिएमा सम्बन्धित निकायमा गई सेवा लिन सहयोग गर्ने ।

उ. निरन्तर अनुगमन तथा सुपरिवेक्षण

(क) विद्यालयले नियमित रुपमा विद्यार्थी शिक्षक र विद्यालय कर्मचारीहरूको सामान्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने, कोभिड—१९ सँग मिल्ने लक्षणहरू देखिएमा वा विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारीहरू स्वास्थ्यका कारण अनुपस्थित भएमा अनुगमन गरी स्थानीय तहलाई नियमित रुपमा जानकारी गराउने ।

(ख) यदि विद्यालयमा दिवा खाजा बाहिरबाट झिकाइएको खण्डमा खाजा तयार गर्ने व्यक्ति वा क्यान्टिनले पूर्णरुपमा स्वास्थ्य उपायहरूको पालना भएनभएको विषयमा विद्यालय व्वस्थापन समितिव्दारा नियमित अनुगमन तथा सहजीकरण गर्ने ।

(ग) सुरक्षित विद्यालयको सूची अनुसार क्रियाकलाप भए नभएको नियमित अनुगमन गरी सो अनुसार गर्न सहयोग गर्ने गराउने।

(घ) स्थानीय तहले विद्यालय सञ्चालनको नियमित लेखाजोखा तथा अनुगमनका लागि सामाजिक विकास समिति वा गाउँ/नगर शिक्षा समिति परिचालन गर्ने र विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघलाई थप सक्रिय बनाउने ।

(ङ) आवश्यकता अनुसार स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क निर्माण गर्ने ।

ऊ. थप जटिलताप्रतिको क्रिया

(क) यदि कोभिड-१९ को संक्रमण पुनः बढेमा वा अन्य संक्रामक रोगको अवस्था आइपरेमा स्थानीय तहले संघ तथा प्रदेश स्तरीय स्वास्थ्य प्रोटोकल अनुसार विद्यालयसँग सहकार्य गरी विद्यालय पुनः बन्द गर्ने र फेरी सञ्चालन गर्ने सम्बन्धमा मार्गनिर्देश तयार गरी त्यसको कार्यान्वयन गर्ने ।

(ख) विद्यालयहरू पुनः बन्द हुन पुगेमा वैकल्पिक प्रणालीद्वारा विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम सिकाइलाई निरन्तरता दिने ।

(ग) विद्यालयहरू पुनः बन्द भई फेरि स्थिति सहज हुँदै जाँदा विद्यालयहरू पुनःसुचारू गर्ने गरी सुरूदेखि नै यस कार्यढाँचा अनुसार व्यवस्थापन गर्दै जाने ।

४.वित्तीय स्रोत व्यवस्थापन

उपर्युक्त कार्यढाँचा अनुसार विद्यालय पुनःसञ्चालनका लागि थप वित्तीय स्रोत समेत आवश्यक हुने भएकाले संघ, प्रदेश तथा स्थानीय तहहरूले विपद् सम्बन्धी कार्यक्रममा रहेको बजेटको समीक्षा गरी स्रोत साधन पहिचान र परिचालन गर्नेछन् भने विदयालयहरुले आफ्नो स्रोत परिचालन गर्न सक्नेछन् ।स्रोत जुटाउने क्रममा विकास साझेदार संस्थाहरू वा अन्य दातृ निकाय वा गैरसरकारी संस्थाहरू,नेपाल शिक्षा समूहका सदस्य संस्थाहरूमा रहेको विपद् सम्बन्धी स्रोत समेत परिचालन गरी व्यवस्थित रुपमा विद्यालय पुनः सञ्चालन गरिनेछ संघीय सरकारले ससर्त अनुदानका रुपमा बजेट व्यवस्थापन गरी सहजीकरण गर्नेछ ।

५.सुपरिवेक्षण, समन्वय तथा सहजीकरण

नेपालको संविधान अनुसार आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार सूचीमा उल्लेख छ तापनि यस खालको संकटको अवस्थामा संघ,प्रदेश अन्य सरोकारवालाहरूको सामूहिक प्रयास, सहकार्य र समन्वय अपरिहार्य छ । यसै विषयलाई मध्यनजर गर्दै यस कार्यढाँचामा सुपरिवेक्षण, समन्वय तथा सहजीकरणको भूमिका स्पष्ट गरिएको छ । कोभिड-१९ को महामारीका कारणबाट बन्द हुन पुगेका विद्यालयहरूको पुनःसञ्चालनलाई प्रभावकारी बनाउने कार्यमा सुरिवेक्षण,समन्वय र सहजीकरणका लागि जिम्मेवारीको व्यवस्थापन यसप्रकार छ ।

