After SEE Portal

मदन भण्डारी विश्वविद्यालय शैक्षिक कार्यक्रम सञ्चालनको पूर्व सन्ध्यामा

Bridge Course

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोल्ने तयारीमा जुटेको छ ।

कानुन जारी भएको एक वर्षपछि पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने उद्देश्यका साथ भर्ना आव्हानको तयारीमा विश्वविद्यालय जुटेको हो ।

विद्यार्थीलाई मासिक छात्रवृत्ति

पहिलो शैक्षिकसत्रमा स्नातकोत्तर र विद्यावारिधिमा बढीमा ३२ मेधावी विद्यार्थीलाई छनोट गरी भर्ना लिने तयारी गरेको विश्वविद्यालयका अध्यक्ष प्रा डा राजेन्द्रध्व जोशीले बताए । विश्वविद्यालयले दुवै तहमा ट्युसन शुल्क फ्रि गर्ने र स्नातकोत्तर तहका ४ जना विद्यार्थीलाई रु.२५ र विद्यावारिधि तहमा अध्ययन गर्ने ४ जना विद्यार्थीलाई मासिक रु. ३० हजार छात्रवृत्ति प्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष जोशीले बताए ।

तीन ओटा कार्यक्रममा भर्ना लिइने

विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधिमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इन्जिनियरिङ, अर्गानिक एग्रिकल्चर, स्नातकोत्तरमा टुरिजम इन्फ्रास्ट्रक्चरमा कक्षा सञ्चालन गर्नेगरी भर्नाको आव्हान गर्ने भएको छ । भर्नाका लागि भोलि सार्वजनिक सूचना जारी गर्ने भएको छ ।

विश्वविद्यालयको हालसम्मको प्रगति र शैक्षिक कार्यक्रमको थालनीबारे आज सञ्चारकर्मीलाई स्थलगत जानकारी दिँदै अध्यक्ष प्राडा जोशीले समृद्ध र न्यायिक नेपालमा योगदान दिन प्याटेन्ट राइट्स सिर्जना र उत्पादन बढाउन सहयोग पुग्ने गरी विश्वस्तरका प्राध्यापक र विद्यार्थीलाई आकर्षित गर्न अभियान सुरु गरिएको बताए ।

चारओटा भवन निर्माण

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित ७४० रोपनी जग्गा पहिचान गरी २०७६ वैशाख १० गते विश्वविद्यालय निर्माणका लागि पूर्वाधार विकास समिति गठन भएको थियो । विश्वविद्यालयले हाल सुविधासम्पन्न प्रयोगशालासहित चारओटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ । हाल १८० रोपनी जग्गा विश्वविद्यालयले भोगाधिकारका लागि प्राप्त गरेको अध्यक्ष प्राडा जोशीले बताए ।

विश्वविद्यालयमा बोर्ड अफ ट्रष्टी हुने

यसको बोर्ड अफ ट्रष्टी (संरक्षक समिति)का अध्यक्ष उद्योगपति पदम ज्योति छन् भने ट्रष्टीमा स्वदेश र विदेशका ख्यातिप्राप्त प्राध्यापक र सूचना प्रविधि विज्ञका साथै अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव पदेन सदस्य रहने व्यवस्था छ । विश्वविद्यालयमा कुलपति र उपकुलपति नरहने भएकाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप शून्य हुने भनिएको छ ।

विश्वविद्यालमा मुठिदान अभियान

विश्वविद्यालयले सर्वसुलभ रुपमा विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले अध्यक्षकोष स्थापनाका लागि अभियान सुरु गरेको छ । हरेक व्यक्तिलाई स्वेच्छिक आर्थिक सहयोगका लागि अपिल समेत गरेको छ । विश्वविद्यालयले नेपालभित्रबाट मुठिदानबाट करिब एक अर्ब संकलनगरी अध्यक्षकोष स्थापना गर्ने सोच विश्वविद्यालयको छ ।

सरकारले विश्वविद्यालयलाई रु एक अर्ब ४० करोड बजेट प्रदान गर्ने प्रतिबद्धता गरेको छ । विश्व्विद्यालयले हालसम्म रु ९५ करोड प्राप्त गरिसकेको छ ।

