लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

क्याम्पसमा सञ्चालित विभिन्न कार्यक्रम तथा तहहरुमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुसँग चरणबद्ध रुपमा भेला तथा अन्तरक्रिया गर्ने क्याम्पसको नियमित कार्यक्रम अन्तर्गत पहिलो चरणमा सेमेस्टर प्रणालीमा आधारित बिबिए.–एफए. कार्यक्रमको पाचौं सत्रमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भेला आयोजना गरिएको हो ।

भेलाको अध्यक्षता समेत गर्नुभएका शिक्षक अभिभावक संघ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष लोकराज शर्माले क्याम्पसको शैक्षिक उन्नयनका लागि यसप्रकारको अन्तरक्रिया कार्यक्रम अत्यावश्यक रहेको बताउदै अभिभावकले पनि समय समयमा क्याम्पस प्रशासनलाई रचनात्मक सुझाव प्रदान गर्नुपर्ने बताए ।

यस्तै अभिभावक विष्णु न्यौपानेले शैक्षिक क्षेत्र शान्ति क्षेत्र भएकाले यसलाई सोही अनुसार लैजान र विद्यार्थीका लागि गरिने अनुसन्धानमुलक कार्यक्रमहरु थप गर्न पनि सुझाव दिनुभयो । अभिभावक कल्पना तिवारीले अभिभावकहरुको भेला नियमित गर्नुपर्ने बताउदै क्याम्पसले विद्यार्थीका लागि गर्ने गतिविधि, विद्यार्थीको पठनपाठन संतोषजनक रहेको बताउ ।

अभिभावक नेत्र प्रसाद बेलबासेले आजका विद्यार्थीहरु विद्युतीय यन्त्रमा अधिक रमाउने भएकाले यसको मनोवैज्ञानिक रूपमा पर्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा समय समयमा विज्ञमार्फत कक्षाहरु संचालन गर्नुपर्ने बिचार व्यक्त गरे । गुल्मीबाट भेलामा सहभागी हुन आएका अभिभावक कृष्णप्रसाद ढकालले टाढाका अभिभावकहरुलाई यस प्रकारको कार्यक्रममा सहभागी हुन कठिन हुने भएकाले समय समयमा क्याम्पसले अभिभावकसंग वैकल्पिक माध्यमबाट छलफल चलाउनुपर्ने बताए ।

भेलामा उठेका जिज्ञासा तथा प्रश्नहरु बारे प्रकाश पार्दै क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले क्याम्पस प्रशासनले विद्यार्थीको सिकाइको चाहना, अभिभावकको रचनात्मक सुझावको अपेक्षा सधै गर्ने बताए । क्याम्पसको थप शैक्षिक तथा भौतिक विकासका लागि आएका सुझावहरु कार्यान्वयन गर्न वातावरण मिलाउने बताउदै  विद्यार्थीको अध्ययन गर्ने शैली समय सङ्गै परिवर्तन भएकोले अभिभावकहरुले पनि विद्यार्थीहरुलाई प्रविधिको प्रयोग गर्ने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए ।

भेलामा बोल्दै बिबिए कार्यक्रम इन्चार्ज द्वारिका प्रसाद गौतमले  बिबिएका विद्यार्थीहरुलाई अध्ययनमा मात्र केन्द्रित नगराई चौतर्फी विकासका लागि शैक्षिक तथा खोजमुलक अनुसन्धान, आउटस्टेसन कार्यक्रम, अतिरिक्त क्रियाकलाप, विभिन्न प्रकारका तालिममा पनि जोड दिने गरिएको बताए । भेलाको सञ्चालन काउन्सिलिङ एण्ड प्लेसमेन्ट सेल संयोजक एवं शिक्षक अभिभावक संघका सचिव उपप्राध्यापक डिल्लिराज गौतमले गरेका थिए ।

 

Thuprai - Books and E-books