After SEE Portal

त्रिभुवन विश्वविद्यालयलाई खुला पत्र

Bridge Course

श्री उपकुलपति, रेक्टर, संकायगत डिनहरू र परीक्षा नियन्त्रक ज्यू !

सर्वप्रथम देशको अग्रणी एवं देशको शैक्षिक धरोहरको रुपमा रहेको त्रिभुवन विश्विविद्यालयको विद्यार्थी हुन पाउंदा गर्वको अनुभूति भइरहेको व्यहोरा श्रीमानहरूमा व्यक्त गर्न सक्छु । विश्वविद्यालय तहको विद्यार्थी विभिन्न अध्यन अनुसन्धानमा लाग्ने तथा समाजको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय सहभागी हुने विश्वव्यापी अभ्यास रहेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले पनि स्नातक एवं स्नातकोत्तर तहको विद्यार्थीहरूलाई यस्तै प्रकारका कृयाकलापहरूमा सहभागी हुन उत्प्रेरित गर्नुपर्ने वर्तमानको आवश्यकता रहेको व्यहोरा सविनय अनुरोध गर्न चाहन्छु ।

बाबुराम पुरी-मास्टर्स अफ पब्लिक एडमिनिस्ट्रेशन दोस्रो सेमेष्टर पृथ्वीनारायण क्याम्पस, पोखरा

विश्वभरी महामारीको रुप लिइरहेको र विश्व अर्थतन्त्रलाई नै उथलपुथल हुनेगरी कोरोना भाइरस COVID-19 को संक्रमण फैलिरहेको र सो सन्त्रासको वातावरण विच सामाजिक जनचेतनाको अभिबृद्धिको लागी हाम्रा संचारमाध्यमहरू तथा सामाजिक संजाल लगायतका फोरमहरूमा व्यापक बहस भइरहेको हामी सबैलाई अवगत नै छ ।

कोरोना भाइरसको महामारी ७० भन्दा वढी देशमा फैलिएको र विश्वव्यापी वन्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका देशहरूलाई कोरोना संक्रमणको उच्च जोखिम भएका मुलुकको सूचीमा सूचिकृत गरेको वर्तमान सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने परीक्षाहरूको तालिकाबारेमा समेत संचार माध्यम तथा सामाजिक संजालमा बहस चलिरहेको छ । सो सम्बन्धमा केही शब्दहरू लेख्नु समय सान्दर्भिक हुने भएकाले त्रिभुवन विश्वविद्यालयलाई खुला पत्र लेखेको छु । आशा छ यसलाई नकारात्मक रुपमा लिनुहुने छैन बरु Global Issue मा व्यक्त गरिएको विद्यार्थीहरूको प्रतिनिधिमूलक आवाजको रुपमा ग्रहणगरी दिनुहुने छ भन्ने अपेक्षा गरेको छु ।

हाम्रो भौगोलिक अवस्थितिको कारण उक्त रोगको महामारी फैलिन सक्ने उच्च जोखिममा छौं । कोरोना भाइरसको उद्गम स्थल चीन हाम्रो सबैभन्दा नजिकको छिमेकी भएकोले र खुला सीमा भएकोले पनि मानिसहरूको सजिलै आवतजावत हुन सक्ने सम्भावना छ । कुनै पनि बेला महामारी फैलिन सक्ने तर्फ हामी किन समयमा सचेत नहुने रु अर्कोतिर हाम्रा दुवै निकटतम छिमेकीहरू भारत तथा चीन लगायत नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नेपालमा नियमित रुपमा उडान सेवा संचालन गरिरहेकोले विभिन्न देशका नागरिक विना अवरोध नेपाल भित्रिरहेको अवस्था छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा गरिएको हेल्पडेस्कको व्यवस्था समेत त्यति प्रभावकारी नदेखिएको भनी गुनासो समेत आइरहेको र अध्यागमनमा हुने भिडभाड र ठेलमठेलको वातावरण विच कोरोना प्रभावित हो वा होइन भनी चेकजांच गर्न कठिन परिरहेको परिप्रेक्ष्यमा नेपालमा संक्रमण फैलिने संभावना उच्च नै देखिन्छ । यद्यपी हामी हालसम्म सुरक्षित छौं तर कुनै पनि बेला फैलिन सक्ने महामारीलाई नजरअन्दाज कदापी गर्न मिल्दैन ।

