A Levels MA

प्याब्सनद्वारा केही पाठ्यपुस्तक परिवर्तन गर्न आग्रह

आर्थिक चलखेलमा पाठ्यपुस्तक परिवर्तन गर्न लगाएको आरोप, स्तरीय विषयवस्तु समावेश भएको पाठ्यपुस्तक प्रयोगमा ल्याउँदा उपलब्धि राम्रो हुने, अन्य गैर कानुनी रुपमा कुनै लाभ लिन होइन:प्याब्सन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालले आफ्नो मातहतका विद्यालयमा पुनः नयाँ पब्लिकेसनको पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

१५ औं राष्ट्रिय महाधिवेशबाट निर्वाचित कार्यसमितिको गत चैत्र ११ गतेको बैठक, १६ गतेको बैठक र १९ गतेको केन्द्रीय समितिको भर्चुअल बैठकले आगामी शैक्षिक सत्रमा ओसियन पब्लिकेसनको पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

‘ओसियन पब्लिकेसनको साइन्स बुक कक्षा ४ देखि १० सम्म र कक्षा १, २ र ३ मा हाम्रो सेरोफोरो लगाउने निर्णय भएकोले सोही अनुसार आ–आफ्नो मातहतका प्रदेश, जिल्ला, पालिका कार्यसमिति एवम् सदस्य विद्यालयहरुमा प्रयोग गर्न गराउने निर्णय भएकोले सोही अनुसार अनुरोध गरिन्छ ।’ प्याब्सनद्वारा केन्द्रीय प्रमुख सल्लाहकार, पदाधिकारी, प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष एवम् पालिका अध्यक्षलाई सम्बोधन गर्दै जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।

गत बर्ष टाइम्स पब्लिकेसनको साइन्स, भेदान्तको म्याथ नयाँ पाठ्यपुस्तक प्रयोग अनिवार्य गरेको थियो । एक शैक्षिक सत्रमा नै प्याब्सनले यो वर्ष ओसियन पब्लिकेसनको बुक प्रयोगमा ल्याउने निर्णय गरेको हो । ओसियनको बुक हेर्दै नहेरी कमिसनका लागि कार्यान्वयनमा अनिवार्य गराएको सदस्य विद्यालयहरू बताउँछन् । ‘गत वर्ष पनि नयाँ पाठ्यपुस्तक प्रयोग गर्न निर्देशन दियो गरियो ।’ प्याब्सनका एक सदस्यले भने, ‘त्यो पाठ्यपुस्तक कोभिडका कारण राम्रोसंग कार्यान्वयन गर्न नै नपाइ अर्को कार्यान्वयन गर भन्छ, हामीलाई शिक्षक उत्पादन गर्न नै गाह्रो हुन्छ ।’

यी पाठ्यपुस्तक प्रयोग गरेवापत प्याब्सनले दुई करोड रुपियाँ आम्दानी गर्ने आरोप लागेको भए पनि प्याब्सनले कुनै लाभ नलिइ पाठ्यपुस्तक प्रयोग गर्न अनुरोध गरेको जनाएको छ । प्याब्सनले गत वर्ष पनि कसैलाई टाइम्सको बुक अनिवार्य नगराएको, त्यो भन्दा राम्रो भएको हुनाले कार्यान्वयनमा ल्याउँदा राम्रो हुन्छ मात्र भनेको जानकारी दियो । स्तरीय विषयवस्तु समावेश भएको पाठ्यपुस्तक प्रयोगमा ल्याउँदा उपलब्धि राम्रो हुने प्याब्सनको विभिन्न समयमा बसेको बैठकले निष्कर्ष निकालेको हुँदा सदस्य विद्यालयलाई अनुरोध गरेको जनाएको छ । ‘टाइम्सको साइन्स भन्दा ओसियनको पाठ्यपुस्तकमा समावेश भएका पाठ्यवस्तु स्तरीय लागेको हुनाले यो वर्ष लागु गरेर हेरौं भनेका हौं, कसैलाई अनिवार्य लागु गर्नै पर्छ भनिएको होइन ।’ प्याब्सनका महासचिव आरबी कटुवालले भने, ‘ओसियनले शिक्षकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक सहभागी गराएर तालिम प्रदान गर्छौं भनेर प्रतिवद्धता जनाएको र पाठ्यवस्तु पनि अरुको भन्दा स्तरीय भएको हुनाले यो वर्ष राम्रौ अभ्यास गरौं भनेर केन्द्रीय कार्य समितिको विभिन्न समयमा बसेको बैठकमा व्यापक छलफल गरी निष्कर्ष निकालेका हौ, अन्य गैर कानुनी रुपमा कुनै लाभ लिन होइन ।’

Thuprai - Books and E-books