एक रात एसईईको परीक्षार्थी हुँदा

I Tech store

बुबा पल्लो कोठाबाट पढ्दा पनि पढ्दैन खालि मोबाइलमा गेम खेल्छ बस्छ भन्दै ककर्श स्वरमा मलाइ कराउँदै हुनुहुन्छ । उहाँले नकराउनु पनि कसरी ? यत्रो वर्ष मलेशिया बसेर कमाएको पैसा मलाइ राम्रो स्कुलमा पढाएर ठुलो मान्छे बनाउने सपना देख्दैमा सक्नु भयो । बचेको सुको छैन रे ! बहिनीलाई पनि पढाउनै पर्यो । उहाँको चिन्ता आफ्नै ठाउँमा छ ।

तर म ! मेरो पीडा कसले बुझोस् ! मैले पनि कक्षा १० मा प्रवेश गरेदेखि नै खुब मेहनत गरेको थिएँ । मलाइ गणित भन्ने विषय असाध्यै झ्याउ लाग्छ त्यसैले जानीजानी ऐच्छिक गणितमा पहिलो त्रैमासिक परीक्षामा २ नम्बर ल्याएँ, किनकि मलाई ऐच्छिक विषय परिवर्तन गर्नु थियो । घरमा र स्कुलमा कसैले विषय परिवर्तन गर्नै नमान्ने । अत्यन्तै कमजोर भएपछि सर र बुबाआमा दुवै विषय परिवर्तन गर्न सहमत हुनु भयो । यस पछिका हर परीक्षामा मैले औसत जीपीए ३.६५ भन्दा माथि नै ल्याए ।

परीक्षाका अन्तिम तयारीका दिन होस्टलमा साथीहरू सुतेपछि म उठेर पढ्थे । नआएको पाठ दोर्होयाइ तेहेर्याइ पढ्थे । ४ जीपीए ल्याउने लक्ष्यका साथ मेहनत गरेको थिए । तर बिडम्बना ! कोरोना भाइरस (कोभिड¬–१९) का कारण परीक्षाको अघिल्लो दिन मेरो माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भयो । मैले परीक्षा दिन पाइँन ।

अब कहिले हुन्छ ? थाहा छैन । कोही भन्छन् जेठको अन्तिमतिर हुन्छ रे ! कोही आन्तरिक मूल्याङ्कनलाई नै आधार मानेर नम्बर दिँदा हुन्छ भन्छन् रे ! तर कोही सोद्दैनन् परीक्षार्थी के चाहन्छन् ? खोज्दैनन् पनि । उनीहरूलाई अर्को शैक्षिक सत्र सञ्चालन गर्नु छ । नयाँ भर्ना पनि गर्नु छ । अनि अरु पनि के के ...........!

हिजोआज आमाको अनुहार मलिन देख्छु । बुबाले कराउँदा आमा टीठ लाग्दो अनुहार पारेर मलाई हेर्नुहुन्छ । म आमाको आँखामा मेरो भविष्य प्रतिको प्रगाढ चिन्ता देख्छु । कहिले काही एक्लै हुँदा आमालाई भन्न मन लाग्छ ‘आमा यो त मेरो, तपाईँको मात्र समस्या होइन नि ! विश्वको हो । म जस्ता करिब ४ लाख ८२ हजार छोराछोरीले एसईई दिन पाएका छैनन् । कारण तपाईँलाई पनि थाहा छ । कोरोना भाइरसले अहिले विकसित, अविकसित, धनी¬–गरिब सबै देशका मनिसलाई थला परिसकेको छ । ३६ लाख ६० हजार भन्दा बढी मानिसमा यसले आफ्नो संक्रमण फैल्याइ सकेको छ भने २ लाख ५२ हजार भन्दा धेरै मानिस मरिसकेका छन् । नेपालमा पनि यसको संक्रमण फैलिइ सकेको छ । त्यसैले अहिलेको समय भनेको सुरक्षित भएर घर भित्रै बस्नु मात्र हो । चिन्ता नलिनुस् भोलि स्थिति सामान्य भएपछि परीक्षा पनि होला । म माथिल्लो कक्षामा पनि प्रवेश गरुँला । तपाईँका र मेरा सबै सपना पुरा गरुँला । तर भन्न सक्दिन । किनकि आजभोलि उहाँ मेरो विषयलाई लिएर धेरै चिन्ता गर्नुहुन्छ ।

बुबा बुझेर पनि कराउनु हुन्छ । पढ भन्नु हुन्छ । कुरा त सही हो । पढ्नु त पर्छ । नतिजा खस्केला भनेर मलाई पनि चिन्ता नलागेको त कहाँ हो र ? लाग्छ नि । रातभरि खटपटि हुन्छ । सपनामा पनि पाइथागोरस ए क्यु प्लस बि क्युको फर्मुला र न्यूटनको चाल बारेमा घोेकेको मात्र देख्छु । जीवनमा मैले घोकेका यी फर्मुला काम लाग्छन् कि लाग्दैनन् । त्यो त मलाई थाहा छैन तर बुबालाई भन्न मन छ ‘तपाईँले मलेशियामा गएर गरेको खेती मेरै पाखाबारीमा गर्न मन छ । मैले उत्पादन गरेका कृषि उपजले सहज बजार पाउँछन् कि पाउँदैनन ? राज्यलाई सोध्न मन छ । मैले आधुनिक तरिकाले खेती गरेँ भने लाग्ने लगानी राज्यले दिन्छ कि दिँदैन । या म जस्ता भोलिका कर्णधारको चिन्ता नै नगरी आसेपासे र कमसिनको खेती मात्र गर्छ ? सोद्न मन छ । खोज्न मन छ ।

मलाई अब डाक्टर, इन्जिनियर पढ्ने शिक्षा भन्दा पनि मेरो परिवेश र आवश्यकता अनुसारको शिक्षा लिन मन छ । तर पढ्ने कहाँ ? कसले पढाउँछ उफ ! समस्यै समस्या । सुत्न खोज्छु निन्द्रा लाग्दैन । पढ्न खोज्यो त्यो पनि मन लाग्दैन । परीक्षा कहिले हुन्छ ? कसरी हुन्छ ? यसको सही जवाफ कसले दिन्छ ? यसरी नै रात बित्छ ।

Thuprai - Books and E-books