Thuprai - Books and E-books
Scholarship edusanjal

निजी भन्दा कम छैन पञ्चकन्या

Admission edusanjal
Schools edusanjal
तस्वीर सौजन्यः बिनिता रञ्जित 

ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सीर्जना शक्ति गरेर कहिल्यै हुँदैन विफल भन्ने राष्ट्रकवि माधव प्रसाद घिमिरेको कवितालाई बालुवाटार लम्टङ्गीन स्थित पञ्चकन्या आधारभूत विद्यालयले चरितार्थ गरेको छ ।

परैबाट देखिने पहेलो रंगको अग्लो भवन । तीनतिर गाडी गुड्ने बाटो । एकापट्टि ठुलाठुला भवनकोे च्यापमा चेपिएको साघुरो क्षेत्रफलमा छ । तर प्रवेशद्वारबाट छिर्ने बित्तिकै बसौंबबसौं, पढौंपढौं र खेलौंखेलौं लाग्ने छ पञ्चकन्या ।

पहिले पल्ट पुग्ने जो कोहीलाई के यो सामुदायिक विद्यालयनै हो त ? भन्ने लाग्न सक्छ । झट्ट हेर्दा राजधानीका महंगा निजी विद्यालयभन्दा राम्रो देखिन्छ । विद्यालयको मुलगेट छेवैमा फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोरका डस्टविन । त्यसैको छेउमा आधुनिक खानेपानीका धारा । साघुरो खेलमैदान । भित्तामा झुन्डिएका गमलामा ढकमक्क फूलेका थरिथरिका फूल । विद्यालय भवनको भित्तामा दाँयातिर विद्यालयको बारेमा लेखिएको गीत । अर्कातिर भित्तामा नेपालको नक्सा, बुद्धको आकृति र शिक्षाविद्का आकर्षक वाणीहरुलाई हेर्दा मनै प्रफूल्लित पार्ने छ पञ्चकन्या ।

व्यवस्थित र आकर्षक कक्षाकोठा । हरेक कक्षामा स्मार्टबोर्ड । भित्तामा विषय र पाठ्यवस्त अनुकूलका अक्षरपत्ति, शब्दपत्ति र वाक्यपत्ति, सूत्र तथा प्रोजेक्ट वर्कलाई कलात्मक ढंगले सझाएर टासिएको छ । ‘ सिकाइलाई जीवन्त र प्रभावकारी बनाउन डिजिटल बोडको प्रयोग गरेका हौं ।’ प्रधानाध्यपक बिनिता रञ्जित भन्छिन्, ‘हामीलाई विद्यालय व्यवस्थापन गर्नका लागि छुट्टै रकम कतैबाट आएको होइन अरु विद्यालयलाई जस्तै अनुदान आउँछ हामी त्यसलाई सदुपयोग गरेर विद्यालय व्यवस्थापन गर्छौं ।’

खेलमैदान अभाव

वि.सं २०१७ सालमा स्थापना भएको यो विद्यालयले अनेक उतारचढाब पार गरिसकेको छ । विद्यालयका संस्थापक प्रधानाध्यपक भक्तबहादरु खड्काले आफ्नै घरको दलानबाट सुरु गरेको विद्यालय टुडाल मन्दिर हुँदै लम्टङ्गीन सम्म आइपुगेको छ । वि.सं २०४५ सालमा विद्यालय लम्टङ्गीनमा तीनकोठे सानो टहरोबाट पाठनपाठन गर्न सुरु गरियो । ‘सुरुमा ७०–८० जना विद्यार्थीलाई सुकुलमा लहरै राखेर पढाइन्थ्यो ।’ प्रधानाध्यापक रञ्जित भन्छिन्, ‘तीनतिर बाटो बन्यो एकातिर ठुलाठुला भवन बने खुम्चिँदै खुम्चिँदै अहिले विद्यालयको जग्गा १८ आनामा सीमित भयो ।’ उनकाअनुसार खेलमैदान साँगुरो भएका कारण एकै समयमा विद्यार्थीलाई प्रार्थना गराउन समेत समस्या हुने गरेको छ ।

