A Levels MA

दुर्गममा सहज छैन अनलाइन कक्षा

नयाँ शैक्षिक सत्र सुरु भएको एक् महिना बितिसकेको छ । विद्यालयले विभिन्न प्रक्रियाका आधारमा विद्यार्थीको स्तरोन्नति गरिसकेको छन् । कोरोनाको दोस्रो लहरका कारण विद्यालयले अहिलेसम्म भौतिक रुपका कक्षा सञ्चालन गर्न सकेका छैनन् । विद्यालय गएर निश्चित समयमा पूर्वनिर्धारित ज्ञान आर्जन गर्नुपर्ने बालबालिका अहिले पहुँचका आधारमा पढाइलाई निरन्तरता दिइरकेका छन् । केहीले रेडियो, टिभीलाई त केहीले अनलाइनलाई माध्यम बनाएर सिकाइ गरिरहेका छन् । तर अधिकांश बालबालिकाको सरकारले सञ्चालनमा ल्याएको वैकल्पिक सिकाइमा पहुँच पुग्न सकेको छैन । दुर्गमका विद्यालयमा इन्टरनेटको पहुँच पुगेको भएपनि बालबालिकाको द्दरमा इन्टरनेट नहुँदा समस्या देखिएको स्थानीय शिक्षा शाखाहरुको दाबी छ । 

सुगम ठाउँका विद्यालयले सञ्चालनमा ल्याएको अनलाइन कक्षा पनि प्रभावकारी हुन सकेको छैन । विद्यालय, शिक्षक तथा अभिभावक सबैका लागि यो कक्षा झण्झटिलो देखिएको छ ।

सामान्य कामकाज गरी दैनिकी गुजार गर्दै आएका सर्वसाधारणका लागि विद्यालयले सञ्चालन गर्न थालेको अनलाइन कक्षामा आफ्ना बालबच्चा सहभागी गराउनका लागि इन्टरनेट जडान गर्नुपर्ने, राम्रो मोबाइल खरिद गर्नुपर्ने बाध्यता बनेको छ ।

सहजरुपमा अनलाइन कक्षा सञ्चालन हुन नसकेका स्थानमा अभिभावक बालबच्चा घरमै बस्दा बिग्रने हुन् कि भन्ने चिन्तामा रहेका छन् । यस्तो अवस्थामा कास्की जिल्लाका कतिपय सामुदायिक विद्यालयले अनलाइन कक्षाको विकल्पमा घुम्ती कक्षा सञ्चालनको सोच बनाए पनि त्योसमेत प्रभावकारी बन्न सकेको छैन ।

राससका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका– ६ लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयले विद्यार्थी तथा अभिभावकको चिन्तालाई दृष्टिगत गर्दै घुम्ती कक्षा सञ्चालन गर्ने सोच बनाएकोमा वडाकै ढावा भन्ने स्थानमा हालै छ जनामा कोभिड पुष्टि भएपछि केही दिनका लागि उक्त कक्षास्थगित गरेको छ ।

विद्यालयका शिक्षक सन्तोष सुवेदीका अनुसार ढावामा छ जनालाई कोभिड–१९ पुष्टि भएपछि वडाले १० दिनसम्म्का लागि सम्पूर्ण गतिविधिमा रोक लगाएको छ । “गाउँगाउँमा इन्टरनेटको समस्याका कारण अनलाइन कक्षा पनि सम्भव हुने देखिँदैन”, उनले भने, “वैकल्पिक कक्षा सञ्चालनका लागि पनि कोरोनाको महामारी अझै कायमै रहँदा समस्या आउने गरेको छ ।”

जिल्लामा सबै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा पुर्याउने गरी काम भइरहेको बताउने जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका प्रमुख नारायण सुवेदीले विद्यालयमा इन्टरनेट भएर पनि घरघरमा सर्वसाधारणको पहुँचमा इन्टरनेट नहुँदा समस्या पर्ने गरेको बताए ।

जिल्लामा लगभग ४०० को सङ्ख्यामा सामुदायिक विद्यालय छन् भने २२८ संस्थागत विद्यालय छन् । शहरी क्षेत्रमा अनलाइन कक्षा केही मात्रामा सहज भए पनि गाउँमा भने अझै समस्या रहेको छ ।

नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी विद्यालयमा भर्ना भई विद्यालय तथा शिक्षकको सम्पर्कमा पुगिसके पनि भौतिकरुपमा उपस्थित भई अध्ययनअध्यापन गर्न भने अझै सहज भई÷नसकेको पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए ।

शहरी क्षेत्रका कतिपय विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावक बन्दाबन्दीसँगै काम बन्द भएपछि घर गएको र त्यसपछि फर्किनसकेका कारण अझै विद्यालयसँग सम्पर्कमा पुगिनसकेको उनले बताए ।

प्रमुख आचार्यका अनुसार महानगरपालिकाभित्र हाल २०७ सामुदायिक विद्यालय छन् भने १७४ संस्थागत विद्यालय छन् । महानगरभित्रका अधिकांश विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिसकेको र पाठ्यपुस्तक पनि विद्यार्थीको हातहातमा पुगिसकेको उनले जानकारी दिए ।

कोरोना महामारीका कारण अघिल्लो वर्षदेखि अनलाइन कक्षा सञ्चालनको प्रयासमा विद्यालय जुटेपनि प्रविधिको प्रयोगमा विद्यार्थी तथा अभिभावक अझै अभ्यस्त भई नसकेका कारण समस्या पर्ने गरेको गुरुकूल विद्याश्रम, पावर हाउसका प्राचार्य मिलन केसीले बताए । “कतिपय अभिभावकले मोबाइल प्रविधिबारे बुझ्न नसक्दा आफ्ना बालबच्चा के कसरी पढिरहेको छन् भन्ने सम्बन्धमा जानकारी लिन सक्नुभएको छैन”, उनले भने, “एउटै घरमा दुई वा दुईभन्दा बढी बालबच्चाले अनलाइन पढ्नुपर्दा डिभाइसको पनि समस्या पर्ने गरेको छ ।”

अनलाइन कक्षा सञ्चालन भइरहेका अवस्थासँगै बन्दाबन्दी केही खुकुलो बन्दै जान थालेपछि कतिपय विद्यार्थीका अभिभावक काममा जान थालेका कारण विद्यार्थीले पढाइमा ध्यान नदिइ मोबाइल तथा डिभाइसको दुरुपयोग गर्छन् कि भन्ने चिन्ता पनि थपिएको छ । विद्यार्थीलाई भौतिकरुपमा विद्यालयमा उपस्थित गराउन नसके पनि अनलाइन प्रविधिको प्रयोगबाट कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेतर्फ आफूहरू सचेत भएको प्राचार्य केसीको भनाइ छ ।

Thuprai - Books and E-books