After SEE Portal

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त

Bridge Course

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजङ्ग बराल नियुक्त  भएका छन् ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको  प्रधानमन्त्री सचिवालयले जनाए  पनि प्राप्ताङ्कमा प्राडा बुढाथोकीभन्दा बराल पछाडि थिए । 

को हुन् बराल

त्रिविका नवनियुक्त उपकुलपति बराल प्रधानमन्त्री प्रचण्डका विश्वास पात्र मानिन्छन् । पाल्पा कुवाडीका ६५ वर्षीय बरालले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने दिल्ली विश्वविद्यालयबाट पिएचडी गरेका छन् । उनी २०६४ सालमा पोखरा विश्वविद्यालयको उकुलपतिका रुपमा नियुक्त भएका थिए । 

उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका बराल २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएका थिए।  पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए। उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए । २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी (पीएचडी) को उपाधि प्रदान गर्‍यो। 

२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड मेम्बर पनि भए । त्रिविको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरे। त्यसपछि २०६९ सालमा उनी भिजिटर प्रोफेसरको रूपमा पढाउन चीन गए। त्यहाँ एक वर्ष पढा र त्यसपछि नेपाल फर्किए। नेपाल फर्केर त्रिविमा नै पढाउन थाले र २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भए। 

उनी महेन्द्र विद्या भूषण पदक ‘क’,  राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् । उनी पाठ्यक्रम विकास उपसमितिको संयोजक र नेपाल खुला विश्वविद्यालयको रणनीति योजना तर्जुमा उपसमितिको सदस्य समेत हुन् ।

उनी वित्त विज्ञ समेत रहेको उनको निकट स्रोतले जानकारी दियो । अमेरिकी वित्त संघ,  एसियाली विकास बैंकको परामर्शदाता,  र  अमेरिकन एकेडेमी अफ फाइनान्सियल म्यानेजमेन्टको मानार्थ ग्लोबल एडभाइजर हुन् । उनी पोखरा विश्वविद्यालयमा छँदा सम्बन्धन र अनावश्यक सेवा सुविधा वितरण गरेको विषयमा विवादमा परेका थिए । तर उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा मुद्दा चलाए पनि यस अघि नै सफाइ पाइसकेका छन् ।

A Levels MA
Thuprai - Books and E-books