विद्यार्थी टिकाउने अभियान

०७२ सालको विनाशकारी भूकम्पपछि विद्यालयले विद्यार्थी संकट खेप्यो । तीन सयभन्दा बढी विद्यार्थी पढाइ रहेको विद्यालयमा अचानक दुई सयभन्दा कम विद्यार्थी भए । त्यसपछि विद्यालयमा विद्यार्थी बढाउन विभिन्न खालको अभियान चलायो । भवनमा रंग लगाउनुका साथै पठनपाठनको शैली परिवर्तन गर्‍यो। ‘हाम्रो प्रतिस्पर्धा संस्थागत विद्यालयसँग हो । त्यसैले माध्यम भाषा अङ्ग्रेजी बनायौं । ’ प्रधानाध्यापक रंजितले भनिन्,‘हाम्रो विद्यालयमा विद्यार्थीलाई ग्रेड हासिल गर्ने भन्दा पनि सीप हासिल गर्ने सीप दिन्छौं । हाम्रा विद्यार्थी आधारभूत तहका मात्र भए पनि रुचि अनुसारका चित्र कोर्न, कपडामा बुटिक भर्न सक्षम छन् ।’

विद्यालयमा विद्यार्थी आकर्षण गर्ने उद्देश्यले २०७२ पछि नर्सरी र कक्षा १ का सबै विद्यार्थीलाई निशुल्क खाजाको व्यवस्था गर्‍यो । सुरुमा शिक्षकहरुले आफै पैसा उठाएर खाजा खुवाउँथे । अहिले भद्र वर्षा नेपालसँग सहकार्य गरेर खाजा खुवाउँदै आएको छ । ‘अहिले दुवै कक्षाका विद्यार्थीको खाजाको सम्पूर्ण खर्च वर्षा नेपालले व्यहोर्दै आएको छ ।’ प्रधानाध्यापक रञ्जितले भनिन्, ‘भद्र वर्षा नेपालले खाजाको व्यवस्था गरिदिएपछि अभिभावकहरु पनि खुसी हुनुभएको छ ।’

छिमेकी विद्यालयका विद्यार्थी घुम्न आउने

विद्यालयको भैतिक तथा शैक्षिक व्यवस्थापन हेर्न नजिकै रहेका विद्यालयका विद्यार्थीहरु आउने गरेका छन् । घुम्न आउनेमा धेरै संस्थागत विद्यालयका विद्यार्थीहरु आउने गरेको विद्यालयले जानकारी दियो । ‘वरिपरिका निजी विद्यालयका विद्यार्थी छुट्टी भएपछि यो बाटो जाँदा विद्यालयमा पसेर मात्र जान्छन् ।’ प्रधानाध्यापक रञ्जितले भनिन्,‘अहिले त बोडिङ्बाट हाम्रो विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या बढेको छ । भर्नाको समयमा यसको चाप बढी हुन्छ । यो वर्ष मात्र १०÷१५ जना स्थानीय नाम चलेका निजी विद्यालयका विद्यार्थी आएका छन् ।’

आमा जस्ता गुरुआमा

गुल्मी घर भएका छात्र सुधन खत्री अहिले महाराजगञ्जमा बस्छन् । उनी पहिले महाराजगञ्जकै निजी विद्यालयमा पढ्थे । अहिले उनी पन्चकन्यामा नै पढ्छन् । पहिले उनलाई विद्यालय जानै मन लाग्दैन थियो । ‘बोडिङमा पढुन्जेल मलाई स्कुल जानै मन लाग्दैन थियो तर अहिले विद्यालय आएपछि चाँडै घरै जान मनलाग्दैन’ उनले भने, ‘पाँच कक्षा सम्म निजी स्कुलमा पढे तर मैले त्यहाँ पढाएको केहि बुझ्दैन थिए । कसैसँग आफ्ना कुराहरु भन्न पनि नपाइने कुटाइ खाइ हालिन्थ्यो तर अहिले यस्तो छैन सबै गुरुआमाहरु आमाजस्तै हुनुहुन्छ । माया गर्नुहुन्छ । खेल्दै,गाउँदै सिकाउनु हुन्छ ।’

