After SEE Portal

सकारात्मक ऊर्जा नै सफलताको मूल मन्त्र

Bridge Course

हुने बिरुवाको चिल्लो पात । राम्रो छ अझ राम्रो गर्न सक्छौं । राम्रो छ अलिकति मेहनत गर्ने हो भने धेरै राम्रो उपलब्धि हासिल गर्न सक्छौं । विद्यालय तथा कलेजमा सरहरूले गरेका यस्ता उत्प्रेरणामूलक शब्दले मेरिना नेपालीलाई अझ मेहनत गर्ने प्रेरणा दियो । सबैको सकारात्मक उत्प्रेरणाका कारण ललितपुरको कुपण्डोलमा जन्मिएकी मेरिनालाई सधै केही गर्नुपर्छ, प्रगति गर्नुपर्छ, सबैको विश्वास र सपनालाई साकार पार्नुपर्छ भन्ने लागिरह्यो । थप मेहनत गर्न प्रेरणा मिल्यो । फलस्वरुप उनलाई त्रिभुवन विश्वविद्यालयले आफ्नो ४७ औं दीक्षान्त समारोहमा ‘श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’ ले दीक्षित गर्यो । स्कुल अफ म्यानेजमेन्ट, त्रिवि कीर्तिपुरबाट एमबीएमा ३.९२ जीपीए ल्याएर उत्कृष्ट भएपछि उनले त्रिविको सो स्वर्ण पदक हात पारेकी हुन् ।

बुबाआमाको साथमा मेरिना

सानैदेखि उनलाई लेख्न पढ्न धेरै सिकाउनु पर्दैन थियो । ‘स्कुलमा पहिलो दिन थियो, मेमले एबीसीडी र कख सार्न लगाउनु भयो ।’ पहिलो दिन स्कुल गएको स्मरण गर्दै उनी भन्छिन्, ‘पढाइमा रुचि थियो, बुकमा भएको जस्ताको त्यस्तै सारे, भोलिपल्ट मेमले ममीलाई बोलाएर तपाईंको बच्चा अर्को विद्यालयबाट सारेर ल्याउनु भएको हो भन्नुभयो, तर मैले जीवनमा पहिलोपल्ट स्कुलमा पाइला राखेकी थिए ।’

सानै देखि राम्रो उपलब्धि

आफूले होस सम्हालेदेखि नै नयाँ केही गर्नुपर्छ भन्ने लाग्थो रे। आमाबुबाको नाम राख्नुपर्छ सधै, त्यो भन्दा पनि अझ राम्रो गर्नु पर्छ भन्ने लागि रहने उनी बताउँछिन् । ‘जीवनमा आरोह अवरोह दुवै आए, परिवार, शिक्षक र साथीहरूको साथ सहयोगले स्वर्ण पदक हात पारेको हुँ ।’  उनले भनिन्, ‘नियमित कक्षामा जान्थेँ, सरले भनेको महत्वपूर्ण कुराको नोट बनाउने गरेको थिएँ । कहिल्यैं परीक्षा केन्द्रित भएर पढिन सबै कक्षामा नोट गर्थे, त्यसैले सफलता हात पार्न सहयोग पुर्यायो ।’

उनका बुबाआमा अवकास प्राप्त सरकारी जागिरे हुन् । उनलाई सानो छँदा भनेको समयमा पढाउन समय मिल्दैन थियो उहाँहरुलाई । तर उनी सानै देखि मेहनती र परिश्रमी थिइन् । कक्षा  पाँच सम्म उनले  अमरशिशु प्राथमिक  विद्यालयबाट उत्तीर्ण गरिन् । त्यसपछि कक्षा १२ सम्म भिएस निकेतनबाट गरिन् । उनले माध्यमिक शिक्षा परीक्षा एसएलसी पनि डिस्टिनसनमा  उत्तीर्ण गरिन् । कक्षा १० सम्म पनि उनी कक्षामा  तेस्रो स्थानभन्दा पर गइनन् । धेरैजति प्रथम हुने गरेको बताइन् । 

उनको उच्च शिक्षा

व्यवस्थापन पढेका जनशक्तिले बैंक, कर्पोरेट हाउस र संघ-संस्थालगायतमा सम्मानित रोजगारी पाउने गरेका छन् । व्यवस्थापनका जुनसुकै विषय पढेका विद्यार्थीले रोजगारीका लागि गल्लीगल्ली भौतारिनु पर्ने अवस्था नभएका कारण जुनसुकै कलेजमा पनि यो समूहका विषयमा विद्यार्थीको आकर्षण धेरै भएको उनले सुरुमै बुझेकी थिइन् । त्यसैले एसएलसीपछि उनले व्यवस्थापन संकाय रोजिन् । उनले कक्षा ११ र १२ पनि भिएसबाटै डिस्टिनसनमा  उत्तीर्ण गरिन् । तयसपछि उनले स्नातक तहमा  बीबीए रोजिन् । उनले सोह्रखुट्टेको मोडर्न नेपाल कलेजबाट  बीबीए गरिन् । बीबीएमा  उनले कलेज टप गरेर उत्तीर्ण गरिन् ।