त्यसैगरी व्यक्तिगत र संस्थागत गरी रु ३० लाख ७७ हजार सहयोग प्राप्त गरिसकेको छ । कुनै दाताले स्नातकोत्तर तहका विद्यार्थीलाई आफ्नो नामबाट वार्षिक पूर्ण छात्रवृत्ति दिन चाहेमा रु छ लाख र विद्यावारिधि तहमा रु १० लाख सहयोग गरेमा एक एक जनालाई आफ्नै नाममा छात्रवृत्ति प्रदान गर्न सक्ने अध्यक्ष प्राडा जोशीले बताए ।

सो विश्वविद्यालयको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले गत साउन २२ गते ललितपुरस्थित प्राविधिक कार्यालयबाट उद्घाटन गरेका थिए । सङ्घीय संसदबाट विधेयक पारित र राष्ट्रपतिबाट जारी भई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ लाई गत साउन १८ गते नेपाल राजपत्रबाट प्रकाशन गरिसकिएको छ ।

सरकारले विश्वविद्यालयका लागि नेपाल सरकारबाट काभ्रेपलाञ्चोकको पाँचखाल र नमोबुद्धमा एघार सय रोपनी जग्गा प्रदान गर्ने निर्णय गराएको छ ।

शिक्षक कर्मचारी स्थायी नहुने

अध्यक्ष जोशीले कुनै पनि प्राध्यापक र कर्मचारी स्थायी नभई करारमा राख्ने र कामका आधारमा सुविधा दिने बताए । विश्वविद्यालय दलीय हस्तक्षेप र सङ्गठनको गुञ्जायस नहुने दाबी गरे । ‘विश्वविद्यालय प्रवेश गर्दा नै अनुसन्धान गर्न सोचका साथ विद्यार्थी आउछन् ।’ उनले भने, ‘यहाँबाट डिग्री लिएका व्यक्ति व्यवसायिक, अनुसन्धानकर्ता हुनेछन्, शिक्षक पनि विद्यावारिधिप्राप्त र अनुसन्धानमा सक्षम व्यक्तिलाई मात्रै राखिन्छ ।’

अर्थतन्त्रमा सुधार ल्याउने

सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य रहेको विश्वविद्यालयले जानकारी दियो । विश्वविद्यालयले स्थानीय परिवेशअनुरूप ज्ञान र प्रविधिको सिर्जना र अनुकूलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पनासहित विश्वविद्यालय सञ्चालनमा आएको छ ।

उत्पादनमूलक उद्योगका लागि अनुसन्धानमा सहकार्य

विश्वविद्यालयले विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरूपमा अध्ययन अनुसन्धानका लागि लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौता गरिसकेको छ ।

काष्ठ उद्योगसँग अनुसन्धान सम्झौताका लागि छलफल अघि बढाएको छ ।

विश्वविद्यालयले हाइकिङ र टे«किङ, च्याउको बीउ उत्पादन, पानीको सरसफाइ र वनमा उत्पादन हुने फोहरको प्रयोग, ललितपुर महानगरलाई पर्यटनमैत्री बनाउने आदि विषयमा अनुसन्धान सुरु गरिसकेको छ ।

अध्यक्ष प्राडा जोशीले उत्पादनमूलक उद्योगका लागि आवश्यक पर्ने अनुसन्धानका लागि समझदारी गर्ने नीति लिएको छ । ती उद्योगबाट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मासिक छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

पाँच सय किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन

विश्वविद्यालयले आफ्नै हातामा पाँच सय किलोवाट क्षमताको सौर्य ऊर्जाबाट प्रतिघण्टा चार सय किलोवाट बिजुली उत्पादन गरेको छ ।

उक्त सौर्य ऊर्जाबाट विश्वविद्यालयले मासिक रु दुई लाखको आम्दानी गर्न थालिसकेको छ । भने, सोलार प्लान्टको जमिनमा अदुवा खेती गर्न लक्ष्य लिएको विश्वविद्यालयले जानकारी दियो । विश्वविद्यालयले आफ्नै हातामा २२३ ओटा किवीका विरुवा रोपेको छ । यसका अलवा विश्वविद्यालय कृषि तथा पशु फार्म सञ्चालन गर्ने सोचमा रहेको छ ।

विश्वविद्यालयका हरेक भवनमा बायोग्यास, पानी भण्डारण, मौसम पूर्वानुमान उपकरण जडान गरेको छ ।

A Levels MA