महंगो शुल्क । विद्यालयले नै निर्धारण गरेको स्टेशनरी सामान किन्नै पर्ने व्यवस्था । न्यून परिवारिक आय स्रोत खर्च धान्न नसकेर सामुदायिक विद्यालयमा भर्ना भएका उनी अहिले निजीकै वातावरणमा पढ्न पाएको खुसी छन् । ‘बुबा बितेपछि पढ्दै आएको स्कुलको फि तिर्न नसकेर आमाले एक जना अंकलको सल्लाहमा यो विद्यालयमा पढ्न पठाउनु भएको हो ।’ उनले भने, ‘कक्षामा पढाउने गुरुआमाले आमाले जस्तै माया गरेर सिकाउनु हुन्छ । नजानेको कुरा दोहोर्‍याइ, दोहोर्‍याइ, रमाइलो पाराले सिकाउनु हुन्छ त्यसैले मलाई माथिल्लो कक्षा पनि यही पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ ।’

शिक्षकहरु विद्यार्थीलाई धेरै माया गरेर पढाउँछन् । कक्षा ७ मा पढ्ने छात्रा अनिता कठायत भन्छिन् ‘म्याडमहरुले धेरैनै माया गर्नुहुन्छ । बुझाएर पढाउनुहुन्छ ।’ उनी गाँउमा ४ कक्षा सम्म पढेर यो स्कुलमा आएकी हुन् । यहाँ आएपछिका हरेक पाठ आफूले सजहै बुझ्ने गरेको बताउँछिन् ।

‘हामी निजी विद्यालयसँग जुनसुकै पक्षमा पनि प्रतिस्पर्धा गर्न सक्छौं ।’ प्रधानाध्यापक रञ्जितले भनिन्,‘हामी सीपलाई व्यवासायसँग जोडेर दिन्छौ । हाम्रा उत्पादन विद्यालयबाट निस्केपछि एक न एक क्षेत्रमा काम गरेरै बाच्न सक्छन् ।’ उनका अनुसार विद्यार्थीको रुचिलाई ध्यानमा राखी संगीतका कक्षाको पनि व्यवस्था गरिएको छ । यसका लागि एक एकजना संगीत प्रेमि पूर्व विद्यार्थीले भोलेन्टीयरका रुपमा पढाउँदै आएका छन् ।

यहाँ पढ्ने विद्यार्थीहरु सिर्जनात्मक र अनुशासित छन् । पत्येक विद्यार्थीमा केहि न केहि प्रतिभा छ । संखुवासभाकी सुम्जो शेर्पा चित्रकारितामा विशेष रुची राख्छिन् । उनले कोरेका चित्रले विद्यालयको भित्ते पत्रिका र भित्ताहरु रंगिएका छन् । उनका चित्रहरु कुनै ख्याति प्राप्त कालिगढका भन्दा कम छैनन् । उनी कपडामा पनि त्यतिकै राम्रा बुट्टा भर्न सक्छिन् । ‘मलाई यो विद्यालय वरदान साबित भएको छ । म एकान्तमा बसेर जस्ता सुकै चित्र कोर्न सक्छु त्यसैले भविष्यमा चित्रकार बन्ने सपना बोकेकी छु ।’ उनले भनिन्,‘हामीलाई म्यामले कक्षामा नै चित्र कोर्न कपाडामा बुटिक भर्न सिकाउनु हुन्छ । एक पटक नजानेमा पटक पटक सोही कार्य गर्न उत्प्रेरित गर्नुहुन्छ ।’

सुधन, सुम्जो र अनिता त प्रतिनिधि विद्यार्थी मात्र हुन् । यहाँका कक्षा ७–८ मा पुगेका हरेक विद्यार्थीले आफ्नो रुचिको पेसाका लागि आधारभूत ज्ञान हासिल गरिसकेका छन् । यो कुनै प्राविधिक धार सञ्चालन भएको विद्यालय भने होइन । तर यहाँका विद्यार्थीका हातमा राम्रो सीप छ ।

