After SEE Portal

विश्वविद्यालयको नेपाली अत्यन्तै कमजोर, लाइसेन्स परीक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण (नतिजा सहित)

Bridge Course

आयोगको लिखित परीक्षामा जम्मा १६ हजार ४७ जना परीक्षार्थी मध्ये २ हजार ७३८  ले मात्र न्यूनतम् ५० अङ्क ल्याउन सफल भए भने  ६१२ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । सो परीक्षामा जम्मा १७.०६ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन सफल भए । विश्वद्यिालयको शिक्षा प्रणालीमा नै त्रुटी भएको प्रष्ट पूर्व सचिव-महाश्रम शर्मा ।

नेपाली विषय पनि पढ्ने हो र ? आमाको काखमै सिक्दै आएको विषय हो । नत यो विषय पढेर राम्रो जागिर खान पाइन्छ ? नत विदेशमा नै यसको स्कोप छ ? आजभोलि नेपाली विषय प्रति यी र यस्तै खाले अनेक प्रतिक्रियाहरू सुन्न थालिएको छ । यसको प्रत्यक्ष असर विद्यालयदेखि विश्वविद्यालयसम्म देख्न थालिएको छ ।

नेपालका सामुदायिक विद्यालयले पनि आन्तरिक स्रोतबाट शिक्षक व्यवस्थापन गरेरै भए पनि अङ्ग्रेजी भाषामा पठनपाठन गराउने थिति विकास गरिसकेका छन् । ग्रामीण क्षेत्र होस् वा सहरी सबैतिर अधिकांश विद्यालयले एकापट्टि नेपाली माध्यम भाषामा पाढाउन थालेका छन् भने अर्कोतिर सोही विद्यालयमा टाइ, राम्रा फरक फरक डिजाइनका पोषक लगाएका विद्यार्थीलाई एउटै विद्यालयमा फरक कक्षा कोठामा अङ्ग्रेजी माध्यम भाषामा पढाउने गरेका छन् । अङ्ग्रेजी माध्यम भाषामा पढाइ हुने सामुदायिक विद्यालयमा विद्यार्थी अभिभावकको आकर्षण बढ्दो छ ।

विद्यालय-विश्वविद्यालयमा गरिने मूल्याङ्कन प्रणाली तथा शिक्षण शैलीमा प्रश्न चिन्न उठ्यो —केदार भक्त माथेमा

माध्यम भाषाले सामुदायिक विद्यालयभित्रै वर्ग निर्धारण गरिरहेको छ । नेपाली माध्यम भाषामा पढ्ने विद्यार्थीको उपलब्धी कमजोर रहेको पुष्टि विगतका एसईई तथा अन्य कक्षाको नतिजाले गरिसकेको शिक्षाविद्हरू बताउँछन् ।

नेपाली भाषाका विद्यार्थी विद्यालय तहमा मात्र होइन उच्च शिक्षामा पनि कमजोर देखिएका छन् । नेपाली भाषाका विद्यार्थीले एक पटक पास गरिसकेको विषय दोस्रो पटक पुनः परीक्षा दिँदा पासै गर्न नसक्ने अवस्था देखिएको छ । नेपालीमा उच्च शिक्षा हासिल गरेका प्राज्ञिक व्यक्ति पनि नेपाली विषयमा कमजोर देखिएका छन् ।

शिक्षक सेवा आयोगले गत असोजमा माध्यमिक तहको विषयगत लाइसेन्सको परीक्षा लियो । आधारभूत तह कक्षा ६ देखि १२ सम्मका लागि विषयगत रूपमा परीक्षा सञ्चालन गर्‍यो । यसका लागि छुट्टा छुट्टै पाठ्यक्रम निर्धारण गर्‍यो ।

लिखित परीक्षाका लागि आयोगले पहिलो पत्रका लागि विषयगत र शिक्षण कला विषयबाट ६५ पूर्णाङ्कको प्रश्न सोद्यो । माध्यमिक तहको खण्ड (क) विषयवस्तु सम्बन्धी ज्ञानबाट ४० अङ्कको प्रश्न सोद्यो ।

यसभित्र, विधाको परिचय, भाषाको परिचय, साहित्यको परिचय, व्याकरणको परिचय र बोध, अभिव्यक्ति र व्यावहारिक तथा सिर्जनात्मक लेखनबाट प्रश्न सोद्यो ।

त्यसैगरी समूह (ख) बाट शिक्षण सहजीकरण प्रक्रियाबाट २५ अङ्कको प्रश्न सोद्यो । नेपाली भाषा शिक्षणको अवधारणा, अध्यापन योजना, पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामग्री, शिक्षण विधि र शैक्षिक सामग्रीको प्रयोग, सीप विधा र व्याकरण शिक्षण र भाषिक मूल्याङ्कनबाट प्रश्न सोद्यो ।

शिक्षक सेवा आयोगले तय गरेको नेपाली विषयको पाठ्यक्रमको उद्देश्य

यस पाठ्यक्रमले विद्यालय शिक्षाको माध्यमिक तहमा नेपाली विषय अध्यापन गर्न चाहनेहरूमा निम्नअनुसारका दक्षता सुनिश्चित हुने अपेक्षा गरेको छः