नेपाल सरकारले आधिकारिक रुपमा नै सार्वजनिक सभा समारोह भिडभाड हुने कुनै पनि प्रकारको मेला महोत्सव नगर्न सहर बजार हाटबजार लगायतमा मानिसहरूको अनावश्क भिडभाड नगर्न एवं विद्यालयहरूलाई समेत वार्षिक परीक्षा जति सक्दो छिटो सकेर विद्यालयहरू बन्द गर्न आग्रह गरेको एवं विश्वव्यापी रुपमा प्रचार प्रसार एवं सम्पूर्ण तयारीको साथ उत्साहित रुपमा सुरु गरीएको Visit Nepal Year 2020 समेत यसै महामारीको कारण हाललाई स्थगित गरेको व्यहोरा सबैमा विदित नै छ ।

नेपाल सरकारका स्थानीय प्रशासनहरूले पनि निरन्तर रुपमा भिडभाड हुने प्रकृतिका कार्य नगर्न नगराउन सार्वजनिक आग्रह गरिरहेको र अन्तर्राष्ट्रिय परिदृष्यलाई हेर्दा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राखेका देशहरूले संक्रमण रोक्न विभिन्न रोकथामका विधिहरू अवलम्वन गर्न विश्वव्यापी आग्रह गरिरहेको विषय हामी सबैलाई जानकारी नै छ । सोही अनुसार विभिन्न देशहरूले कोरोना संक्रमण फैलिएका देशमा वा देशबाट हुने आवागमनमा कडाइ गर्ने देखि सार्वजनिक भिडभाड हुने स्थानहरू, विद्यालय, विश्वविद्यालयहरू, राजमार्गहरू बन्द गर्नेदेखि लिएर सर्वसाधारणलाई घरभित्रै बस्न र विशेष सावधानी अपनाउन सार्वजनिक आग्रह गरिरहेका छन ।

भोलि संक्रमण फैलिसकेपछि चुकाउनुपर्ने ठुलो मुल्य भन्दा उक्त रोगको रोकथामको लागि पूर्वसावधानी अपनाउनु उचित हुने भनी WHO लगायत स्वास्थ्य सम्बद्ध अन्तर्राष्ट्रिय निकायहरूले समेत अनुरोध गरिरहेकोमा हाम्रो आन्तरिक तयारी एवं संस्थागत सक्षमता समेत कमजोर रहेको सन्दर्भमा पूर्वसावधानी अपनाउनु नै हाम्रो लागी श्रेयकर हुने देखिन्छ । संक्रमण फैलिएको खण्डमा हुने भयावह अवस्थाको कल्पना अहिले नै गर्नु हतारो हुनेछ तर परिस्थिति सकारात्मक छ, हालसम्म कुनै पनि संक्रमित भेटिएको छैन भनेर चुप लागेर बस्ने अवस्था चाहि पटक्कै छैन ।

कोरोना कुनैपनि बेला नेपाल भित्रिन र महामारीको रुप लिन सक्छ भन्नेतर्फ हामी सचेत हुन जरुरी छ । सामाजिक संजालको अनावश्यक होहल्ला भन्दा संस्थागत प्रयास अहिलेको आवश्यकता हो । चीन लगायत कोरोना संक्रमणको प्रारम्भिक चरणमा रहेका देशहरूमा वा देशहरूबाट हुने आवागमनमा कडाइ नगरेका कारण अहिले हामी भन्दा कयौं गुणा सक्षम युरोपेली देश इटालीले भोगेको कहरबाट हामीले पाठ सिक्नु जरुरी छ ।

मध्यपूर्वी देशहरूले समेत नेपाललाई समेत उच्च जोखिमयुक्त देशको सूचीमा सूचिकृत गर्दै नेपालबाट हुने आवागमनलाई कडाइ गर्न सुरु गरी सकेका छन । तर हामीहरू अझै अलमलको स्थितिमा विना सावधानी श्री पशुपतीनाथले हामी सबैको कल्याण नै गर्नेछन जस्तै गरी आन्नद साथ नियमित कामकाजमा छौं । मानौ कोरोना नेपाल भित्रिने छैन । अहिले सम्मको तयारी हेर्दा यदि संक्रमण तीव्र रुपमा फैलिने हो भने त्यो पर्याप्त नहुने प्रष्ट नै छ ।