प्रविधि मैत्री सिकाइ

हरेक कक्षाकोठा प्रविधिमैत्रि छन् । हरेक कक्षालाई प्रविधिले एकैठाउँमा जोडेर राखिएको छ । सबै कक्षाको गतिविधि प्रधानाध्यापकले अफिसमा नै बसेर निगरानी गर्छन्। शिक्षण सिकाइ प्रक्रिया अन्य विद्यालयभन्दा फरक छ । ७ वटा कक्षामा स्मार्ट बोर्ड छन् । हल र कम्प्युटर ल्याबमा पनि स्मार्टबोर्डको व्यवस्था गरिएको छ । ‘हाम्रा सिकाइ बालमैत्री छ । बालबालिकालाई उनीहरुको रुची र इच्छाअनुसार व्यवसायिक सीप प्रदान गर्ने गरेका छौं ।’ प्रधानाध्यापक रञ्जितले भनिन्, ‘कुनै कुरा पटकपटक व्याख्या गर्नुभन्दा हामी प्रयोगात्मक विधि र क्षेत्र भ्रमण विधिबाट अध्यापन गराएर एकै पटक धारणा बसाउँछौं । राष्ट्रप्रेमको शिक्षा दिन्छौं त्यसैले सामुदायिक विद्यालय चलाउन पाएको आफूलाई गौरवान्वित ठान्छौं ।’

विद्यालयको पुस्तकालय पनि सुन्दर र सफा छ । विद्यार्थीहरु चकटीमा बसेर हेरक दिन एक घण्टी पुस्तकालयमा पढ्ने गरेका छन् । सबै शिक्षकहरु विहान साढे नौ बजे विद्यालय आइपुग्छन् । हेरक पाठ्य घण्टीका लागि शिक्षकले एउटा मात्र उद्देश्य बनाउने गरेका छन् । ‘१० बजे कक्षा सुरु हुन्छ तर शिक्षकहरु साढे ९ मानै विद्यालयमा उपस्थित हुनुहुन्छ ।’ प्रधानाध्यापक रञ्जित भन्छिन्, ‘सबैभन्दा पहिला हामी सबै भेला भएर आज विद्यार्थीलाई के पढाउने ? छलफल गर्छौं एक कक्षा एक शैक्षिक उद्देश्यलाई कार्यान्वयन गरेका छौं ।’

कक्षा सुरु हुनु भन्दा पूर्व हरेक दिन सबै कक्षाका विद्यार्थीलाई ५ मिनेट मेडिटेसन समेत गराउने गरेको छ । ५ मिनेटको ध्यानलेनै उनीहरुमा सकारात्मक उर्जा जगाउने गरेको विद्यालयले जानकारी दियो ।

गृहकार्य विहीन कक्षा

कुनै दिन विद्यालयले विद्यार्थीलाई गृहकार्यको बोझ दिने गरेको छैन । विद्यार्थीलाई १०–४ बजे भित्र नै सबै कार्य गर्ने गराउने गरेको छ । ‘जति सकिन्छ हामी विहान १० बजेदेखी बेलुका ४ वजे सम्म विद्यालयमानै अभ्यास गराउँछौ ।’ प्रधानाध्यापक रञ्जित भन्छिन्, ‘यहाँ आउने अधिकतम् विद्यार्थी गरीव परिवारका छन् । घरमा उनीहरुलाई पढाउने पनि कोहि छैन । त्यसैले हामी होम वर्क दिएर उनीहरुको बोझ बढाउन चाँहदैनौ ।’

यहाँका विद्यार्थी अनुशासित छन् । आफूभन्दा ठुलालाई आदार र सानालाई मायाँ गर्छन । ‘हाम्रा विद्यार्थी नैतिक शिक्षामा अब्बल छन् । राष्ट्रपेमको पाठ सिकाएका छौं ।’ प्रधानाध्यापक रञ्जित भन्छिन्, ‘हाम्रा उत्पादन राष्ट्रका लागि काम गर्न योग्य जनशक्ति हुन्, बेलायत, अमेरिका, जापान, फ्रान्सका लागि उत्पादन गरेका छैनौं ।’

साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलाप

विद्यार्थीलाई फुर्तिलो र जागरुक वनाउने उद्देश्यले विद्यालयले हरेक शुक्रबार अतिरित्त क्रियाकलाप गर्ने गरेको छ । विद्यार्थीको अन्तर्निहीत प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलाप गर्ने गरेको हो । विद्यार्थीको रुचि अनुसार विद्यालयले हाजिरीजवाफ, वक्तृताकला,गीत तथा संगीत गराउने गरेको छ । यसका साथै फुटबल खेल्न इच्छुक विद्यार्थीलाई फुटसलमा लगेर फुटबल खेलाउने गरेको विद्यालयले जानकारी दियो ।

