पछिल्लो २४ घण्टामा देशभर ८९ बालबालिका कोभिड–१९ संक्रमित भएका छन् । संक्रमित मध्ये ९ वर्षसम्मका बालबालिका१७ जना र १०–१९ वर्षका ७२ जना छन् । शुक्रबारसम्म ८१ जना बालबालिका संक्रमित थिए । हिजो मात्र ९ जना बालबालिकामा कोरोना पोजेटिभ देखिएको छ ।
गत वैशाख २ गते मात्र ५२ जना बालबालिकामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेशगत रुपमा हेर्दा पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा विराटनगरमा मात्र ७ देखि १४ वर्ष उमेरका २१ बालबालिका एक साताभित्र कोरोना संक्रमित भएका छन् ।
विराटनगर महानगर स्वास्थ्य शाखाका अनुसार संक्रमितमध्ये आधा स्थानीय चलेको ठुला भनिएका निजी विद्यालयमा अध्ययनरत बालबालिका रहेका छन् । पछिल्लो साता विराटनगरमा २१ जना २० वर्षमुनिका बालबालिका संक्रमित भएका थिए ।
प्रदेश २ मा शनिबार संक्रमण देखिएका ६९ जनामध्ये २० जना ३० वर्षमुनिका छन् । शनिबार थपिएका संक्रमितमध्ये १२ वर्ष उमेरका बालक पनि छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वीरगन्जस्थित नर्सिङ क्याम्पसका २५ जना विद्यार्थीमा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेश प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो एक सातामा पोखराका विभिन्न १२ वटा विद्यालयमा अध्ययनरत ८९ बालबालिका संक्रमित भएका छन् । गण्डकीमा ११ देखि १६ वर्ष उमेर समूहका बालबालिका बढी प्रभावित छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बालबालिकामा कोरोना संक्रमण बढे पनि कसरी अघि बढ्ने भन्नेबारे कुनै निर्णय नभएको बताए । बागलुङको धौलागिरि प्राविधिक शिक्षालयको छात्रावासका२५ विद्यार्थीमा कोरोना पुष्टि भएको छ । त्यसबाहेक एक सातामा बागलुङ नगरभित्रका ५ शिक्षक र १० विद्यार्थीमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
बालबालिकामा कोरोनाको संक्रमण तीव्र देखिन थालेपछि अधिकांश अभिभावकहरु स्वतः स्फुर्त रुपमा आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने निर्णयमा पुगेका छन् । अधिकांश अभिभावकले आफ्नो समाजिक सञ्जाल पेजमा भवितव्य आइपरेमा आफ्नै क्षति हुने भन्दै आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने घोषणा गर्न थालेका छन् ।
विगत तीन दशक भन्दा अगाडि देखि शिक्षामा कलम चलाउँदै आएका शिक्षा पत्रकार प्रकृति अधिकारी लेख्छन्, ‘यसो गरे कसो होला ? कक्षा ९ सम्मको शैक्षिक सत्रलाई जेठ वा असारसम्म तन्काइरहनु आवश्यक छैन, चैत मसान्तसम्म सक्दा हुन्छ ।भनेर जनवरी ३ तारिखमा मेरो पेजमा लेखेको थिए । संयोग, अवस्था त्यस्तै देखियो । एसईई र कक्षा १२ को परीक्षा जेठमा सक्दा हुन्छ तर त्योभन्दा मुनिको वार्षिक परीक्षा गत चैतमा सकिएको भए यतिबेला विद्यार्थीमा कोरोना संक्रमणको आतंक भोग्नुपर्ने थिएन । २०७८ सालको शैक्षिक सत्रलाई १० महिनामा सक्ने भनिएको छ । २०७७ सालको शैक्षिक सत्रलाई १० महिनामा सक्दा बित्ने चाहिँ के थियो ? विपतका बेलामा सामान्य जस्तो परिस्थिति पक्कै रहँदैन । शैक्षिक सत्रलाई असारसम्म तन्काए पनि उनीहरुको यस वर्षको सिकाइ पुग्दै पुग्दैन । त्यसैले चैतमा सक्नु र जेठमा सक्नुमा तात्विक अन्तर रहँदैन । त्यसैले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीले सही निर्णय लिन नसकेको नै मेरो ठम्याइ छ । यतिबेला शैक्षिक सत्र सकिएको भए एसईई र कक्षा १२ का विद्यार्थीले घरमै परीक्षाको तयारी गर्ने थिए ।’
यस बीचमा केही विद्यालयमा कोरोनाको समस्या देखिएको छ । देशभरिका विद्यालयमा फैलिएको जस्तो गरी आतंक सिर्जना गरिएको छ । जुन विद्यालयमा समस्या देखिएको छ ती विद्यालयलाई एक साताका लागि बन्द गर्ने । जुन विद्यालयमा देखिएको छैन तिनका तल्लो कक्षा बन्द गरी माथिल्लो कक्षामात्र सञ्चालन गर्ने । विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्न चाहेमा समस्या नदेखिए पनि पूरै विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट पठनपाठन नियमित गर्ने । आफ्नो बस नभएका वा सार्वजनिक यातायात चढेर आउनुपर्ने विद्यार्थीलाई एक साताका लागि घरमै बस्न लगाउने । यी लगायतका उपाय अवलम्बन गर्न सक्यौँ भने समस्या र भय घट्न सक्ने देखिन्छ । नत्र आफ्ना छोराछोरीलाई घरैमा राख्दा हुन्छ ।’
अभिभावक तथा पत्रकार लेनिन बन्जाडे आफ्नो फेसबुक पेजमा लेख्छन्, ‘सरकारले निर्णय गरोस्÷नगरोस्, प्याब्सनले स्कुल बन्द गरोस्÷नगरोस्—हामीचाहिँ आजबाट छोरालाई स्कुल नपठाउने निर्णयमा पुग्यौं । मिले अनलाइनमा, नमिले घरमा आफैं पढ्ला । परीक्षा दिन नपाए अर्को वर्ष ५ कक्षा पास गर्ला । यस्तो स्वाँठ सरकारको भर पर्ने हो भने हातमा पछुतोबाहेक अरू विकल्प रहन्न !’
सुवास जोसनले पनि छोरालाई स्कुल नपठाउने निधो गर्दै केही दिन अघि नै ट्वीट गरेका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन्, ‘आफूले त छोरालाई स्कुल नपठाउने निर्णय गरियो । स्कुलले धेरै फी मागे दिउँला तर आफ्नो बच्चा दिन सकिएन ,’ उनले लेखेका छन् ।
भक्तपुरका अधिकांश निजी विद्यालयमा विगतको तुलनामा २० प्रतिशत विद्यार्थी कम आउने गरेको विद्यालयका सञ्चालकहरु बताउँछन् । अभिभावकले जति सम्झाए पनि आफ्ना छोराछोरी स्कुल पठाउन छाडे बरु यसको विकल्पमा सरकारले सबै बालबालिकाको पहुँचमा इन्टरनेट पुर्याएर वैकल्पिक कक्षा नै सञ्चालन गर्ने आधिकारिक घोषणा गरिदिए हुन्थ्यो भक्तपुरका एक निजी विद्यालय सञ्चालकले भने । ‘हाम्रा पनि ससाना छोराछारी छन्, स्कुल नपाऔं भने अरुका छोराछोरी नआउलान् ? पठाउँ भने स्थिति सहज छैन के गर्ने ? के नगर्ने दोधार छु’ उनले सुनाए ।