 

 

५.१ संघीय तह

विद्यालय पुनःसञ्चालनलाई प्रभावकारी बनाउने कार्यमा संघीय तहबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुख्य जिम्मेवारी निर्वाह गर्नेछ । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा केन्द्रदेखि जिल्लासम्मका संरचनाहरु समेत परिचालन गर्नेछ । कोभिड—१९ बाट बन्द हुन पुगेका विद्यालय पुनः सञ्चालन सम्बन्धमा संघीय तहका जिम्मेवारी तथा उत्तरदायित्वहरु यस प्रकार छन् ।

(क) शैक्षिक सत्र नखल्बलिने गरी समग्र शैक्षिक कार्ययोजना तयार गरी सञ्चार गर्ने ।

(ख) विद्यालय पुनः सञ्चालन सम्बन्धमा आवश्यक थप मार्गदर्शन तथा निर्देशनहरू तयार गर्ने,

(ग) विभिन्न संस्थासँग रहेको स्रोत नक्साङ्कन गरी परिचालनका लागि समन्वय र सहजीकरण गर्ने,

(घ) विद्यालय पुनः सञ्चालनका लागि उपलब्ध स्रोत ससर्त अनुदानका रुपमा प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने,

(ङ) आफू मातहतका निकायहरूको परिचालन गर्नेगराउने,

(च) शिक्षक तालिम, अभिभावक शिक्षा तथा अभिमुखीकरणको मार्गदर्शन तयार गर्ने,

(छ) विद्यार्थीहरुमा समयमै पाठ्यपुस्तक पुर्‍याउन छपाइ तथा सहजीकरण गर्ने गराउने,

(ज) वैकल्पिक सिकाइ सामाग्री उत्पादन, वितरण तथा प्रसारण गर्ने गराउने,

(झ) विद्यालय पुनःसञ्चालनको समग्र अवस्थाको अनुगमन तथा मूल्याङ्कन गर्ने,

(ञ) विद्यालय पुनःसञ्चालन सम्बन्धमा थप समन्वय र सहजीकरण कार्य गर्ने गराउने ।

५.२ प्रदेश तह                                                                                                    विद्यालय पुनः सञ्चालनलाई प्रभावकारी बनाउने कार्यमा प्रदेश तहबाट सामाजिक विकास मन्त्रालयले सामूहिक प्रयास,समन्वय,सहजीकरण गर्नेकार्यको मुख्य जिम्मेवारी निर्वाह गर्नेछन् । यसका लागि सामाजिक विकास मन्त्रालयले मातहत निकायहरु समेत परिचालन गरी विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यलाई पूर्णता दिन पहल गर्नेछ । प्रदेश तहका मुख्य जिम्मेवारी तथा उत्तरदायित्वहरु यसप्रकार छन् ।

(क) विद्यालय पुनःसञ्चालनका सन्दर्भमा थप मार्गदर्शन गर्ने,

(ख) प्रदेश तहमा प्राप्त हुने वित्तीय स्रोत पहिचान र परिचालन गर्ने,

(ग) शिक्षक तालिम तथा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन एवं सहजीकरण गर्ने गराउने,

(घ) आफू मातहतका शिक्षा तालिम केन्द्र, शिक्षा विकास निर्देशनालय लगायतका निकायहरूको परिचालन गर्ने, गराउने,

(ङ) प्रदेश भित्रका विद्यालयहरु पुनःसञ्चालनको समग्र अवस्थाको अनुगमन तथा मूल्याङ्कन गर्ने,

(च) प्रदेश स्तरका गैर सरकारी संस्था तथा शिक्षा समूहका सदस्य संस्थाहरूको परिचालन गर्ने,

(ज) विद्यालय पुनःसञ्चालन सम्बन्धी थप समन्वय र सहजीकरण गर्ने गराउने ।

५.३ स्थानीय तह

संविधानतः आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी कार्य स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्दछ । विद्यालय पुनःसञ्चालनलाई प्रभावकारी रुपमा कार्यान्यन गर्ने सम्बन्धमा स्थानीय तहले आफ्नो सामाजिक विकास समिति वा गाउँ वा नगर शिक्षा समितिलाई मुख्य जिम्मेवार बनाई विद्यालय तथा विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने छ । यस सम्बन्धमा स्थानीय तहका मुख्य जिम्मेवारी तथा उत्तरदायित्वहरु यसप्रकार छन् ।

