SEE Result 2082

लेखकको नाम उल्लेख नभएको पाठ्यपुस्तक खुलेआम बिक्री

लेखकको नाम नै उल्लेख नभएको पाठ्यपुस्तक बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।

वेदान्त पब्लिकेसन प्रालिले छापेको कक्षा ९ को गणित विषयको पाठ्यपुस्तकमा लेखकको नाम नै उल्लेख छैन । पाठ्यपुस्तकमा लेखकको नाम नराखेर प्रकाशन गर्न नपाइने कानुनी व्यवस्था छ । 

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुङ्गानाले पाठ्यपुस्तकमा लेखकको नाम उल्लेख गर्नैपर्छ बताए ।

“लेखकको नाम नभएको किताब बेच्न पाइँदैन” उनले भने ।

केन्द्रले सो पुस्तकका बारेमा अनुसन्धान गरिरहेको थाहा भएको छ । प्राप्त जानकारीअनुसार एउटै लेखकले दुई वटा प्रकाशकका लागि पाठ्यपुस्तक लेखेका थिए । एकै लेखकले भिन्दाभिन्दै प्रकाशकका लागि पाठ्यपुस्तक लेख्न नपाउने नियम छ । एउटा प्रकाशकको पाठ्यपुस्तकमा नाम उल्लेख गरेको र अर्काेमा उल्लेख नगरिएको केन्द्रका सम्बद्ध पदाधिकारी बताउँछन् । 

प्रकाशकले पाठ्यपुस्तक प्रकाशन गर्नुपूर्व पाठ्यक्रम विकास केन्द्रबाट अनुमति लिनुपर्ने हुन्छ । केन्द्रले तोकेका विज्ञले सो अध्ययन गरी प्रकाशन गर्न सिफारिस गर्नुपर्ने नियम छ । बेनामी लेखकको पाठ्यपुस्तक बजारमा आएपछि केन्द्रले तोकेका विज्ञका बारेमा नैतिक प्रश्न देखिनुका साथै कारवाही गर्नुपर्ने समेत देखिएको छ । केन्द्रले यसरी ल्याइएका पाठ्यपुस्तकका बारेमा अध्ययन गर्न कम्तीमा दुई जना विज्ञलाई उपलब्ध गराउने गरेको छ ।

यसैबीच पूर्वप्राथमिक तहका पाठ्यपुस्तकका बारेमा के गर्ने भन्ने चर्चा यतिखेर पाठ्यक्रम विकास केन्द्रमा चलेको छ ।

केन्द्रको क्षेत्राधिकार कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तकको मात्र भएको तर पूर्वप्राथमिक तहका पाठ्यपुस्तक प्रकाशकले सिधै बजारमा लैजाने चलन छ । यसले गर्दा तल्लो तहका पाठ्यपुस्तकमा बेलाबखत विवाद सिर्जना हुँदै आएको छ । हालै ईस उल्लेख पाठ्यपुस्तकमा विवाद सिर्जना भएपछि प्रकाशकले माफी माग्नु परेको थियो ।

केन्द्रका सूचना अधिकारी डा. ढुङ्गानाले पूर्वप्राथमिक तहका पाठ्यपुस्तकलाई पनि केन्द्रको क्षेत्राधिकारभित्र पार्नुपर्छ भन्ने कुरा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकमा प्रस्ताव लिएर जाने बताउँदै भने, “जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई रोक्नुपर्ने छ ।”

निजी प्रकाशकले छापेका पूर्वप्राथमिक तहका पाठ्यपुस्तक हाल राजधानीका फुटपाथमा समेत बिक्री वितरण हुन थालेका छन् । नर्सरी, केजी, एलकेजी तथा युकेजीका नाममा यस्ता पाठ्यपुस्तक तयार गरी अध्यापन गरिँदै आएको छ ।

 

+2 School
Counseling
Bachelors Portal