Ranakalin Shiksha

हाम्रो इच्छा, गरिखाने शिक्षा

मानव जीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र समायानुकुल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकरात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ । शिक्षाले दैनिक जीवनमा आईपर्ने चुनौतीलाई सहजरुपमा सामना गर्न सक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नु पर्दछ । श्रमप्िरत आस्था र बिस्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्नेे उद्देश्य केन्द्रित शिक्षाका नीति तथा कार्यक्रम हुनुपर्दछ ।

रोजगारीको लागि नेपालीहरू भौतारिँदै कस्तुरीले आफूमा भएको सुगन्धको उचित ज्ञान नभएर कहाँबाट वास्ना आयो भन्दै भौतारिंएर हिडेजस्तै युवा जनशक्ति मृगतृष्णाको खोजीम भौतारिएका छन् । आफ्नै देशमा उपलव्ध स्रोत साधनको उपयोग गर्न हिच्किचाएक छन् । आफ्नै माटोमा अंगाल्न नसकेको पेसा अंगाल्न लाखौं रुपियाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा पसिना बगाउन बाध्य छन् । सिरानीमा उच्च शिक्षाको प्रमाणपत्र थन्क्याएर विदेशी भूमिमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् ।

अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएका जनशक्ति फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँका कुना कन्धरामा छ्याप छ्याप्ति पुगेको पाइन्छ । तर गर्वकासाथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्यो भन्दा तल्लो स्तरको काम गर्न मुङ्गलाननै पस्नु पर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभाव्बाट छटपटिई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन कष्टकर,अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराईमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदी प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।

शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदी विशेषणबाट सम्बोधन गरिएको पार्ईन्छ । गुणस्तर प्राप्ताङ्कको आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमा बुबाको अर्थ नबुझने तर ड्याड ममको संस्कारमा हुर्कने, दुध कहाँबाट आँउछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदीको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्पव्यवहारिक ज्ञान भएका नागरिक भन्दा आफ्नो परिवेशलाई समेत साक्षत्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्वन गरिनु पर्दछ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ । अतःदैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाण पत्रको प्राप्ताङ्क भन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ ।

पेपर पेन्सील परीक्षाको आधारमा मात्रै विद्यार्थीको उपलब्धी स्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्म अनुसार व्यवहारमा सकरात्मक परिवर्तनको आधारमा मूल्याङ्कन गर्ने उपायहरू खोजिनु पर्दछ । उच्च अंक प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्दछ । हाम्रो मूल्याङ्कन पद्दति कसरी विश्वसनीय र बस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि एकसय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्दतिलाई पुर्नवालोकन गरिनुपर्दछ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यसकारण सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साही, उर्जाशील सफल नागरिक वनाउने खालको व्यवहारिक पौरिख शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनु पर्दछ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्दतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्दति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदीलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ । राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्दछ ।

विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक विभिन्नतालाई उच्च मूल्याङ्कन गरेर सोही अनुसार अधिकतम सम्वोधन गर्ने खालको बालमैत्री हुनुपर्दछ । कक्षाकोठा विद्यालय परिसर स्वस्थ स्वच्छ एवं चित्ताकर्षक हुनुपर्दछ । अतः शिक्षकले सर्वप्रथम वालवालिकालाई पढनु पर्छ, अनि मात्र त्यसलाई संवोधनगर्ने गरी विषयवस्तु र विधिको छनोट गरिनुपर्दछ । अभिभावकले अंगालेको पेसालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनु पर्दछ । विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जूमा र सम्पन्न गर्न जिम्मेवारीपूर्वक सक्रिय सहभागी गराउने परिस्थिति बनाउनु पर्दछ । विद्यार्थीले सामान्यतया ६ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ घरपरिवार र समुदाय प्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्दछ।

घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावकसंग निरन्तर सम्पर्क राख्ने नीति लिनु पर्दछ । त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुची क्षमता अनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भैराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्दछ । उनीहरूको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशालि बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो । बालबालिका भन्दा हामी जान्ने छौं हामीले भनेको मात्र उनीहरूले मान्नु पर्दछ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबरजस्त लाद्ने खालको विषयवस्तु र विधि भन्दा पनि उनीहरूको क्षमता माग अनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादनगर्ने पहिलो शर्तको रुपमा लिन सकिन्छ । कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकता अनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठयक्रम निर्माण र कार्यान्यवन गरिनु पर्दछ । व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मवल र आत्मविश्वास गराउनुपर्दछ ।

मानवीय लगायतका साधन स्रोतको उच्चतम प्रयोग गर्ने बातावरण सिर्जना गर्नु पर्दछ । शिक्षाकर्मीहरूको पेशागत दक्षता र समर्पण बढाउने खालका सेवासुविधाको व्यवस्था गरिनुुुपर्दछ । त्यस्तै शिक्षक र त्यससँग आवध शिक्षाकर्मीहरूको पेशागत दक्षताको मूल्याङ्कन विद्यार्थीको उपलब्धीको आधारमा गरिनु पर्दछ । त्यस्तै बालबालिकाको सक्रिय सहभागिता विद्यालय भित्र तथा बाहिरका कार्यक्रममा प्रत्यक्ष र परोक्ष रुपमा बढाउन बालक्लबलाई स्थापना गरी सक्रिय बनाउनु पर्दछ । उनीहरूमा आत्मबल र आत्मविश्वासको बृद्धि र विकास गर्न सामाजिक परोपकारी कार्यकलापमा प्रत्यक्ष सहभागी हुन प्रोत्साहित गरिनु पर्दछ । किनकि विद्यार्थीहरू भविष्यका कर्णाधार र वर्तमानका साक्षेदार हुन भन्ने मान्यता अनुरुप उनीहरूको सलग्नतालाई उच्च प्राथमिकता दिइनुपर्दछ । त्यसै गरी विद्यार्थी विद्यालयबाट भागेर घर जाने भन्दा पनि घरबाट भागेर विद्यालय आउने खालको उत्साहजनक स्वास्थ वातावरण विद्यालयमा सिर्जना गर्न सक्यौं भने उनीहरूले आफ्नो क्षमता चाहना अनुरुपको व्यवहारिक ज्ञान, सीप अभिवृति हासिल गर्न सक्छन । कक्षाकोठा र क्रियाकलापं लोकतान्त्रिक अभ्यास र अनुभूति दिने हुनुपर्दछ । अनुशासनको नाममा भावना र विचार प्रष्फूटन हुनलाई कुण्ठित गर्ने परम्परालाई निरुत्साहित गरिनु पर्दछ । ठूलोमान्छे भन्दा पनि असल नागरिक बन्न प्रे्ररित अर्थात आफ्नो खुट्टामा आफै उभिने पौरखी नागरिक बन्ने अभ्यास गर्ने थलोको रुपमा विद्यालय बन्नु पर्दछ । अतःउच्च प्राप्तांकलाई मात्र गुणस्तर देख्ने सामाजिक संस्कार संस्कृति र भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिईने प्रगतिशील शिक्षा भन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउने तर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो । जसले श्रमको पूजा गर्दै भेदभाव रहित भावना र व्यवहार भएको संस्कारयुक्त तथा कुनै कुरा सिकेपछी त्यसको आधारमा अन्य कुराहरू रचना र सिर्जना गर्दै परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिष्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त पौरखी नागरिक उत्पादन गर्ने गरीखाने शिक्षा आजको आवश्यकता हो ।