१. विधाको परिचय, तत्त्व र विकासक्रम बोध गरी नेपाली भाषा शिक्षणमा विधाको उपयोग गर्न,

२. नेपाली भाषाका आधारभूत पक्षको जानकारी हासिल गर्न,

३. साहित्यको आधारभूत अवधारणा बोध गर्न,

४. व्याकरणका आधारभूत पक्षको जानकारी हासिल गर्न,

५. नेपाली भाषा शिक्षणमा बोध, अभिव्यक्ति र व्यावहारिक तथा सिर्जनात्मक लेखन शिल्प प्रयोग गर्न,

६. नेपाली भाषा शिक्षणको अवधारणा बोध गरी अध्यापन योजना तयार गरी सोका आधारमा प्रभावकारी शिक्षण सहजीकरण र मूल्याङ्कन गर्न,

७. उपयुक्त विधि र सामग्रीको प्रयोग गरी भाषिक सिप, विधा तथा व्याकरण शिक्षण गर्न ।

त्यसैगरी दोस्रो पत्रमा ३५ पूर्णाङ्कको प्रश्न सोद्यो । नेपालको विद्यालय शिक्षा सेवाको माध्यमिक तहमा विषयगत रूपमा अध्यापन गराउनका लागि पेसागत रूपमा दक्ष, प्रतिभाशाली तथा क्षमतावान व्यक्तिहरूको पहिचान गर्ने उद्देश्यले दोस्रो पत्रको प्रश्न निर्माण गर्‍यो ।

यसमा नेपालको विद्यालय शिक्षासम्बन्धी जानकारी, बालबालिका र सिकारू सम्बन्धी ज्ञान, बालबालिकाको सिकाइ तथा सिकाइ सिद्धान्त सम्बन्धी जानकारी, सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, सञ्चार तथा सहकार्य, निरन्तर सिकाइ, मापन र मूल्याङ्कन तथा पेसागत विकास र कानुनी आधार तथा पेसागत आचारसंहिताबाट प्रतिप्रश्न १ नम्बरका दरले ३५ ओटा प्रश्न सोद्यो ।

आयोगको लिखित परीक्षामा जम्मा १६ हजार ४७ जना परीक्षार्थी सहभागी भए । सय पूर्णाङ्कको सो परीक्षाको उत्तीर्णाङ्क ५० निर्धारण गर्‍यो तर सो परीक्षामा जम्मा  २ हजार ७३८ जना परीक्षार्थीले मात्र न्यूनतम् ५० अङ्क ल्याउन सफल भए । आयोगका अनुसार लाइसेन्सको नेपाली विषयको सो परीक्षामा जम्मा १७.०६  प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन सफल भए । 

लाइसेन्स परीक्षामा सोधिएको अधिकांश प्रश्नहरू शिक्षाशास्त्र पढेका विद्यार्थीका लागि नयाँ भने होइनन् । परीक्षार्थीले कक्षा ११ देखि स्नातकोत्तरसम्म तिनै विषयमा पढ्दै आएका छन्। यो नतिजालाई हेर्दा नेपालको उच्च शिक्षामा नेपाली विषयका विद्यार्थीको अवस्था कहाली लाग्दो देखिएको छ । अधिकांश पुरानै विषयबाट पुनः परीक्षा लिँदा विद्यार्थीको उपलब्धी लाजमर्दो देखिएको शिक्षाविद्हरू बताउँछन् ।

नेपालको विद्यालय देखि विश्वविद्यालयमा गरिने मूल्याङ्कन प्रणाली तथा शिक्षण शैलीमा प्रश्न चिन्न उठेको त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदार भक्त माथेमाले बताए । ‘विद्यालयको मूल्याङ्कन प्रणाली प्रभावकारी छैन । लब्धाङ्क पत्रमा ए प्लस ल्याएका विद्यार्थीको सैद्धान्तिक पक्ष अत्यन्तै कमजोर छ ।’ उनले भने, ‘विद्यालय तथा विश्वविद्यालयको शिक्षा प्रणाली नै लाजमर्दो देखियो ।’

नेपालका विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति शैक्षिक बजारमा बिक्न सक्दैनन् । नेपालको विश्वविद्यालयको शिक्षण प्रणाली तथा मूल्याङ्कन प्रक्रियामा भएको त्रुटीका कारण आयोगको नतिजा खस्किएको पूर्व शिक्षा सचिव महाश्रम शर्माले बताए । ‘यो नतिजाले नेपालको विश्वविद्यालयको शिक्षा प्रणालीमा नै प्रश्न चिन्न उठेको छ ।’ पूर्व सचिव शर्माले भने, ‘विद्यालयका कक्षाकोठादेखि विश्वविद्यालय र शिक्षा मन्त्रालय मिलेर यसको सुधार गर्नुपर्छ ।’

एकातीर सरकारले अबको एक दशक विद्यालय सबलीकरणको दशक भनेर घोषणा गरेको छ । तर विगतका शिक्षा प्रणालीमा देखिएका उदासीनताका कारण यसको कार्यान्वयनमा सरकारलाई चुनौती देखिएको छ ।

नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books