मासिक परीक्षा

विद्यालयले हरेक महिना एकाइ परीक्षा गर्ने गरेको छ । ‘मेरा विद्यार्थीले धेरै अङ्क ल्याउनु पर्दैन । निकै सिर्जनसील छन् । त्यसले नै मलाई सन्तुष्टि दिन्छ । उनीहरुलाई हामी भरपुर व्यवहारिक ज्ञान दिन्छौ ।’ प्रधानाध्यापक रञ्जितले भनिन्, ‘विद्यार्थीलाई बढी प्रोजेक्ट वर्क गर्न उत्साहित गर्छौं ।’

शिक्षकलाई प्रोत्साहन

सरकारले दिएको न्यून पारिश्रमिकका कारण इसीडीका शिक्षकको जीवन गुजारा चलाउन मुस्किल भएको महसुस गरी विद्यालयमा कार्यरत इसीडी शिक्षकलाई विद्यालयले नै थप पारिश्रमिकको व्यवस्था गरेको छ । ‘इसीडी शिक्षकको बिहान बेलुकाको छाक टार्न नै समस्या हुने महसुस गरी विद्यालयका तर्फबाट थप पाँच हजार प्रदान गर्ने गरेका छौं ।’ प्रधानाध्यापक रञ्जितले भनिन्, ‘ सानासाना नानी बाबुको हेरचाहको लागि आयाको व्यवस्था गरेका छौं उनीहरुको पारिश्रमिक पनि विद्यालयले नै दिने गरेको छ ।’ यसका अलावा शिक्षकको मनोवललाई उच्च राख्न विद्यालयले हरेकको बर्थडे मनाउने गरेको छ । यसका अलावा वार्षिक परीक्षा सकिएपछि शिक्षकहरुलाई विभिन्न विद्यालयको अवलोकन भ्रमणमा लाने गरेको छ । अवलोकन गरिएका विद्यालयका राम्रा अभ्यासको विद्यालयले अनुकरण गर्ने गरेका छन् ।

भौतिक सम्पत्तिका रुपमा १८ आनामा सीमित भएको विद्यालयले ९ वटा सटर भाडामा लगाएको छ । जसबाट ६२ हजार आम्दानी हुन्छ । यो पैसाले विद्यालयले अतिरिक्त खर्च व्यवस्थापन गर्ने गरेको छ । ‘हाम्रो सटरबाट आएको भाडाले शिक्षक कर्मचारी गरी पाँच जनाको तलव र अन्य व्यवस्थापन गर्ने गरेका छौं ।’ प्रधानाध्यापक रञ्जितले सुनाइन् ।

व्यवस्थापनमा अभिभावकको चासो

नर्सरी देखि कक्षा एक सम्म अध्ययनरत हरेक विद्यार्थीका अभिभावक निजी विद्यालयमा जस्तै हरेक दिन आफ्ना छोराछोरी लिन र पुर्‍याउन विद्यालय आउने गरेका छन् । विद्यालय आएको समयमा आफ्ना छोराछोरीको प्रगतिविवरण बुझ्ने र उनीहरुको सुधारका लागि शिक्षकसँग छलफल गर्ने गरेका छन् । हरेक परीक्षाको नतिजा लिन अनिवार्य अभिभावक नै विद्यालयमा उपस्थित हुने गरेका छन् । ‘अनिवार्य अभिभावक उपस्थित भएपछि सुधारका लागि सहज हुँदो रहेछ ।’ प्रधानाध्यापक रञ्जित भन्छिन्, ‘अभिभावकको चासो र सहयोगले गर्दा हामी यहाँसम्म आएका छौं । आठ कक्षाको परीक्षा छि नजिकैका विद्यालयका प्रधानाध्यापकहरु नै विद्यार्थी भर्नाका लागि आग्रह गर्न आउँछन् किनकी हाम्रो उत्पादन राम्रा छन् ।’