त्यसपछिको अध्ययनको गन्तव्यका  रुपमा उनले त्रिविको स्कुल अफ म्यानेजमेन्ट रोजिन् । त्यहीबाट एमबीए उत्तीर्ण गरिन् । उनले एमबीए त्रिविकै उत्कृष्ट छात्राका रुपमा उत्तीर्ण गरेर ‘श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’ हात पार्न सफल भएकी हुन् । उनलाई परीक्षाको तयारी गरिरहँदा राम्रो गरे भन्ने लागेको थियो । उनलाई विश्वास थियो की म आफ्नो कलेजको टप बन्छु भन्ने तर त्रिवि टपर हुन्छु होला जस्तो लागेको थिएन । उनलाई पदक पाउने विद्यार्थीको नामावली गोरखापत्रमा छापिएपछि त्यहाँ सो पदकका लागि आफ्नो नाम देख्दा हर्ष विभोर भएको बताउँछिन् ।  कलेज टप गरे भन्ने थाहा थियो उनलाई। एकदम धेरै खुसी लाग्यो । हार्ड वर्कको फल पाएँको अनुभूति भयो  ।

कक्षामा सधै राम्रो

त्रिविको स्कुल अफ म्यानेजमेन्टमा एडमिसनका लागि  नै कडा प्रतिस्पर्धा हुन्छ । सीमित कोटामा आफ्नो नाम निस्एिपछि हरेक क्लास टेस्टमा राम्रो नतिजा आउने गरेको उनी बताउँछिन् । उनले कहिल्यै परीक्षा केन्द्रित भएर पढिनन् । सबै विषयका सरले लिएको कक्षामा राम्रो सुन्ने, आफूलाई महत्वपूर्ण लागेका कुरा नोट गर्ने र त्यसलाई आफूले रिभिजन गर्ने गरको उनी बताउँछिन् । यसका अलावा  एमबीएमा भर्ना भएदेखि नै असाइनमेन्ट तथा क्लास टेस्टमा उत्कृष्ट छात्राको रुपमा उनले आफूलाई चिनाएकी थिइन् । हरेक टेस्टमा उनी प्रथम हुन्थिन् । सरले दिएको असाइनमेन्टलाई बुझेर मात्र गर्ने गरेको उनी बताउँछिन् ।

प्रश्नको उत्तर उदाहरण दिएर लेख्नुपर्छ

कहिल्यै पनि अर्काको अनुकरण गर्नुहुँदैन । तयारी नै परीक्षा केन्द्रित भएर गर्नु हुँदैन । हरेक प्रश्नमा  कम्तीमा  एउटा उदाहरण दिनुपर्छ । ‘सफल हुन अर्काको अनुकरण गर्नुहुँदैन ।’ उनी भन्छिन्, ‘कुनै पनि प्रश्नको उत्तर लेख्दा त्यो प्रश्नसंग मेल खाने उदाहरण दिएर लेख्यो भने प्रभावकारी हुन्छ, त्यसले नतिजा राम्रो ल्याउन सहयोग पुर्याउँछ ।’

विद्यार्थीको सफलता उसको मेहनतमा  भर पर्नेमा उनी विश्वस्त छिन् । केही गर्नैपर्छ भनेर मेहनत गर्यो भने सफलता हात पर्ने उनको सुझाव छ । परीक्षाको समय मात्र राम्रो मेहनत गरेर नतिजा ल्याउँछु भनेर विद्यार्थीले सोचेको उपलब्धि हासिल गर्न नसक्ने उनको बुझाइ छ । सधै आफू आफ्नो परिवार र आफ्नो  सरले पढाउँदा नै धेरै कुरा बुझिने उनी बताउँछिन् । ‘आमाबुबाको नाम राख्नुपर्छ भनेर अगाडि बढेको थिए ।’ उनले भनिन्, ‘परीक्षा केन्द्रीत कहिल्यै भइन; नलेज बढाउनलाई पढें, सरको सकारात्मक ऊर्जा मेरा लागि रामवाणको काम गर्यो ।’

व्यस्थापनमा भविष्य

म्यानेजमेन्टमा टिमवर्क चाहिन्छ । बीबीएपछि जनशक्तिले बैंक, कर्पोरेट हाउस र संघसंस्थानलगायतमा सम्मानित रोजगारी पाउछन् । यसका अलावा व्यवस्थापन संकायको अध्ययनपछि स्वरोजगार उत्पादन हुन्छन् ।  त्यसैले उनले यो विषय रोजेकी हुन् । बीबीएपछि नै उनले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर अहिले विमा समितिमा कार्यरत छिन् । उनी विमा समितिको सहायक निर्देशकको रूपमा कार्यरत छिन् । उनको अबको सपना भनेको विमामा नै उच्च शिक्षा हासिल गरी राष्ट्रको आर्थिक उन्नतिमा टेवा पुर्याउने रहेको छ ।

पापी कोरोना

उनले कडा परिश्रम गरेर हात पारेको पदक लिने बेलामा साथमा बुबाआमा नभएपछि दुःख लागेको छ । उनले त्रिवि जस्तो प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षामा उत्कृष्ट हुन पाउँदाका खुसी कोरोनाका  कारण आमाबुबासंग परीक्षा नियन्त्रण कार्यालयको प्राङ्गणमा साट्न नपाएपछि दुखी भइन् उनलाई त्यति नै दुःख लाग्यो त्रिविका कुलपतिले हातमा मेडेल दिँदा । उनलाई सानैदेखि लाग्थ्यो उच्च शिक्षामा उत्कृष्ट भएपछि पाएको मेडेल सो संस्थाको संरक्षकले लगाइदिँदा गर्वले छाति फुल्छ भनेर तर त्यसो नभएपछि खल्लो लागेको उनले बताइन् । ‘मेडल त गलामै लगाइ दिनुहुन्छ भनेको लगाइ दिनुभएन ।’ उनले भनिन्, ‘अत्यन्त खुसीका विच केही दुख लाग्यो ।’

A Levels MA
Thuprai - Books and E-books