After SEE Portal

खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै पोखरा विश्वविद्यालयले रजत जयन्ती मनाउँने

Bridge Course

पोखरा विश्वविद्यालयले आफ्नो रजत जयन्ती खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरी मनाउने भएको छ ।

 विश्वविद्यालयले आगामी साउन एक गते मनाउन लागेको रजत जयन्तीमा सञ्चालन हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रममा सहभागिताका लागि विभिन्न स्कूलका, विभागलाई निर्देशन दिँदै विभिन्न कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ ।

विश्वविद्यालयले आफना मातहतका स्कुल, विभाग र क्याम्पसबाट सो प्रतियोगिताका लागि प्रतिनिधि पठाउन निर्देशन दिएको छ । विश्वविद्यालयले असार ३ गते शुक्रवार विहान ११ बजे ‘पोखरा विश्वद्यिालयको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयमा पोखरा विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको सभाहलमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

सो प्रतियोगितामा स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी गराउने भएको छ । प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरुको विवरण जेठ ३१ गते भित्र विद्यार्थी कल्याण निर्देशनालयमा आइपुग्ने गरी पठाउन निर्देशन दिएको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको अध्यक्षतामा गठित रजिष्ट्रार, संकायका डीनहरू, परीक्षा नियन्त्रक लगायत अन्य पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू सम्मिलित रजत जयन्ती मूल तयारी समितिले उक्त निर्देशन दिएको हो ।

त्यसैगरी विश्वविद्यालयको रजतजयन्तीको असार ५ गते देखि १० गते सम्म विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायहरुमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुमा सक्रिय सहभागिताको लागि विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायहरुमा कार्यरत सम्पूर्ण पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुलाई निर्देशन समेत दिएको छ ।

साथै प्रतियोगितामा भाग लिनको लागि जेठ ३१ गते भित्र आफू कार्यरत निकायको सम्बन्धित प्रशासन प्रमुख (कर्मचारी) समक्ष आफ्नो नाम वा समुहको नाम उपलब्ध गराइदिनुहुन सम्पूर्ण पदाधीकारी, शिक्षक तथा कर्मचारीलाई निर्देशन दिइसकेको छ ।

विश्वविद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा विश्वविद्यालयले रचनात्मक कार्य गरी रजतजयन्ती मनाउने लागेको हो । यसका साथै २५ वर्षसम्म गरेका कार्यहरूलाई समेटि वृत्तचित्र निर्माण र त्यसको प्रचारप्रसारलाई समेत जोड दिइने छ । विश्वविद्यालयले मनाउन लागेको रजत महोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको वकृत्व कला, फुटबल, हाजिरी जवाफ, सांस्कृति कार्यक्रमजस्ता प्रतिभा प्रस्फुटन र मनोरञ्जनका कार्य समेत सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयको समग्र गतिविधिलाई समेट्ने गरी विश्वविद्यालयको प्रोस्पेक्टस्, रजत स्मारिका प्रकाशन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको छ । विश्वविद्यालयको छविलाई प्रबद्र्धन गर्ने खालका टि–सर्ट, स्टीकर, लोगो, व्याज, कप, बलपेन, पेन होल्डर तथा क्याप प्रयोगमा ल्याउने भएको छ ।

A Levels MA
Thuprai - Books and E-books