नेपालबाट फर्केका एक व्यक्तिमा कारोना संक्रमण पाइएको भनी अष्ट्रेलियाले निजको सबै यात्रा एवं व्यक्तिगत सम्पर्कहरू समेत अध्ययन गरेको छ । यो उनीहरू कति सम्मको उच्च सावधानी अपनाइरहेका छन् भन्ने कुराको पुष्टि हो । सानो असावधानीले गर्दा ठूलो दुर्घटना निम्तन्छ भन्ने इतिहास हामीसंग साक्षी छ । उदारहणको रुपमा जाजरकोटमा फैलिएको झाडापखालालाई लिन सकिन्छ ।

अब लागौं परीक्षाको सन्दर्भतर्फ । यहि फागुन २९ गतेदेखि त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह व्यवस्थापन संकायको दोस्रो सेमेष्टरको परीक्षा तालिका रहेको र क्रमैसंगै अन्य परीक्षाहरूको तालिका पनि नियमित रुपमा प्रकाशन भइरहेका छन । कुनै पनि परीक्षा स्थगित गर्दा त्रिभुवन विश्वविद्यालयलाई धेरै प्रकारका समस्याहरू सृजना हुने साथै अन्य तालिकाहरू समेत प्रभावित हुने प्रष्ट नै छ तर ग्लोबल रुपमा फैलिएको यस प्रकारको संक्रमण विच विद्यार्थीहरूमा व्याप्त संत्रासको संवोधन गर्नु त्रिभुवन विश्वविद्यालयको कर्तव्य पनि हो । किनकि जीवन रहे न परीक्षा दिने हो । अर्कोतर्फ परीक्षा संचालनको दौरान विद्यार्थीहरूको व्यापक आवतपृथ्वीनारायण क्याम्पस पोखरापृथ्वीनारायण क्याम्पस पोखराजावत तथा भिडभाड हुंदा यसै पनि संक्रमणको संभावना हुने र मौसमी फ्लुलाई समेत कोरोनाको रुपमा अपव्ख्या गर्ने हाम्रो होहल्लाको परिपाटीले अझ डरत्रास एवं मनोवज्ञानिक असर पर्ने प्रष्ट नै छ ।

समाजमा व्याप्त सन्त्रास विच परीक्षा संचालन गर्दा नेपाल सरकारले भिडभाड हुने कुनै पनि प्रकारका कार्य नगर्नु नगराउनु भनी गरेको सर्कुलरको वर्खिलाप हुन सक्छ । राज्य प्रणालीले अपनाएको सतर्कताका सम्बन्धमा त्यहि प्रणाली भित्रको शैक्षिक प्राज्ञिक निकायले त्यसको वर्खिलाप हुनेगरी काम गर्नु कानुनी राज्यको उपहास होइन र रु त्रिभुवन विश्वविद्यालयले के अध्यन अनुसन्धानको आधारमा कोरोना संक्रमणको जोखिम नै नभएजस्तै गरी अन्य सामान्य समय झैं परीक्षा संचालनको तयारीमा लागेको हो यो प्रष्ट रुपमा विद्यार्थीहरूमा सूचना सम्प्रेषण गर्नुपर्दछ कि पर्दैन रु महामारीको समयमा संयमता एवं सावधानीको उपाय अपनाउन आम नागरिकमा सचेतना फैलाउनु शैक्षिक प्राज्ञिक निकायको मुलधर्म हो साथै सरकारका संयन्त्रहरूलाई विविध सूचनाहरू एवं अनुसन्धान प्रतिवेदनहरू उपलब्ध गराइ महामारीको रोकथाममा हातेमालो गर्नुपर्ने देशको अग्रणी शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यालय आफै संक्रमण फैलाउन उद्दत देखिएको हो रु भनी हामीले प्रश्न गर्न पाउने कि नपाउने रु संक्रमणको अध्यन अनुसन्धान गरी सरकारलाई सहयोग गर्न आफ्नो क्षमताले नभ्याए पनि कमसेकम संक्रमणको उच्च जोखिमको समयमा केहि समय परीक्षाहरू सार्न त सकिन्छ नि यस तर्फ किन मौन रु किन जवर्जस्ती परीक्षा संचालन गर्नुपर्ने रु यस्को जवाफ हामी विद्यार्थीले पाउने कि नपाउने रु कुन मनोविज्ञानमा विद्यार्थीहरू पक्षाी हलसम्म पुग्ने । हतास र डरत्रास विच विद्यार्थीहरू परीक्षामा सहभागी हुँदा यस्को नतिजा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