(क) स्थानीय तहमा रोगको संक्रमणको अवस्था अनुसार थप मार्गदर्शन गर्ने,

(ख) विद्यालय पुनःसञ्चालन सम्बन्धमा स्थानीय तहमा रहेको स्रोत पहिचान र परिचालन गर्ने,

(ग) विद्यालय पुनःसञ्चालनमा स्वास्थ्य संस्था, सुरक्षा निकाय तथा शिक्षा विकास समन्वय इकाइ लगायतका निकायहरूसँग समन्वय गर्ने गराउने,

(घ) संघीय सरकारको मार्गदर्शन अनुसार आफ्नो क्षेत्रभित्र रहेका विद्यालयहरुको अवस्था विश्लेषण गरी विद्यालय पुनःसञ्चालन गर्ने गराउने,

(ङ) अनुगमन, सुपरिवेक्षण तथा सहजीकरण गर्ने लगायतका कार्यहरू गर्नका लागि आफ्नो सामाजिक विकास समिति वा गाउँ /नगर शिक्षा समितिलाई थप सक्रिय र जिम्मेवार बनाउने,

(च) स्थानीय स्वास्थ्य संस्था तथा सुरक्षा निकाय, स्थानीयस्तरमा कार्यरत गैरसरकारी तथा समुदायमा आधारित संस्थाहरूबाट थप सहयोग प्राप्त गर्ने,

(छ) विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ परिचालन गरी विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई थप क्रियाशील बनाउने,

(ज) सुरक्षित विद्यालय सञ्चालन सम्बन्धी सूचकका आधारमा अनुगमन, सुपरिवेक्षण तथा सहजीकरण गर्ने गराउने,

(झ) स्थानीय स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी विद्यालयलाई महामारीको जोखिमबाट मुक्त गराउनका लागि समन्वय गर्ने,

(ञ) क्वारेन्टिन वा आइसोलेसनका रुपमा प्रयोग गरिएका विद्यालयहरुको निर्मलीकरण गर्ने गराउने सम्बन्धी आवश्यक समन्वय तथा व्यवस्थापन गर्ने,

(ट) बालबालिकाका लागि पाठ्यपुस्तक लगायतका सिकाइ सामाग्रीको उपलब्धताको सुनिश्चिता गर्ने,

(ठ) विद्यालयहरुलाई सहयोग तथा सहजीकरण गर्नका लागि आवश्यकता अनुसार थप संयन्त्र गठन तथा परिचालन गर्ने गराउने ।

.निचोड

कोभिड-१९ का कारणबाट सिर्जित अवस्थामा संभावित जोखिमलाई रोक्न तथा भौतिक दुरी कायम गर्नका लागि चालिएको कदम स्वरुप २०७६ चैत्रबाट बन्द भएका विद्यालयहरू पुनःसञ्चालन गरी नेपालको संविधान अनुसारको शिक्षा सम्बन्धी अधिकारको प्रत्याभूति राज्यले दिनु पर्दछ । यस सम्बन्धमा संघीय सरकारबाट निर्धारित शैक्षिक सत्रको व्यवस्थापन सम्बन्धी समग्र कार्ययोजनाका आधारमा प्रदेश तथा स्थानीय तहबाट आफ्नो क्षेत्रभित्रका विद्यालयहरु सुरक्षित रुपमा पुनःसञ्चालन गर्न तयार परिएको कार्यढाँचाको कार्यान्वयनबाट विद्यालयलाई सुरक्षित, भय रहित तथा महामारीको जोखिमबाट टाढा राख्न सकिने र विद्यालय पुनःसञ्चालन गरी बालबालिकाको सिकाइ निरन्तर रुपमा सञ्चालन गरी महामारीका कारणबाट विद्यालयीय शिक्षामा पुगेको क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने विश्वासका साथ यो मार्ग चित्र तर्जुमा गरिएकाले संघ, प्रदेश तथा स्थानीय तहले यसलाई मुख्य दिशाबोधका रुपमा लिई कार्यान्वयनमा जानाले विद्यालय सुचारु भइै सबै खालका बालबालिकाको  अधिकार सुनिश्चित हुनेछ ।