आमसंचार माध्यम एवं सामाजिक संजालमा Hot issue बनिरहेको कोरोना भाइरसको कारण मनोवैज्ञानिक रुपमा नै विद्यार्थीहरूमा परीक्षा तयारी विल्कुल सकारात्मक छैन र त्रिभुवन विश्वविद्यालयले परीक्षा केहि समयका लागी स्थगितगरी परिस्थिति सकारात्मक बनाउन सहयोग गरी दिए हुन्थ्यो भन्ने आम विद्यार्थीहरूको चाहना रहेको प्रष्ट छ जुन विषय प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न फोरम एवं छलफलहरूमा उठि नै रहेको होला ।

परीक्षा स्थगित विद्यार्थीहरूको माग कदापी हुन सक्दैन तर विषम परिस्थितिमा संचालन हुन गइरहेको परीक्षाको कारण हुने भिडभाड एवं आवागमनको कारण जोखिमलाई किन बढावा दिने भन्ने विषय मात्र उठान भएको हो । सामान्य एकथान मास्क पाउन मुस्किल हुने र मास्कमा समेत कालोबजारीभई कारबाहीमा परेको हाम्रो वर्तमान परिदृष्यमा कसरी भयमुक्त अवस्थामा परीक्षा संचालन हुन सक्छ भन्ने विषय प्रमुख हो । परीक्षाको लागि सर्वप्रथम त विद्यार्थीहरू मनोवैज्ञानिक रुपमा तयार हुनुपर्ने विषयलाई मनन किन नगर्ने ।

जनस्वास्थ्य विज्ञ एवं सम्बद्ध सबै पक्षसंग छलफल एवं अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत अध्यनगरी बुद्धिमतापूर्ण निर्णय लिनु उत्तम हुन्छ । परीक्षा संचालनको दौरान हुने भिडभाडमा यसै पनि संक्रमणको जोखिम उच्च हुने भएकोले यस तर्फ त्रिभुवन विश्वविद्यालयको सम्बद्ध पक्षले ध्यान दिनेछ भन्ने अपेक्षा गरेको छु । परीक्षा तालिका परिवर्तन गर्दा त्रिभुवन विश्वविद्यालयलाई पर्ने आर्थिक ,प्रशासनिक समस्या तथा भर्ना लगायतका अन्य कार्यक्रममा समेत प्रत्यक्ष असर पर्ने कुरा निश्चित छ तर कोरोना भाइरसको कारण विश्वजगत आतंकित भइरहेको र विश्वव्यापी रुपमा कोरोना विरुद्धको पूर्वसावधानी अपनाइएको वर्तमान परिप्रेक्ष्यमा हामी पनि सोहो बमोजिम प्रतिरक्षात्मक अवस्थामा रहन विविध सावधानी अपनाउनुपर्ने देखिएकोले केहि समयका लागी परीक्षाहरू स्थगित गरी दिएको खण्डमा हामी आम विद्यार्थीहरूमा राहत हुने थियो ।

परीक्षा स्थगित हुंदा हुने समयको क्षतिलाई आगामी सेमेष्टरमा कभर हुने गरी व्यवस्था समेत गर्न छलफल गर्न सकिने संभावना पनि नभएको होइन । परीक्षाहरू स्थगित भएको खण्डमा विद्यार्थीहरू घरमा नै रहने भएकोले सार्वजनिक सवारी साधन, बजार लगायतका स्थलमा अनावश्यक भिडभाड समेत नहुने भएकोले धेरे हदसम्म रोकथाममा सहयोग पुग्ने निश्चित छ । सरकारले प्रदान गर्ने सार्वजनिक सेवा प्रवाहमा अत्यावश्क वाहेक अन्य सेवामा समेत सेवाग्राहीको भिडभाडमा क्रमश कमी आइरहेको देखिन्छ भने हवाइ सेवा लगायत सार्वजनिक आवागमनमा समेत यात्रुहरू घटेको अवस्था छ । यस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृष्यमा त्रिभुवन विश्वविद्यालय जस्तो गरीमामय संस्थाले पनि आम विद्यार्थीहरूको मनोविज्ञानको यथोचित रुपमा सम्बोधन गर्नेछ भनी विश्वास लिएको छु  ।

A Levels MA
Thuprai - Books and E-books